पञ्चायतकालदेखि भुसाल र बोहोराको टक्कर

पञ्चायतकालदेखि भुसाल र बोहोराको टक्कर

बुटवल : पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउने विद्यार्थीको अग्रपंक्तिमा थिए, घनश्याम भुसाल। गीर्वाण स्कुलमा कक्षा ९ मा पढ्दै गर्दा उनका झोलामा राता किताबहरू हुन्थे, जसमा कम्युनिस्ट राजनीतिका सिद्धान्तहरू लेखिएका हुन्थे।

ती राता किताब बोक्नेहरू खोज्दै हिँड्नेलाई ठेगान लगाउने अर्का समूह थियो, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल। जसको सूत्रपातमध्येका एक थिए, दीपक बोहोरा। भुसालको भनाइमा बोहोरा पञ्चायतका ‘अच्छा–खासा’ मान्छे थिए। भुसालहरू पञ्चायत हटाउने अभियानमा लुकेर काम गर्थे, बोहोराहरू पञ्चायतविरोधीलाई दबाउन हरतरह कोसिस गर्थे।

संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा तिनै पञ्चायतकालका दुई पात्र चुनावी मैदानमा आमनेसामने भएका छन्। रूपन्देही क्षेत्र ३ को प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट भुसाल र लोकतान्त्रिक गठबन्धनबाट बोहोरा चुनावी मैदानमा छन्। पञ्चायतकालमा उनैविरुद्ध लडेका कांग्रेस नेता बालकृष्ण खाँणले राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष बोहोरालाई मैदान खाली गरिदिएका हुन्।

भुसाल र बोहोरा २०५१ सालको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर १ बाट पनि चुनावी मैदानमा उत्रिएका थिए। उक्त चुनाव बोहोराले जिते। यी दुई नेताको दोस्रो ‘इनिङ’लाई रूपन्देहीमा खुबै महत्वका साथ हेरिएको छ।

राप्रपा विभाजनका समयमा विभिन्न गुट-उपगुट निर्माण गरेका बोहोरा निकै चलाख नेता मानिन्छन्। पटक–पटक मन्त्री भइसकेका उनी सातौ पटक चुनाव लडिरहँदा दुई पटक सफल भएका छन्।

भुसाल तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। ०५२ सालको उपचुनावमा भैरहवा क्षेत्रबाट उनी विजयी भएका थिए। पार्टीमा वैचारिक बहस चलाउन भुसाल माहिर मानिन्छन्। उनी भन्छन्, ‘म साना कुरा गरेर उम्मेदवारले जित्छन् भन्ने पक्षमा छैन, बिजुलीको दुईचार पोल बाँढ्दैमा मतदाताले जिताउने दिन गइसके, भुसाल भन्छन् ‘समृद्ध मुलुक निर्माणको अभियानमा ठूला सपना लिएर अघि बढ्नुपर्छ।’

सुनौलीलाई चीन र भारतको व्यापार नाका, लुम्बिनीको पर्यटनसँग जोडेर सिद्धार्थनगरलाई अन्र्तराष्ट्रिय शहर निर्माण, औद्योगिक क्षेत्रको विकास, विद्युत्, खानेपानी, सडक निर्माणलगायत योजना भुसालले अघि सारेका छन्।

स्वास्थ्यमन्त्री समेत रहेका बोहोराले रूपन्देहीको कृषि उत्पादनका बेला सिँचाइको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउँछन्। भन्छन्, ‘०३८ सालदेखि सरकारमा रहेर रूपन्देहीको विकासमा महत्वपूर्ण काम गरिरहेको छु। उनी थप्छन्, ‘लोकतन्त्र रक्षा, देश विकासका लागि मबाट निरन्तर काम हुनेछ।’ बोहोराले सुनौली–कोरला मार्ग निर्माणमा जोड दिँदै भैरहवालाई औद्योगिक क्षेत्र बनाउने योजना ल्याएका छन्।

विकास निर्माणका प्रतिबद्धतामा दुई उम्मेदवारका समान खाले बुँदाहरू समावेश गरिएका छन्।स्थानीय तहको मतलाई आधार मान्ने हो भने बोहोरालाई भुसाल निकै चुनौतीपूर्ण बन्न सक्छन्। उक्त क्षेत्रमा वाम गठबन्धन साढे पाँच हजार मतले अघि छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.