चुनावी एजेण्डामा ठूला आयोजना

चुनावी एजेण्डामा ठूला आयोजना

बुटवल: रुपन्देहीका ठूला आयोजनाहरु आसन्न निर्वाचनका उम्मेदवारका चनावी मुद्दा भएका छन् । प्रायः सबै दलका उम्मेदवारले ठूला आयोजना सञ्चालन हुनुमा आफ्नो योगदान रहेको दाबी गरेका छन् ।

लुम्बिनी विकास गुरुयोजना, गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलदेखि साना सडक र पुललाई उम्मेदवारले चुनावी मुद्दा बनाएका छन् । राष्ट्रिय गौरवका आयोजनासहित रुपन्देहीमा करिव ४० अर्ब लागतका ठूला आयोजनाहरु सञ्चालनमा छन् ।

चालु रहेका योजनासहित अन्य ठूला योजनाहरुलाई उम्मेदवारहरुले चुनावी प्रतिवद्धतापत्रमा राखेका छन् । रुपन्देही ३ का बाम गठबन्धनका उम्मेद्वार एमाले उपमहासचिव घनश्याम भुसालले बेलहिया नाकालाई चीन र भारतको व्यापारिक मिलनबिन्दु बनाउने गरी सुनौली–कोरला सडक निर्माणलाई प्रतिवद्धतापत्रमा राखेका छन् । कालिगण्डकी कोरिडोरका रुपमा रहेको यो सडकले भैरहवा क्षेत्रलाई अन्तर्राष्ट्रिय मुख्य व्यापारिक नाकाका रुपमा विकास गर्ने उनले बताए ।

‘अबको सरकारले गर्ने कामहरु ठूला नै हुनेछन । हामी उम्मेदवारले पनि ठूलै सपना देख्नुपर्छ, उनले भने,–‘आर्थिक विकासका लागि दीर्घकालीन महत्वका योजनामा मेरो प्राथमिकता रहेको छ ।’ केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग, भैरहवामा अन्र्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र, विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन, विद्युत आपूर्ति लगायतका मुद्दाहरु उनको प्रतिवद्धतापत्रमा समावेश छन् ।

क्षेत्र नं.३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक बोहराले पनि कोरला–सुनौली सडकलाई चुनावी नारा बनाएका छन् । भैरहवालाई लुम्बिनीसँग जोडेर पर्यटकीय शहर निर्माण गर्ने, भैरहवाका भित्री सडकहरु निर्माणसहितका योजनाहरु उनको प्रतिवद्धतापत्रमा मुख्य बुँदाका रुपमा छन् ।

पूर्वअर्थमन्त्री रहेका रुपन्देही २ का उम्मेदवार बिष्णु पौडेलले त छिमेकी जिल्लासमेत समेट्ने गरी प्रतिवद्धतापत्र बनाएका छन् । आफू अर्थमन्त्री हुँदा रुपन्देहीका महत्वपूर्ण योजना निर्माणमा काम गरेको भन्दै पौडेलले ती योजनाको मूर्तरुप दिन आफ्नो दायित्व भएको बताए ।

भैैरहवामा निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल मण्डमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मोतीपुर औद्योगिक क्षेत्र चुनावी मुद्दा बनेका छन् ।

तिनाउ नदीमा कालीगण्डकी डाइभर्सन गरेर बाह्रै महिना पानी बगाइ कृषि र जल पर्यटनको विकास गर्ने योजनासमेत विष्णु पौडेल र भुसालको प्रतिबद्धतामा समावेश छ । बेथरी–बेलबास नहरसहितका हरित सडक, बेलहिया–बुटवल व्यापारिक मार्ग, लुम्बिनी बुद्ध परिपथ निर्माण आयोजना, पूर्व–पश्चिम रेलमार्ग, तिनाउ कोरिडोरको विकास लगायतका योजनाहरु चुनावी मुद्दा बनेका छन् ।

बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका रुपन्देही २ का प्रदेशसभामा कांग्रेसका उम्मेद्वार महेशमान सिंहले मोतीपुरमा औद्योगिक क्षेत्र निर्माणलाई जोडतोडका साथ उठाएका छन् । प्रादेशिक स्तरको यो औद्योगिक क्षेत्र केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको थियो । सो औद्योगिक क्षेत्रको डीपीआर निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ ।

उम्मेदवारहरुले तिलोत्तमा मेडिकल कलेज निर्माण, लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक स्तरमा स्तरोन्नती, स्वास्थ्य चौकीलाई २५ बेडको अस्पतालको रूपमा स्तरोन्नतीदेखि गरिबि निवारणका कार्यक्रमसमेत ल्याएका छन् । कृषि उत्पादन बढाउनका लागि सिँचाइ र किसानलाई अनुदान सहुलियत दिन कृषि उपज बैंकको स्थापना गर्ने योजनाहरु जनतामाझ आएका छन् ।

उम्मेदवारहरुले ठूला योजनालाई विशेष प्राथमिकता दिए पनि सञ्चालनमा रहेका योजनाको प्रगति निकै कम रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको करिव ३५ प्रतिशत मात्रै काम भएको छ । लुम्बिनीको गुरुयोजनाको काम रोकिएको अवस्थामा छन । छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य निकै ढिलो भएको गुनासो छ । भैरहवामा निर्माण भएको पहिलो विशेष आर्थिक क्षेत्र सेज विद्युत आपूर्ति नभएकाले सञ्चालनमा आउन सकेको छैन।

रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले सञ्चालनमा रहेका आयोजना पूरा गरेर मात्रै अरु योजना शुरु गर्नमा नेताहरुले जोड दिनुपर्ने बताउँछन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.