मनहरा खोलाबाट बालुवा चोरी निकासी तीव्र

मनहरा खोलाबाट बालुवा चोरी निकासी तीव्र

भक्तपुर: प्रतिनिधिसभा तथा प्रदेशसभा नजिकिएसँगै भक्तपुर र काठमाडौं जिल्लाको सीमा खोला मनहराबाट अवैध रुपमा बालुवाको चोरी निकासी तीव्र बनेको छ।स्थानीय वासिन्दाका अनुसार प्रहरी प्रशासनको संरक्षणमा मनहरा खोलाबाट अवैध रुपमा बालुवा चोरी निकासी भइरहेको हो।

खोलाबाट अवैध रुपमा बालुवा चोरी निकासी भएको जानकारी गराउँदा पनि त्यसको नियन्त्रणमा ध्यान नदिएबाटै यसमा प्रहरी प्रशासनको संरक्षण एवं सेटिङ रहेको पुष्टि हुने स्थानीय बताउँछन्। स्थानीयका अनुसार प्रहरीको जिम्मा लगाएको चोरीको बालुवासमेत जिल्ला समन्वय समिति भक्तपुरसम्म नपुगेबाट पनि मनहरा खोलाबाट अवैध रुपमा बालुवा चोरी निकासीमा प्रहरीको सेटिङ रहेको चाँगुनारायण नपा १ वडाका सदस्य माधव न्यौपाने बताउँछन्।

बालुवा चोरहरुले राती बालुवा ओसार्न मनहरा खोला दायाँबायाँ दर्जनौं ठाउँमा बालुवा जम्मा गरिराखेका छन्। त्यस्तै बालुवा निकालिएर ओसारिएका मनहरा खोलामा गाडी गुडेका छापहरु जताततै पाइन्छ। केही ठाउँमा मजदुरहरु दिउँसै मनहरा खोलाबाट बालुवा जम्मा गर्दै गरेको भेटिएका छन्।

चाँगुनारायण नपा १ र ४ तथा काठमाडौंको मूलपानी सीमामा पर्ने मनहरा खोलाका दर्जनौं ठाउँबाट अवैध रुपमा बालुवा चोरी निकासी भइरहेको स्थानीय बताउँछन्।'रातभर मनहरा खोलातर्फ बालुवा बोक्ने ट्रक गुड्छन्', चाँगुनारायण नपा १ वडाका अर्का सदस्य उद्धव खड्का भन्छन्, 'बालुवा चोरी हुनेबारे प्रहरीलाई जानकारी दिँदा दिँदा हामी नै थाकिसकेका छौं । प्रहरीलाई फोन ग यो, प्रहरी आउँदैन, उल्टै बालुवा तस्कर घरमा धम्की दिन आइपुग्छन्।'

स्थानीय बालुवा तस्करहरुबाट ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि स्थानीय बासिन्दा मौन बस्न बाध्य भएको उनी बताउँछन् । प्रहरीको सेटिङमा बालुवा चोरी भइरहेकोबारे मिडियामा जानकारी दिएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरले उल्टै स्पष्टीकरण दिनुपरेको वडा सदस्य खड्काले गुनासो गरे।

'प्रहरीको सेटिङमा बालुवा चोरी भएको भनेर मिडियासँग बोल्यो भनी महानगरीय प्रहरी परिसरले बोलाएर मसँग स्पष्टीकरण लियो', उनले भने, 'प्रहरीले मिडियामा बोलेको कुराको खण्डन गर्न दबाब दियो । मैले साँचो बोलेको हो, खण्डन गर्दिनँ भन्दै अवैध रुपमा बालुवा चोरी निकासी गर्नेलाई पक्रेर कारबाही गर भनेर भन्दा प्रहरीले मलाई तिमीले हामीलाई सिकाइरहन पर्दैन भनेर जवाफ दिए।'

बालुवा चोरीमा प्रहरीको संरक्षण नभएको भए अवैध रुपमा बालुवा चोरी निकासी गर्ने व्यक्तिलाई पक्रनुपर्ने उनको तर्क थियो।'प्रहरी प्रशासन र जिल्ला समन्वय समितिको खानी शाखामा बस्ने कर्मचारीहरुलाई अवैध रुपमा बालुवा चोरी निकासी गर्नेहरुको एकएक जानकारी छ', चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले भने, 'उनीहरुको सेटिङ नभएको भए मनोहरा खोलाबाट मात्रै होइन खानीबाट समेत किन निरन्तर बालुवा चोरी निकासी भइरहेको छ।'

