एपीएफ बन्यो च्याम्पियन
काठमाडौं : प्रधानसेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ गोलले पराजित गर्दै एपीएफले उपाधि कुम्ल्याएको हो । भद्रकाली जंगी अड्डास्थित फुटबल मैदानमा भएको खेलमा एपीएफले दोस्रो मिनेटमै सुरुआती अग्रता लिएको थियो । आर्मीका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।
सुरुआती मिनेटमै गोल खाएपछि आर्मीले समालिएर खेल्यो र एपीएफमाथि लगातार दबाब बनायो । पहिलो हाफको ३२औं मिनेटमा आर्मीकी सपना लामाले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । ४२औं मिनेटमा फेरि एपीएफले अग्रता बनाउन सफल भयो । आर्मीका डिफेन्डरबीचको गलत तालमेलको फाइदा उठाउँदै एपीएफका लागि रेणुका नगरकोटीले गोल गरिन् ।
एपीएफ र आर्मी दुवै टोलीले दोस्रो हाफमा एक÷एक गोल थपेका थिए । ६९औं मिनेटमा एपीएफ क्लबकी कप्तान सजना रानाले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता ३-१ मा पुर्याइन् । सजनाले अञ्जली योञ्जनको कर्नरको सदुपयोग गर्दै गोल गरेकी थिइन् । इन्जुरी समयको अन्तिम मिनेटमा आर्मी क्लबकी कृष्णा खत्रीले गोल गर्दै अन्तर कम गरेकी थिइन् ।
उपाधि विजेता एपीएफले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेतामा सीमित बनेको आर्मीले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यसैगरी सेमिफाइनलमा पराजित भएका नेपाल पुलिस क्लब र मध्यमाञ्चल विकास क्षेत्रले ५०÷५० हजार रुपैयाँ प्राप्त गरे । फाइनल खेलको वुमन अफ दी म्याच एपीएफकी सजना राना घोषित भइन् भने सर्वोत्कृष्ट खेलाडीको पुरस्कार आर्मीकी सपना लामाले जितिन् ।
उनले अखिल नेपाल फुटबल संघद्वारा प्रायोजित स्कुटर पुरस्कार प्राप्त गरिन् ।
यसैगरी प्रतियोगिताको फेयर प्ले ट्रफी सिक्किम फुटबल टोलीलाई प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार एपीएफकी स्ट्राइकर सावित्रा भण्डारीले हात पारिन् । प्रतियोगितामा १२ गोल गरेकी उनले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
यसैगरी विधागत उत्कृष्टतातर्फ एपीएफकी मनमाया लिम्बूले उत्कृष्ट डिफेन्डर, आर्मीकी कृष्णा खत्रीले उत्कृष्ट स्ट्राइकर, आर्मीकै दीपा राईले उत्कृष्ट मिडफिल्डर, एपीएफकी एञ्जिला तुम्बापोले उत्कृष्ट गोलरक्षक र एपीएफका प्रशिक्षक जनकसिंह थारूले उत्कृष्ट प्रशिक्षकको पुरस्कार जिते । उनीहरू सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
उपाधि विजेता एपीएफकी कप्तान सजना रानाले साविक विजेताका रूपमा प्रतियोगितामा सहभागिता जनाउँदा टोलीले उत्साहित भएर सहभागी भए पनि उपाधि जित्न निकै मेहनत गर्नु परेको बताइन् । ‘साविक विजेताका रूपमा प्रतियोगितामा सहभागी हुँदा एकातिर उत्साहित थियौं भने अर्कोतिर उपाधि जोगाउने चुनौती पनि थियो । हामीले निकै मेहनत गरेर उपाधि रक्षा गर्यौं’, सजनाले भनिन् । नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा भारतको सिक्किम र बिहारको दुईसहित १० टोलीको सहभागिता थियो ।