उम्मेदवारै नचिनी भोट
चरिकोट: दोलखाको दुर्गम क्षेत्र लप्चीका स्थानीयलाई यतिबेलासम्म चुनावी रौनकले छोएको छैन । कुनै पनि उम्मेदवार त्यहाँका स्थानीयमाझ भोट माग्नसमेत गएका छैनन्।
दोलखाको बिगुँ गाउँपालिका १ लप्चीमा यसपटक मात्र नेताहरू भोट माग्न नगएका भने हैनन् । अहिलेसम्म जति निर्वाचन भए ती कुनैमा पनि नेताहरू आफ्नो गाउँमा भोट माग्न नआएका स्थानीय कर्मा शेर्पाले बताए । उनले आफ्नो गाउँ विकट र सडकमार्गबाट पनि धेरै टाढा भएका कारण नेताहरू नआएको बताए । त्यहाँका अधिकांश स्थानीयले उम्मेदवार नै नचिनी भोट हाल्ने गरेको शेर्पाले जानकारी दिए । ‘गाउँमा भोट माग्न आए पो चिन्न पाउनु, भोट माग्नै आउदैन्, कसरी उम्मेदवार चिन्नु’, शेर्पाले भने ।
भूकम्पपछि लप्चीसम्म जाने बाटो झनै बिग्रिएको बताउँदै आफूहरू समस्यामा परेको स्थानीयको भनाइ छ । सरकारी र गैरसरकारी निकायहरूलाई पटक–पटक बाटो बनाइदिन आग्रह गर्दा पनि बेवास्ता गरेका कारण हालसम्म लप्चीमा विद्यालय, स्वास्थ्य चौकी र बिजुली बत्तीसमेत पुग्न नसकेको स्थानीयहरू बताउँछन् । गाउँका केही ठूलाबडाका विश्वासमा आफूहरूले भोट हाल्ने गरेको उनीहरू बताउँछन् ।
विद्यालय नभएपछि त्यहाँका अधिकांश बालबालिका पढाइबाट वञ्चित छन् । केहीले भने राजधानी लगेर आफ्ना छोराछोरी पढाए पनि विपन्न व्यक्तिहरूको पहुँचमा भने त्यो सम्भव छैन । यस्तै स्वास्थ्य चौकीसमेत नभएकाले स्थानीयहरू बिरामी पर्दा झाक्रीको भरमा पर्नुपरेको र धेरै बिरामी भएमा हेलिकप्टरबाट राजधानी लैजानुपर्ने बाध्यता रहेको अर्का स्थानीय लाक्पा शेर्पाले दुखेसो पोखे । केही सीमित हुनेखानेले मात्र राजधानी लैजान सक्ने भएकोले गरिबहरू भने त्यत्तिकै मर्नुपर्ने अवस्था भएको उनी बताउँछन् । वर्षौंम्म भोट हाल्दा पनि आफ्नो गाउँमा विकास नभएको बताउँदै उनीहरूले अबका उम्मेदवारलाई आफ्नो क्षेत्रमा पनि ध्यान दिन अनुरोध गरेका छन्।
तिब्बत नाकानजिकै बसोबास गर्ने लप्चीका स्थानीयहरूको मुख्य पेसा चौरी, भेडा र च्याङग्रापालन हो । करिब ५० घरधुरी रहेको लप्चीमा एक सय ५० मतदाता छन् । उनीहरूका अधिकांश चौरीका गोठ तिब्बती भूमिमा भएका कारण त्यसबापत उनीहरूले तिब्बतको वन विभागलाई प्रतिचौरी वार्षिक डेढ किलो घ्यु बुझाउने गरेको शेर्पा बताउँछन् । गाउँमा राज्यको कुनै उपस्थिति छैन । सीमा सुरक्षाका लागि खटिएको प्रहरी चौकीसमेत लामाबगरमा छ।
गाउँमा केही समस्या आइपरे लप्ची विकास समितिले नै मिलाउने गरेको स्थानीयबासीहरूको भनाइ छ । नेपाल सरकारका वडा सचिवहरू पनि त्यहाँ नपुग्दा जन्म, मृत्यु र विवाहजस्ता व्यक्तिगत घटनादर्ताका काम गर्न पनि उनीहरू सदरमुकाम चरिकोट आउनुपर्ने बाध्यता छ । लामाबगर उपत्यकादेखि सिमानासम्म सडक खोल्न डिभिजन सडक कार्यालयमा बर्सेनि लाखौं बजेट आए पनि समयमै काम हुन नस्कदा उक्त बजेट मन्त्रालय र विभागमै फर्कने गरेको छ।
चीनको तिब्बती सीमामा पर्ने उक्त ठाउँ सदरमुकाम चरिकोटबाट करिब ३४ कोस टाढा रहेको छ। अहिले पनि उनीहरूलाई लामाबगरसम्म आइपुग्न दुई दिन लाग्ने गरेको छ। दैनिक आवश्यकीय सामान किन्न पनि तिब्बत नै जानुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।