ढुंगा कुट्ने वृद्धा भन्छिन्, 'भोट के मा हाल्छु, थाहा छैन'

ढुंगा कुट्ने वृद्धा भन्छिन्, 'भोट के मा हाल्छु, थाहा छैन'

सिन्धुलीमाडी: आजभोलि सिन्धुलीमाडी बजार बिहानैदेखि राजनीतिक दलका चुनावी गीतले गुञ्जयमान हुने गरेको छ। बजारको नजिकबाट ग्वाङ खोला बग्छ। दलका विभिन्न कार्यालयमा आवतजावत पनि उत्तिकै बाक्लो छ। पर्चा र पोस्टरले बजारका भित्ता रंगिएको छ। दलका झण्डा, ब्यानर र तुलले उत्सव भइरहेको पो छ कि भन्ने झल्को दिन्छ। वातस्वमा यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को तात्दै गएको चुनावी माहोल हो।

तर माडीबजारको बगरमा ढुंगा कुटेर जीविकोपार्जन गर्दै आएकी मरिण गाउँपालिका निवासी ६६ वर्षीया मनमाया नेपालीलाई चुनावको रौनकले छोएको भने छैन।झण्डै १२ वर्षदेखि ढुंगा कुट्दै आएकी उनले भनिन्, 'चुनाव आएको छ भन्ने सुनेकी छु। तर भोट केमा हाल्छु, थाहा छैन।'

आफूले नियमित वृद्धभत्ता पाएको र त्यो भत्ता अपर्याप्त भएकाले ढुंगा कुट्ने काम गरेको उनले बताए। दिगो र स्थिर सरकार भए गरिबलाई सजिलो हुन्छ भन्ने उनलाई लाग्दोरहेछ।

गाउँमा विकासका काम नभएको र त्यसकारण गाउँले शहरमा भए जस्ता सुविधाबाट वञ्चित हुने गरेको उनी बताए। बिहानै ९ बजेदेखि आफ्नो काममा खटिने उहाँ मासिक रु तीन हजारदेखि पाँच हजारसम्म आम्दानी गरे।

मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिन्धुली जिल्लाभर एक लाख ८१ हजार ५२६ मतदाता रहेका छन्। त्यसमध्ये १३ हजार २७९ नयाँ मतदाता हुन्। नौ स्थानीय तह रहेको सिन्धुलीमा दुई नगरपालिका र सात गाउँपालिका छन्। दुई सय ४० मतदान केन्द्र रहेको जिल्लामा दुई निर्वाचन क्षेत्र र प्रदेशको ४ क्षेत्र रहेका छन्। यहाँ १३७ मतदानस्थल छन्।

जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले मतदाता शिक्षाका लागि पोस्टर, हातेपुस्तिका, मतपत्र दिएर २४० स्वयंसेवक परिचालन गरेको जानकारी दिँदै अनुगमनको काम बाँकी नै रहेको बताए।

पूर्व कृषिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)को प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार हरिबोल गजुरेलले विगतमा निर्वाचित भएपछि अहिलेसम्म रु १० अर्ब बजेट परिचालन भएको जानकारी दिए। सडकको स्तरोन्नति र नदी तथा खोलामा पुल निर्माणलगायतका विकास काम भएको उनले सुनाए।

उहाँका अनुसार अन्य ठूला दुई वटा झोलुंगे पुल, पक्की पुल र मझौला पुल निर्माणको काम भइरहेको छ र त्यसले गाउँ र शहरलाई जोड्ने काम गर्छ। गजुरेलले बिपीको पुख्र्यौली थलो दुम्जालाई ऐतिहासिक पर्यटकीयस्थलका रुपमा विकास गर्न बजेट विनियोजन भएको र झागाझोली-रातामाटाको लक्ष्मीडाँडामा लिफ्टको माध्यमबाट खोनेपानी वितरणका लागि रु ८० लाख छुट्टाइएको पनि बताए।

उनले भने, 'विद्युतीकरणका लागि जलाशययुक्त आयोजनाबाट विद्युत् निकाल्ने काम भएको छ र स्थानीय रतनचुरा, वासेश्वर र तीनकन्यालाई जुनारको सुपरजोनका रुपमा विकास गर्ने योजना अघि बढेको छ।'

प्रदेश (क) मा ४६ हजार २७० र (ख) मा ४५ हजार ८२८ गरी कूल प्रतिनिधिसभा क्षेत्र नं १ मा ९२ हजार ९८ मतदाता रहेका छन्। प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा ५० हजार ३६७ र (ख) मा ३९ हजार ६१ गरी कूल ८९ हजार ४२८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीले जनाएको छ। दुवै निर्वाचन क्षेत्रमा गरेर कूल ८० वडा छन्।

प्रतिनिधिसभा क्षेत्र नं २ का नेकपा (एमाले) का उम्मेदवार गणेश पहाडीले कमलामाई महाभारत शृंखलाको उच्च पहाडी भेगलाई सडक सञ्जालले जोड्ने र त्यसलाई राष्ट्रिय राजमार्गसँग जोड्ने जानकारी दिनुभयो ।

