मनंगावाले शुक्रबार राष्ट्रपतिको शपथ लिने
हरारे: जिम्बावेका पूर्वराष्ट्रपति इमर्सन मनंगावाले शुक्रबार राष्ट्रपतिको शपथ लिने भएका छन् । ३७ वर्षदेखि सत्तामा रहँदै आएका ९३ बर्से राष्ट्रपति रबर्ट मुगाबेले मंगलबार राजीनामा दिएपछि सत्तारुढ दल जानु–पीएफले मनंगावालाई राष्ट्रपतिका लागि मनोनयन गरेको हो ।
सभामुख ज्याकोब मुडेन्डाले मनंगावाले शुक्रबार पदको शपथ लिने जानकारी दिएका हुन् । मुगाबेले पत्नी ग्रेस मुगाबेलाई सत्तारुढ गराउन दुई साताअघि मनंगावालाई पदबाट बर्खास्त गरेका थिए । बर्खास्त गरेलगत्तै आफू असुरक्षित भएको भन्दै मनंगावा दक्षिण अफ्रिका पलायन भएका थिए भने सेनाले त्यहाँको नियन्त्रण आफ्नो हातमा लिएर मुगाबेलाई उनकै निवासमा नजरबन्द गरेको थियो ।
आइतबार उनले राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा भने आफू वैधानिक रुपमा अझै राष्ट्रपति रहेको र पदबाट राजीनामा नदिने बताएका थिए । उनले राजीनामा दिएको जानकारी संसदका सभामुख ज्याकब मुडेन्डाले संसदमा दिएका थिए ।
उनीविरुद्ध संसदको दुवै सदनको संयुक्त बैठकमा महाअभियोग प्रक्रिया सुरु हुनै लाग्दा सभामुख मुडेन्डाले मुगाबेले राजीनामा दिएको पत्र आफूले पाएको जानकारी गराउँदा सबै सांसदले खुसीयाली मनाएका थिए ।
बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार मुगाबेले स्वेच्छाले पदबाट राजीनामा दिने निर्णय गरेको आफ्नो पत्रमा उल्लेख गरेका छन् । उनको राजीनामाको घोषणासँगै मंगलबार साँझदेखि जिम्बावेलीहरू सडकमा खुसियाली मनाउँदै नाचगान र नाराबाजी गरिरहेका छन् ।
सरकारी टेलिभिजन जिम्बावे ब्रोडकास्टिङ कर्पोरेसन (जेडबीसी) ले मनंगावा राजधानी हरारेस्थित मन्यामे एयरबेसमा साँझ ६ बजे उत्रने जनाएको छ ।
मुडेन्डाले भने, ‘राष्ट्रपतिले शुक्रबार शपथ लिने जानकारी मलाई दिइएको छ ।' मनंगावाले अज्ञातस्थलबाट मंगलबार सबै जिम्बावेलीसँग देशको पुनर्निर्माण गर्न एकजुट हुन आग्रह गरेका थिए ।
अफ्रिकाका अधिकांश देशका वरिष्ठ नेताहरू कि त निर्वाचन वा जनआन्दोलनबाट सत्ताच्यूत गरिएको इतिहास छ । तर जिम्बावेमा भने सेनाको अग्रसरतामा मुगाबेलाई हटाएर मनंगावा सत्ताको सिँढी उक्लेका छन् । दशकौंसम्म मुगाबेका विश्वासपात्र रहेका मनंगावामाथि सन् १९८५ तिर आन्तरिक सुरक्षामन्त्री हुँदा मुगाबेका विपक्षी र सर्वसाधारण गरी करिब २० हजारको हत्या गरेको आरोप लाग्ने गरेको छ ।
अब मनंगावासामु सबैभन्दा ठूलो चुनौती देशको अर्थतन्त्र उकास्ने छ । उनले मुगाबेको पक्षमा रहेर मानव अधिकार उल्लंघन र चुनावमा धाँधली गरेको भन्दै पश्चिमी देशहरूले सन् २००० ताका जिम्बावेमाथि नाकाबन्दी गरेपछि त्यहाँको अर्थतन्त्र खस्कँदै गएको छ ।
अमेरिका र युरोपेली राष्ट्रले नाकाबन्दी गरेपछि मुगाबे चीनसँग नजिकिएका थिए । चीनले त्यहाँ लगानी गरेपछि अर्थतन्त्र असफल हुनबाट जोगिए पनि त्यहाँका करिब १ करोड ६० लाख सर्वसाधारण विपन्न छन् र रकम अभाका साथै बेरोजगारीको समस्या भोगिरहेका छन् ।
अर्को वर्ष हुने चुनावमा मनंगावाको जित लगभग सुनिश्चित भए पनि उनको जित चीनको सहयोगमा पुरानै नेताको विजयका रुपमा लिइने युरोपेली कूटनीतिज्ञहरू बताउँछन् । ‘उनी साम, दाम, दण्ड, भेद सबै छलकपट गरेर भए पनि निर्वाचित हुने निश्चित छ', अफ्रिकाका लागि जर्मन चान्सलर एंगेला मर्केलका निजी प्रतिनिधि गुन्थर नुकले एसडब्ल्यूआर२ टेलिभिजनसँग भने, ‘र, यो भनेको जिम्बावेको शासन एउटा निरकुंश शासकबाट अर्को निरंकुश शासकमा जानु मात्र हुनेछ ।'
चीनको विदेश मन्त्रालयले पदबाट राजीनामा दिने मुगाबेको निर्णयको सम्मान गर्ने बुधबार जनाएको छ । मुगाबे अफ्रिकाका त्यस्ता नेताहरूमध्ये अन्तिम हुन्, जसले आफ्नो देशलाई स्वतन्त्र बनाएर आफूले शासन गरे । यसरी देश उपनिवेशबाट स्वतन्त्र पारेर आफूले शासन गर्नेमा घानाका क्वामे न्कुरुमा, तान्जानियाका जुलियस न्यरेरे, आइभरी कोस्टका फेलिक्स हुफु–ब्वाइन र दक्षिण अफ्रिकाका नेल्सन मन्डेला पर्छन् ।
मुगाबेले करिब चार दशक लामो शासनकालमा आफ्ना विरोधीको हत्यादेखि लिएर लोकप्रियता खस्केपछि गोराहरूको जग्गाजमिन र सम्पत्ति कालाहरूलाई कब्जा गर्न लगाए । ‘मुगाबेलाई अफ्रिकाका निडर स्वतन्त्रता सेनानी र स्वतन्त्र जिम्बावेका राष्ट्रपिताका रुपमा सधैं स्मरण गरिनेछ', अफ्रिकन युनियन कमिसनका अध्यक्ष मुसा फाकी महमतले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।