हिमालयन शेर्पालाई चन्द्रागिरि गोल्डकपको उपाधि

हिमालयन शेर्पालाई चन्द्रागिरि गोल्डकपको उपाधि

काठमाडौं : प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पाले जितेको छ। नैकापस्थित चन्द्रागिरि नगरपालिकाको खेलमैदानमा आइतबार भएको फाइनल खेलको दोस्रो हाफमा १० जनामा समेटिएको फ्रेन्ड्स क्लबलाई अतिरिक्त समयमा ३-१ गोलले पराजित गर्दै शेर्पाले उपाधि पक्का बनाएको हो।

ए डिभिजन लिगको तयारी रकम समयमै उपलब्ध गराउनुपर्ने लगायत माग गर्दा चार वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिबन्धमा परेको शेर्पाले त्यसयता जितेको यो नै पहिलो उपाधि हो। एन्फाले गत २०७१ भदौ ९ गत्ते शेर्पासँगै फ्रेन्ड्स, सरस्वती र मच्छिन्द्र फुटबल क्लबलाई फुटबलबाट प्रतिबन्ध लगाएको थियो। त्यसको एक वर्षपछि सरस्वती र मच्छिन्द्रमाथिको प्रतिबन्ध हटाए पनि शेर्पा र फ्रेन्ड्समाथिको प्रतिबन्ध कायम राखेको थियो।

‘हामीले त्यसबेला जायज कुरा उठाउँदा एन्फाले ती कुरालाई आत्मसात् गर्नुको सट्टा हामीमाथि नै प्रतिबन्ध लगायो’, त्यसबेला आन्दोलनको नेतृत्व गरेका हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘तर, हामीले फुटबल अझै छाडेका छैनौं। आज उपाधि जित्न सफल पनि भएका छौं। हामीले त्यसबेला उठाएका कुरालाई आत्मसात् गरेको भए आज नेपाली फुटबल निक्कै अघि बढेको हुनेथियो। यो उपाधि त्यही गलत कुरालाई प्र श्रय दिनेहरूका लागि गतिलो झापड हो।’

ए डिभिजन लिग खेल्नुअघि नै पाउनुपर्ने तयारी रकम समयमै दिनुपर्ने माग राख्दा क्लब प्रतिबन्धमा परेसँगै शेर्पाले आफ्नो नेतृत्वमा एन्फामा पारदर्शिताको अभियान सुरु गरेका थिए। उनीहरूले विधानमा व्यवस्था भएअनुसार बैठकको एजेन्डा पहिले नै पठाउनुपर्ने तथा बैठकका माइन्युट सार्वजनिक गरिनुपर्नेलगायत माग राखेका थिए। सोही कारण एन्फाले प्रतिबन्धको निर्णय गरेको थियो। अन्ततः त्यहीबाट सुरु भएको उनीहरूको अभियानसँगै एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले आफ्नो पद त्याग्नु परेको थियो।

प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा शेर्पालाई उपाधि दिलाउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले एक÷एक गोल गरे। खेलको ९० मिनेटको निर्धारित समयको खेलमा दुवै टोलीबाट १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको खेलमा शेर्पा एक गोलले पछि परेको अवस्थाबाट फर्किएको थियो। खेलको ६१औं मिनेटमा अफ्रिकी खेलाडी लावलले प्रहार गरेको बल शेर्पाका दुई रक्षकको खुट्टामा लागेर गोलमा परिणत भएपछि फ्रेन्ड्स १-० ले अघि बढेको थियो।

त्यसलगत्तै फ्रेन्ड्स १० जनामा सीमित भएको थियो। विङ्गर रुमेश बर्ताैलाले दोहोरो पहेँलो कार्डमा मैदान छाडेपछि फ्रेन्ड्स १० जनामा पुगेको थियो। त्यसपछि शेर्पाले निर्धारित समयको अन्त्यमा बराबरी गोल गरेको थियो। कप्तान मानबहादुर तामाङको छोटो पासमा विसनले गोल गर्दै शेर्पालाई बराबरीमा फर्काएका थिए। त्यसपछि खेलको ९८औं मिनेटमा विदेशी खेलाडी पियुस हेनरीले गोल गर्दै शेर्पालाई २-१ को अग्रता दिलाएका थिए। खेलको एक सय १८औं मिनेटमा अर्का विदेशी खेलाडी सेडरिकले अर्को गोल थप्दा शेर्पाको जित ३-१ ले पक्का बनेको थियो।

उपाधिसँगै शेर्पाले पाँच लाख प्राप्त गरेको छ। उपविजेता फ्रेन्ड्सले दुई लाख ५० हजार प्राप्त गरेको छ। शेर्पाका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। फ्रेन्ड्सका कप्तान धीरज श्रेष्ठ सर्वाधिक गोलकर्ता बने। उनीहरू दुवैले ३०÷३० हजार प्राप्त गरे। विजेता टोली तथा खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.