उनका अनुसार विद्युतीकरण, खानेपानी, सडक, यातायातको विषय नै चुनावी मुद्दा भएका छन् । सबै गाउँपालिका र वडामा विद्युतीकरणका लागि राष्ट्रिय प्रशारण लाइन जोडिने उनी बताए।

पहाडीले भने, 'कमला नदीको तटीय क्षेत्रमा भएको भू-क्षय रोक्न तटबन्ध निर्माण गरिने छ र चुरे क्षेत्रको संरक्षणमा ध्यान दिइने छ।'

सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले निर्वाचनका लागि २९ वटा क्षेत्र अतिसंवेदनशील, ७९ क्षेत्र संवेदनशील क्षेत्रका रुपमा निगरानीमा रहेको जानकारी दिए।

नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ३००, म्यादी एक हजार १८१, नेपाली सेना, राष्ट्रिय अनुसन्धानसमेत गरेर दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुने बताइएको छ । निर्वाचनका लागि एक हजार ९१४ कर्मचारी परिचालन हुनेछन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) का उम्मेदवार माणिक ढकालले पिछडिएको क्षेत्रको बाटोघाटो, बिजुलीलगायतका विकासका मुद्दा नै चुनावी एजेण्डा भएको जानकारी दिँदै चतरा–हेटौंडा सडकका कारण विस्थापितलाई व्यवस्थापन गर्ने विषयलाई पनि सम्बोधन गर्न खोजिएको बताए।

धार्मिक पर्यटनका रुपमा कुशेश्वर महादेवको मन्दिर र कमलामाई मन्दिरलाई बृहत् बनाउन गुरुयोजना निर्माण भएको छ । उहाँले भन्नुभयो – “ऐतिहासिक सिन्धुलीगढीलाई पर्यटन केन्द्रका रुपमा विकास गरिने छ ।”

उहाँले भन्नुभयो – “जिल्लाको अधिकांश स्थान पहाडी क्षेत्रमा पर्छ, त्यसैले त्यहाँ पुग्नका लागि बाटोको समस्या छ त्यसको समाधान गरिने छ ।” वाम गठबन्धनबाट नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस, नयाँशक्ति नेपाल, राष्ट्रिय देशभक्त गणतान्त्रिक मोर्चालगायतबाट १८ जनाको उम्मेदवारी परेको सिन्धुलीमा प्रतिनिधिसभामा दुई र प्रदेशसभामा चार गरी छ जना प्रत्यक्षतर्फ निर्वाचित हुने छन् ।

कमलामाई नगरपालिकाको केही भाग, साविकका डाँडीगुराँसे, भद्रकाली, जलकन्या रानीचुरी, रानीबास मिलेर कमलामाई नगरपालिका बनेको छ । साविकको हतपत्ते, नेपाने, सिरथौली, हरसाही, दुधौली नगरपालिकाको ७, ८, ९, १०, जिनाकु, अरुणठाकुर, कपुरठाकुर गाविस मिलेर दुधौली नगरपालिका निर्माण भएको छ ।

साविकको महादेवडाँडा, पोखरीखोलागाउँ, सोल्पाथाना, रत्नावती गाविस मिलाएर फिक्कल गाउँपालिका, दूधभञ्ज्याङ, बित्तिजोर, भूवनेश्वरी, ग्वालटार, तीनकन्या, रतनचुरा, वाशेश्वर, भीमेश्वर साकिको गाविस मिसिएर गोलञ्जोर गाउँपालिका, कुशेश्वर दुम्जा, झागाझोली–रातामाटा, पुरानो झागाझोली, शीतल पाटी र मजुवा साविकको गाविस मिलेर सुनकोशी गाउँपालिका बनाइएको छ ।

त्यस्तै, ध्याङलेक गाउँपालिकामा अमले, बस्तीपुर, तामाजोर, नेत्रकाली, शान्तेश्वरी साविकको गाविस पर्छ । मरिण गाउँपालिकामा कपिलाकोट, कल्पवृक्ष, महादेवस्था साविकको गाविस मात्रै पर्छ । साविकको पिपलमाडी, महेन्द्रझ्याडी, क्यानेश्वर हरिहरपुरगढी गाउँपालिका भएको छ । तीनपाटन गाउँपालिकामा साविकको बेलगाडी, भीमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला र बाहुनतिल्पुङ पर्छ ।

यो जिल्लामा तामाङ समुदायको बाहुल्यता रहेको छ । तथ्याँक अनुसार यहाँ तामाङ २६.८७१ प्रतिशत, मगर १४.९०५ प्रतिशत, क्षेत्री १३.६६० प्रतिशत, ब्राह्मण पहाडी ७.७९१ प्रतिशत, नेवार ६.२८० प्रतिशत, दनुवार ५.८२९ प्रतिशत, कामी ४.४७५ प्रतिशत, सार्की ३.५५१ प्रतिशत, माझी ३.४७० प्रतिशत, दमाई, ढोली ३.०९१ प्रतिशत, सुनुवार २.७२९ प्रतिशत र घर्ती, भुजेल १.५२८ प्रतिशत छन् । त्यसबाहेक यहाँ अन्य ५२ जातजातिको बसोबास छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.