नेपालको झिनो सम्भावना
काठमाडौं : पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको संयुक्त अरब इमिरेट्स (यूएई)सँग पराजित भएपछि अर्को वर्ष वेस्ट इन्डिजमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी महिला विश्वकप खेल्ने नेपालको सम्भावना झिनो बनेको छ । नेपाली टोली बिहीबार भएको खेलमा यूएईसँग पाँच रनले पराजित हुन पुग्यो ।
सुरुआती दुई खेल वर्षाले पूरा हुन नपाउँदा आयोजक थाइल्यान्ड र हङकङसँग एक÷एक अंक बाँडेको नेपाललाई विश्वकप खेल्ने सम्भावना जीवितै राख्न यूएईविरुद्धको खेल जित्नुपर्ने बाध्यता थियो । यद्यपि नेपालले त्यो सम्भावना गुमाएको छ । नेपाललाई अब यसै प्रतियोगितामार्फत अर्को वर्षको सुरुमै हुने ग्लोबल क्वालिफायरमा पुग्नका लागि बाँकी रहेको आफ्नो अन्तिम दुई खेलमा जित हात पारेर मात्रै पुग्नेछैन, अन्य टोलीको खेलको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ ।
थाइल्यान्डको बैंककस्थित एसियन इन्सटिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जिती पहिले ब्याटिङ गरेको यूएईलाई नेपालले निर्धारित २० ओभरमा सात विकेट लिँदै ७९ रनमा रोकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर ७४ रन मात्रै जोड्न सकेपछि पराजय बेहोर्न पुगेको हो । बलिङतर्फ सन्तोषजनक प्रदर्शन गरेको नेपालले ब्याटिङमा कमजोर प्रदर्शन गर्यो ।
नेपालका लागि नवौं क्रमकी ब्याट्सउमन रीतु कनौजियाले २३ बलमा अविजित रहदै सर्वाधिक २२ र ज्योति पाण्डेले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो संख्यामा रन जोड्न सकेनन् । रीतुले आफ्नो पालिमा दुई चौका प्रहार गरेकी थिइन् । ज्योतिले एक चौका प्रहार गरेकी थिइन् । सीता रानामगरले सात रन बनाइन् भने काजोल श्रेष्ठ आठ, सरिता मगर पाँच, करुणा भण्डारी ६ र रोमा थापा तीन रनमा आउट भए ।
नेपालका लागि रीतुले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले बलिङतर्फ पनि दुई विकेट लिइन् । कप्तान रुबिनाले पनि तीन र नेरी थापाले एक विकेट लिए । यूएईका लागि नतासा चेरिआथले २३ र ईशा रोहितले २२ रनको योगदान गरेका थिए । यूएईकी निशा अलीले दुई विकेट लिइन् । नेपालविरुद्धको जितसँगै चार अंक बनाएको यूएई भने तेस्रो स्थानमा छ ।