श्रीलंकामा बढ्दो जातीय दंगा
कोलम्बो: श्रीलंकाको गालेमा अझै पनि बौद्ध–मुस्लिम साम्प्रदायीक तनाव कायम छ । एकातिर बौद्ध छन् भने अर्कातिर मुसलमान समुदाय । त्यहाँको बिग्रँदो सामाजिक स्थितिको अनुमान प्रहरीले दुईपल्ट कफ्र्यु लगाउनु परेबाट गर्न सकिन्छ ।
शनिबार त्यहाँ भएको बौद्ध र अल्पसंख्यक मुसलमान समुदायबीच भएको साम्प्रदायीक दंगामा ४ जना घाइते भएका थिए । दंगामा संलग्नताको आशंकामा प्रहरीले १९ जना पक्राउ गरेको थियो । प्रहरीले त्यहाँको स्थिति नियन्त्रण लिइसकेको दाबी गरेको छ ।
एक जना मोटरसाइकलमा सवार बौद्धले एक जना मुस्लिम महिलालाई सडकमा ठक्कर दिएपछि त्यहाँ साम्प्रदायीक तनाव उत्पन्न भएको थियो । प्रहरीले अफवाह फैलाएको आरोपमा एक जना महिलालाई पनि पक्राउ गरेको छ । मुसलमानहरूले एउटा बौद्ध मठमा आक्रमणको तयारी गरेको हल्ला फिंजाएको बताइन्छ ।
यस वर्ष बौद्ध–मुस्लिम दुवै समुदायबीच तनाव बढ्दै गएको छ । कट्टरपन्थी केही बौद्ध समूहले मुसलमान समुदायमाथि जबरजस्ती धर्म परिवर्तन गराएको र बौद्ध मठमा क्षति पु¥याएको आरोप लगाएका छन् ।
गएका दुई महिनामा गालेमा मुसलमानहरूको स्वामित्वका कम्पनी र मस्जिदमा २० पल्टभन्दा धेरै आक्रमण भएका छन् । सन् २०१४ मा कट्टरपन्थी बौद्ध समूहरूले ३ जना मुसलमानको हत्या गरेका थिए । हत्यापछि त्यहाँ दंगा चर्किएको थियो ।
सन् २०१३ मा राजधानी कोलम्बोमा बौद्ध गुरुहरूको नेतृŒवको भीडले एक जना मुस्लिमको कपडा पसलमा आक्रमण गरेको थियो । आक्रमणमा कम्तीमा ७ जना घाइते भएका थिए । श्रीलंकाको जनसंख्या करिब २ करोड १० लाख छ । ७० प्रतिशत जनसंख्या बौद्ध छ भने ९ प्रतिशत मुसलमान ।
सन् २००९ मा सेनाले तमिल विद्रोही पराजित गरेपछि श्रीलंकाको मुस्लिम समुदायलाई शासनसत्ताबाट बाहिर राखिएको छ । तर अहिले मुस्लिम समुदायमाथि धर्मको नाममा हिंसक घटना बढेका छन् । मुस्लिमविरुद्ध हुने हिंसाका लागि बौद्ध गुरुहरूलाई जिम्मेवार मानिन्छ ।
दुई देशमा मुस्लिमविरुद्ध बौद्ध हिंसा
बौद्ध धर्मलाई विश्वभर नै शान्ति र अहिंसाको प्रतीकका रुपमा लिइन्छ । अहिंसाप्रतिका मान्यताहरूले बौद्ध धर्मलाई अन्य धर्मबाट पृथक गरेको छ । यस्तोमा बौद्धहरूले मुसलमानविरुद्ध किन हिंसा गरिरहेका छन् प्रश्न उठेको छ । यस्तो स्थिति हिन्द महासागरले छुट्ट्याउने दुई देशमा छ ।
पहिलो देश श्रीलंका हो भने दोस्रो देश म्यानमार ।
