'कम्युनिस्ट शासन अधिनायकवादको पर्याय हो'
रुकुम : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी मिलेर कम्युनिस्ट शासन भनिरहेको कुरामा घोर आपत्ती जनाएका छन्। ‘संसारभर कतै पनि कम्युनिस्ट शासन टिकेको छैन, किनकी यो जनताको पक्षमा छैन’, प्रम देउवाले भने, ‘कम्युनिस्ट शासन भनेको अधिनायकवादको अर्को रुप हो। त्यसैले कांग्रेसले जिते मात्र देशमा शान्ति र लोकतन्त्रको संरक्षण हुन्छ।’
बिहीबार पश्चिम रुकुमको सदरमुकाम खलंगामा नेपाली कांग्रेस रुकुमले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले सरकार चुनाव गराउन हर तरहले लागिरहेको भन्दै अब पनि चुनाव हुन्न भन्नु गलत भएको बताए।
उनले आसन्न निर्वाचनमा देशभर कांग्रेसका उम्मेदवारले भारी मत ल्याएर जित्ने र कांग्रेस लोकतन्त्रको संरक्षणमा डटेर लाग्ने समेत बताए। ‘चुनाव हुन्न भनेर जनतामा भ्रम सिर्जना गर्न खोजिदैछ’, देउवाले भने, ‘विपक्षीले मतदान भएको भोलिपल्टसम्म पनि चुनाव हुन्न नै भनिरहन्छन् तर, चुनाव जसरी पनि गराइछाड्छौँ।’
साथै देउवाले पूर्ववर्ती सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने भनेको बुढीगण्डकी आयोजना अब नेपालले नै निर्माण गर्ने गरी भोली (शुक्रबार) नै निर्णय हुने समेत बताएका छन्।