बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा

बाँके २ मा  त्रिपक्षीय प्रतिस्पर्धा

नेपालगन्ज: बाँकेको क्षेत्र नं. २ मा यसपटकको चुनावी रौनक निकै रोचक छ। मुख्य व्यापारिक केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका दुई वडाबाहेक पूरै क्षेत्र र छेउका गाउँपालिकाहरु समेटेको यस क्षेत्रमा अहिले त्रिपक्षीय प्रतिष्पर्धा छ।

एकातिर वाम गठबन्धन र अर्कोतिर कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन, अनि यी दुबैलाई चुनौती दिँदै छ संघीय समाजवादी फोरम नेपालले।
वाम गठबन्धनबाट पशुपतिदयाल मिश्र, लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका ओमप्रकाश आजाद र संघीय समाजवादी फोरम नेपालबाट मोहम्मद इस्तियाक राई चुनावी मैदानमा छन्।

गठबन्धनका उमेदवार मि श्र यसअघि राष्ट्रिय जनता पार्टीमा थिए । पार्टीहरुभित्र उम्मेदवार छनोटको प्रक्रिया चलिरहँदा उनले राजपा परित्याग गरेका थिए। अनि एमालेको समर्थनमा उनी सूर्य चिन्हबाट निर्वाचन लड्न तयार भए र उनलाई माओवादीले पनि साथ दियो । मिश्र तत्कालिन मधेस आन्दोलनका बेला नेपालगन्जमा निकै सक्रिय भएर लागेका थिए । ‘नाकाबन्दी' लाई समर्थन गरेको आरोपमा अहिले पनि नेपालगन्जवासी माझ उनी आलोचित नै छन् । गठबन्धनका आजाद भने लामो बि श्रामपछि फेरि राजनीतिमा सक्रिय भएका हुन् ।

केन्द्रीय सहमति अनुसार नै कांग्रेस-राप्रपाबाट उनी साझा उम्मेदवार बनेका हुन् । पूर्वमन्त्रीसमेत भइसकेका इस्तियाक राई भने एक्लै मैदानमा छन् । २०६४ सालको संविधानसभा निर्वाचन जितेका उनी पूर्व श्रम रोजगार तथा यातायात मन्त्रीसमेत हुन् । ०७० को निर्वाचनमा पराजय भएपछि भने उनी सक्रिय राजनीतिसँगै व्यवसायमा पनि संलग्न छन् ।

सूर्य चिन्हमा निर्वाचन लडेपनि मि श्रले एमाले प्रवेश भने गरेका छैनन् । पार्टीका आधिकारिक ‘मान्छे' ले नभएपछि एमालेभित्रको एक तप्का नेता कार्यकर्ताहरु पनि उनीप्रति सकारात्मक छैनन् । मधेश आन्दोलनका एक सक्रिय अगुवाका हिसावले पनि उनलाई धेरै मतदाताले अहिले त्यही प्रश्न गरिरहेका छन् ‘त्यो बेला नाकाबन्दीलाई किन समर्थन दिएको ? अनि भारततिरको भूमिबाट नेपालतिर किन ढुङ्गा हानेको ? '

लोकतान्त्रिक गठबन्धनको पनि उस्तै हालत छ । कांग्रेसमा टिकट वितरणको असन्तुष्टि छताछुल्ल भएको छ । स्वंय पार्टी सभापति किरण कोइरालाको नाम समेत समानुपातिक सूचीबाट हटेपछि उनी आफैँ पनि असन्तुष्ट छिन् । अनि ‘कांग्रेस एक्लैले जित्ने सम्भावना भएको' क्षेत्रमा समेत यो सिट राप्रपालाई दिइएको भन्दै कांग्रेसको एउटा ठूलो हिस्सा असन्तुष्ट छ । यही क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उत्रिएका विजयकुमार गुप्ताको पनि सांगठनिक आधार बलियो छैन् ।