अचम्मलाग्दो तथ्य के छ भने यी दुवै देशलाई मुस्लिम उग्रवादीबाट कुनै खतरा छैन र दुवै देशमा मुसलमान समुदाय अल्पंख्यक छ । श्रीलंकामा मुसलमानहरूले मुस्लिम परम्पराअन्तर्गत मासु खानु वा घरपालुवा जनावर काट्नुमाथि बौद्ध समुदायले विवाद उठाउँदै आएको छ ।
त्यहाँका कट्टरपन्थी बौद्धले बेग्लै बोडु बला सेना नै गठन गरेका छन् । यो सेना सिंहाली बौद्धहरूको राष्ट्रवादी संगठन हो । संगठनले मुस्लिम समुदायविरुद्ध प्रदर्शन र मार्च गर्दै आएको छ । संगठनले मुसलमानविरुद्ध हिंसक कारबाही गर्नुपर्ने बताउँदै आएको छ र मुसलमानहरूले सञ्चालन गरेका व्यापार व्यवसाय बहिस्कार गर्न वकालत गर्छ । मुसलमानको बढ्दो जनसंख्याप्रति पनि यसको आपत्ति छ ।
उता म्यानमारमा भने योभन्दा पनि गम्भीर स्थिति छ । त्यहाँका कट्टरपन्थी बौद्धको नेतृŒव असिन विराथुले गरिरहेका छन् । धार्मिक तनाव बढाएको आरोपमा सन् २००३ मा उनलाई जेलमा हालिएको थियो । तर सन् २०१० मा उनलाई रिहा गरियो ।
विराथुसँग के उनी म्यानमारका बिन लादेन हुन् भनेर सोधेको जबाफमा उनले ‘म यसलाई अस्विकार गर्दिनँ' भनेका थिए । सामान्यतया मुसलमानविरुद्ध हिंसाको सुरुवात उनीहरूका दोकान÷पसलबाट हुने गरेको तथ्य मननीय छ ।
श्रीलंका र म्यानमार दुवै देशमा बहुसंख्यक समुदायको आर्थिक असन्तोष र बढ्दै गएको निरासाको सिकार अल्पसंख्यक समुदाय बन्नु परेको देखिन्छ । मुसलमानविरुद्ध हुने हिंसाबारे गरिने सबै तर्क बौद्ध धर्मका सन्देशसँग कहीं कतै पनि मिल्दैनन् । दुवै देशमा बेलायती उपनिवेशविरुद्ध भएका राष्ट्रिय आन्दोलनमा बौद्ध धर्मले विशेष भूमिका निर्वाह गरेको थियो ।
दुवै देशका कतिपय नागरिक बौद्ध धर्म उनीहरूको राष्ट्रिय पहिचानको एउटा महत्वपूर्ण हिस्सा भएको मान्छन् भने दुवै देशमा अल्पसंख्यकको स्थितिबारे प्रश्न उठ्ने गरेको छ ।
सन् १९८३ मा श्रीलंकामा सिंहाली र तमिल समुदायबीच जातिय तनावका कारण गृहयुद्ध सुरु भएको थियो । गृहयुद्धमा पनि तमिल विद्रोहीले मुसलमान समुदायलाई तारो बनाएको थियो । र, अहिले यस्तो लाग्छ, सेनाले तमिल विद्रोहीलाई पराजित गरिसकेपछि बहुसंख्यक समुदायले नयाँ तारो भेट्टाएको छ ।
म्यानमार र श्रीलंकामा बौद्ध कट्टरपन्थी र सत्तारुढ राजनीतिक दलबीचको सम्बन्ध पारदर्शी छैन । श्रीलंकाका पूर्वरक्षामन्त्री जुटापाया राजापाक्षे बौद्ध गुरुहरू ‘राष्ट्र, धर्म र जातिको संरक्षक' हुन् भन्छन् । दुवै देशमा बौद्ध समुदायको एउटा हिस्सा एकीकरणको कुरा त गर्छ तर सँगसँगै उसलाई लाग्छ उनीहरूको धर्म खतरामा छ ।