नपाको कारण झन् चोरी तीव्र: स्थानीय
स्थानीयले भने चाँगुनारायण नपाले पहिले 'डम्प' भएर बसेको बालुवा बेच्न स्वीकृति दिएपछि अवैध रुपमा बालुवा चोरी निकासी झन् तीव्र भएको बताएका छन्। नगरपालिकाले दुई महिनाअघि डम्प भएर रहेको बालुवा बिक्री वितरण गर्न स्थानीय खानी सञ्चालकहरुलाई स्वीकृति दिएको थियो। नपाले डम्प भएको बालुवाको नापजाँच पछि बालुवा बिक्री वितरणको लागि रसिदको व्यवस्था गरेको थियो।

नपाले स्वीकृत गरेको सोही रसिदको आडमा माफियाहरुले मनहरा खोला तथा खानीबाट अवैध रुपमा बालुवा चोरी निकासी गरेको स्थानीय बताउँछन्।'रातभर मनहरा खोलाबाट बालुवा चोरेर डीपोमा जम्मा गरिन्छ', एक स्थानीयले भने, ‘दिउँसो त्यही बालुवा नपाले स्वीकृति दिएको डीपोको रसिदमार्फत बिक्री वितरण हुन्छ।'

नियन्त्रण गर्दै आएका छौं: प्रहरी
यता महानगरीय प्रहरी परिसर भक्तपुरले भने चोरीको बालुवा नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाउँदै आएको बताएको छ। परिसरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले अहिलेसम्म २७ वटा अवैध बालुवा समाएर कारबाहीको लागि जिल्ला समन्वय समितिलाई बुझाएको बताइन्।

उनले स्थानीय जनताले प्रहरीलाई दोष दिएर आफूहरु पन्छने गर्दै आएको आरोप लगाइन्।'अवैध रुपमा बालुवा चोरी निकासी भइरहेको छ भने प्रहरीलाई खबर नगरी प्रहरीको संरक्षणमा चोरी निकासी भइरहेको भनेर आरोपमात्रै लगाएर हुँदैन', प्रहरी उपरीक्षक राणाले भनिन्।

उनले अवैध रुपमा बालुवाको चोरी निकासी रोक्ने काम प्रहरीको मात्रै नभएको भन्दै जिल्ला समन्वय समिति र नगरपालिका बढी जिम्मेवार हुने बताइन्।'अवैध बालुवा रोक्ने जिम्मेवारी प्रहरीको मात्रै होइन', उनले आक्रोशित हुँदै भनिन्, ‘प्रहरीले कहाँमात्र हेर्ने? शान्ति सुरक्षा हेर्ने कि अवैध बालुवा कहाँबाट चोरी निकासी भइरहेको छ भनी लाग्ने?'


बालुवा आएको छैनः जिसस
यता जिल्ला समन्वय समितिले भने पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिएको कुनै पनि अवैध बालुवा आफूलाई नबुझाएको बताएको छ। जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिससकहाँ कुनै अवैध बालुवा नबुझाइएको दावी गरे।

'जिससले कुनै पनि खानीलाई बालुवा उत्खनन्को लागि स्वीकृति दिएको छैन’, उनले भने, ‘प्रहरीले हामीलाई कुनै अवैध बालुवा बुझाएको पनि छैन।'

स्थानीयका अनुसार बिहान र दिउँसो निष्क्रिय हुने बालुवा माफियाहरु साँझ पर्न थालेपछि सक्रिय हुने गरेका छन्। साँझ ६ देखि बिहान ६ बजेसम्म बालुवा चोरी गर्नेहरुको सक्रियता बढ्ने उनीहरु बताउँछन्।

रातभर मनहरा खोलाबाट निकालिएको बालुवा नजिकै रहेको डीपोमा जम्मा गरिने स्थानीय बताउँछन्। साना गाडीले खोलासम्म पुगेर बालुवा टीप गर्ने गरेको स्थानीय बताउँछन्।

उनीहरुका अनुसार साना गाडीले बाटोमा झारेको बालुवा टीपरमा राखी सीधै काठमाडौं लगिन्छ। केही टीपरले नजिकै वा टाढा रहेका डीपोमा बालुवा झार्ने गरेको स्थानीय बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.