पछिल्लो समयमा राजपाका धेरै चीरपरिचित अनुहारहरुले पार्टी छोडेर माओवादी र एमाले प्रवेश गरेका छन् । जसले गर्दा राजपाको संगठन कमजोर बन्न पुगेको छ । यी सबै असन्तुष्टि अनि कमजोरीहरुको योगफल जोड्दै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार राई भने चुनावी अभियानमा अरुभन्दा निकै आक्रामक तरिकाले उत्रिएका छन् । सामाजिक सञ्जाल, सञ्चारमाध्यम अनि अरु भन्दा अगाडि नै उनले निर्वाचन क्षेत्र नं. २ भित्र पर्ने अधिकांश ग्रामीण वस्तीहरुमा आफ्नो उपस्थिति देखाइसकेका छन् । अन्य क्षेत्रमा राजपा र फोरमबीच चुनावी तालमेल भएपछि केन्द्रबाटै इस्तियाकको सम्भावना देखेर बाँकेमा भने त्यो तालमेल हुन सकेन । त्यसैले महिनौ दिनअघिदेखि नै इस्यिाक चुनावी अभियानमा होमिइसकेका थिए ।

यो क्षेत्रको निर्णायक मत मुस्लिम समुदायको हो । बाँकेको यो क्षेत्रमा मात्रै ८२ हजार ८ सय १८ मतदाता छन् । तीमध्ये करिब ३० हजार मतदाता मुस्लिम समुदायका छन् । दुवै गठबन्धन अनि अन्य राजनीतिक दलहरुबाट समेत प्रत्यक्ष चुनावका लागि कोही पनि मुस्लिम समुदायका उम्मेदवार छैनन् । सबै पार्टीहरुमा मुस्लिम समुदायलाई निर्वाचनमा टिकट नदिएको भन्दै पार्टीभित्रको यो समुदाय रुस्ट भएको छ । फोरमका उम्मेदवार राईको चुनावी योगफलको एउटा निर्णायक ‘कम्पोनेन्ट' बनेको छ ।

चुनावी मैदानमा मुस्लिम समुदायका एक्ला उम्मेवार देखिएका इस्तियाक भने अहिले पहाडी, मधेसी अनि थारुलगायत अन्य समुदायको ‘मन' जित्ने अभियानमा छन् । राजनीतिमा लागेदेखि नै ‘समुदायगत' कुराको विरोधी देखिएका उनी अहिले पनि भन्छन् ‘जातजाति, धर्म, भाषा र समुदायको नाममा लड्ने मान्छे म हैन, अरुहरुले यसैलाई आधारमा राष्ट्रवादको नारा लगाइरहेका छन् ।' उनले आफूलाई सधैँ सबै समुदायभित्रको वर्गीय विभेद हटाउनका लागि राजनीतिमा आएको बताउँछन् ।

लोकतान्त्रिक गठबन्धनले आफ्नो मुख्य प्रतिष्पर्धा वाम गठबन्धन नै भएको निस्कर्ष निकालेको छ । कांग्रेसले यो मुख्य बजार क्षेत्रमा राप्रपासँगलाई सिट छोड्नुको एउटा कारण भने स्थानीय तहको निर्वाचन परिणाम हो । नेपालगन्ज उपमहानगरमा राप्रपाका महामन्त्री डा. धवल समशेर राणाले फराकिलो मतान्तरले मेयर भएका छन् । तर, एकथरिको विश्लेषण के छ भने, त्यो मत राप्रपालाई नभइ ‘धवल ब्राण्ड' लाई हो ।

लोकतान्त्रिक गठबन्धनका निर्वाचन परिचालन कमिटीका ऋषिराज देवकोटा भन्छन् ‘फोरमले जुन प्रकारको ह्वीम फैलाएको छ त्यो हल्लामात्रै हो, जनताले बुझिसकेका छन् । इस्तियाक, मिश्र र राजपाका बिजयकुमार गुप्ता एउटै पृष्ठभूमिबाट आएका हुन् र, उनीहरुको मत पनि बाँडिन्छ, त्यसैले हाम्रो प्रतिष्पर्धा वाम गठबन्धनसँगै हुन्छ । अनि वाम गठबन्धनले भने आफ्नो प्रतिस्पर्धा कसैसँग पनि नभएको दाबी गरिरहेको छ । वाम गठबन्धन निर्वाचन परिचालन कमिटीका नेता दिनेशचन्द्र यादव भन्छन् ‘अहिलेसम्म हाम्रो प्रतिस्पर्धामा कोही पनि आउन सकेका छैनन, लोकतान्त्रिक गठबन्धन र फोरमबीच प्रतिस्पर्धा होला । हामी चुनाव जित्दैछौँ ।'

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.