रोल्पाली भन्छन्- संकटकालको झल्को आयो

रोल्पाली भन्छन्- संकटकालको झल्को आयो

लिबाङ (रोल्पा): उम्मेदवारलक्षित शृंखलाबद्ध विस्फोटले रोल्पामा सुरक्षा अधिकारीको व्यस्तता बढाएको छ । बम प्रहारको घटनामा वृद्धि अनि सुरक्षा जाँचमा कडाइसँगै स्थानीयले संकटकालकै झल्को आउन थालेको बताएका छन् ।

सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा अवरोध गर्न सक्ने पूर्वानुमान गरेका थिए । तर, उम्मेदवारलक्षित आक्रमण होला भन्ने प्रहरीको आकलन थिएन ।

सम्भावित अवरोधको आकलन गरी कात्तिक २२ गते नै प्रहरीले नेकपाका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति' र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास'लाई पक्राउ गरेको थियो । त्यही दिन नेकपाका अन्य दुई कार्यकर्ता पनि पक्राउ परे । उनीहरूका साथबाट नलकटुवा पेस्तोल बरामद भएपछि प्रहरी झस्किएको थियो ।

कात्तिक २५ गते वाम गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता वर्षमान पुनसहितको टोलीलाई लक्षित गरी एम्बुस (धराप) विस्फोट भयो । भोलिपल्ट बागमाराको चुनावी सभामा जाँदै गरेका पुनकै टोलीमाथि केउरीखोलामा पेस्तोल प्रहारका साथै ढुंगामुढा भयो । कात्तिक ३० गते सिँचाइ राज्यमन्त्री एवं कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनलाई लक्षित गरी घोडागाउँको भाग्रीबाङमा ग्रिनेड प्रहार भयो । मंसिर १ गते लिबाङको चुनावी सभामा आउँदै गरेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, पुन र निवर्तमान सभामुख ओनसरी घर्तीलाई भदौरे जंगलमा ग्रिनेड प्रहार भयो । एउटा बम जंगलमै पड्कियो, एउटा पड्किएन ।

जिल्लाका सुरक्षा अधिकारीको मुकामदेखि सात किलोमिटरनजिकै ग्रिनेड आक्रमणले थप त्रास पैmलियो । एक सातासम्मको शृंखलाबद्ध विस्फोटसहितका आक्रमणले सुरक्षा चुनौती बढेको देखिएको छ । ‘सबै घटनामा कुनै मानवीय क्षति भने हुन पाएन', रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल भन्छन्, ‘घटनापछि जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारेका छौं ।'

विस्फोटका घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । सुरक्षा निकायले भने नेकपाकै संलग्नता रहेको आकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि रोल्पामा पनि धमाधम नेकपाका नेता तथा कार्यकर्ता पक्राउ परिरहेका छन् । ११ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

शृंखलाबद्ध आक्रमणका घटनापछि यहाँ सुरक्षाकर्मीसमेत थप भएका छन् । २२ जना प्रहरी निरीक्षिकसहित २६८ प्रहरी थपिएका हुन् । गाउँ-गाउँ गस्ती जारी छ । नौ गाउँपालिकामा २÷२ प्रहरी निरीक्षकको टोली सुरक्षा गस्तीमा खटिएका छन् । रोल्पा नगरपालिकामा तीन प्रहरी निरीक्षक परिचालित छन् । एउटा टोली जगेडामा बसेको छ । सेनाको खड्ग दल गणले पनि गस्ती गरिरहेको छ । प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार उम्मेदवारको सुरक्षामा पनि प्रहरीको ठूलो संख्या परिचालित छ ।

जिल्ला भित्रिने र बाहिरिने सवारी साधनमा कडा सुरक्षा जाँच हुन थालेको छ । संकटकालको झल्को दिने गरी यात्रुलाई लाइन लगाएर जाँच गरिँदै छ । सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्थित सिउरीका हर्क घर्ती मगरले काठमाडौंबाट जिल्ला फर्किंदै गर्दा प्युठानको दरभान र रोल्पा प्रवेश गर्ने खुंग्री इलाका प्रहरी चौकीमा संकटकालको झल्को दिने गरी सुरक्षा जाँचको महसुस गरेको बताए ।

‘बसबाट ओराली लाइन लगाएर चेकजाँच गरिँदो रैछ । यसले संकटकालको याद दिलायो', उनले भने, ‘सुरक्षाकर्मीले झोलासमेत जाँच्छन् । नाम, थर, ठेगाना पनि भन्नुपर्ने रहेछ । कहाँ जाने, के काम गर्ने भनेर सबै सोधपुछ हुन्छ ।'

दुईखोली गाउँपालिका-४, कुरेलीकी सन्जिता रोकाले बम विस्फोटको घटनाले त्रसित बनाएको बताइन् । त्रासकै कारण मतदान गर्न जाने कि नजाने भन्ने दोधारमा छिन् उनी । ‘संकटकालजस्तै जताततै बम पड्किरहेका छन्', उनले भनिन्, ‘मतदान गर्न जाने कि नजाने भनेर दोधारमा छु ।'

सुवर्णावती गाउँपालिका-४, घोडागाउँका झग्गु पोखरेलले मतदानस्थलमै बम पड्किने हो कि भन्ने त्रासमा रहेको बताए । सिँचाइ राज्यमन्त्री एवं कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी घोडागाउँ भाग्रीबाङमा ग्रिनेड प्रहार भएपछि मतदातामा त्रास बढेको उनको भनाइ छ । ‘स्थानीय तह निर्वाचनमा कुनै डर भएन', उनले भने, ‘विगतको जस्तै युद्ध हुने हो कि भन्ने भय जन्मिएको छ । साथीसंगीबीच पनि त्रासकै कुरा हुने गरेको छ ।'

सुरक्षा संवेदनशीलतालाई ध्यान दिई चुनावी सुरक्षा रणनीति बनाएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । ‘विस्फोटका घटना भए पनि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । मतदाता ढुक्कसँग मतदान गर्न आउँछन् ।'

बम बनाउने सकेट बरामदप्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ । एक घरमा लुकाएर राखेको अवस्थामा बरामद सकेटसहित आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेड, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मंसिर ३ गते दिउँसो सुवर्णावती गाउँपालिका-६ क्वाली गाउँबाट पक्राउ परेका सुनछहरी गाउँपालिका-६ का हिमलाल पुन, सुवर्णावती-५ का मीनराम विष्ट र खड्कबहादुर केसी, रोल्पा नगरपालिका-१०, धबाङका वीरबहादुर केसी र धनबहादुर थापा ‘विश्लेषण'को साथबाट सात थान ग्रिनेड फेला परेको प्रहरीले जनाएको छ । विश्लेषणको घरबाट बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला बरामद गरिएको प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

थबाङ कसको वर्चस्व ?
सशस्त्र द्वन्द्वको उद्गमथलो रोल्पामा पहिलो संविधानसभा निर्वाचनका बेला विरोधी शक्ति थिएन । कुनै पनि राजनीतिक दलले बुथ कब्जा गर्ने तहको जोखिम मात्र थियो । दोस्रो संविधानसभा निर्वाचनसम्म पुग्दा थबाङमा शून्य मतदान भयो । माओवादीबाट मोहन वैद्य विभाजन भएपछि थबाङ ‘वैद्यमय' बन्यो । वैद्यको प्रभावपछि थबाङ सुरक्षा दृष्टिले उच्च संवेदनशील देखिएको थियो । सेना र प्रहरी पुगे पनि थबाङमा मत खसेन ।

निर्वाचनविरोधी शक्तिले थबाङलाई चुनाव प्रचार निषेधित क्षेत्र नै घोषणा गरेका थिए । माओवादी केन्द्रबाट उम्मेदवार रहेकी नेत्री ओनसरी घर्ती चुनाव प्रचारमा थबाङ पुग्दा उल्टै दमाहा बजाएर लखेटेका थिए । ठाउँ-ठाउँमा बम विस्फोट भएको थियो ।

वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव' विभाजनपछि थबाङमा वैद्यको प्रभाव न्यून देखिएको छ । विप्लव र माओवादी केन्द्रतिर ढल्किए स्थानीय । थबाङ अहिले माओवादी केन्द्र र नेकपाको प्रतिष्ठाको केन्द्र बन्दै छ । कसले वर्चस्व कायम गर्ने होड देखिएको छ । स्थानीय तह निर्वाचनसम्म आउँदा थबाङमा विप्लवका नेता÷कार्यकर्ता स्वतन्त्रबाट कांग्रेससँग तालमेल गरेर उठेका थिए । त्यसले गर्दा सुरक्षा चुनौती कम देखिएको थियो । स्थानीय तह निर्वाचनपछि विप्लव थबाङ पुगे । उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनविरुद्ध लाग्न स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए । निर्वाचनको विरोधमा लाग्ने नीतिअनुरूप नै थबाङमा अहिले चुनावमा नजान भित्तेलेखन, माइकिङ र घरदैलो चलेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.