युट्युबका हिट गीतमा नेपालीपन कति ?

युट्युबका हिट गीतमा नेपालीपन कति ?

नेपाली संगीतको खास धुन कुन हो भन्नेबारे बेलाबेलामा बहस हुने गर्छ । एकाथरी संगीत अन्वेषकहरू नेपाली जनजीवनको ठेट भाका मित्रसेन थापा र मेलवादेवीपछि टुटेको बताउँछन् । मेलवादेवीको शास्त्रीय संगीत नेपाली संगीत हो वा अम्बर गुरुङले भित्याएको रवीन्द्र संगीत ? नातिकाजीले हाँकेको आधुनिक संगीत हो वा झलकमान गन्धर्व र धर्मराज थापाले गाउने लोक गीत ? कुनचाहिँ नेपाली संगीत हो भन्नेबारे आज पनि मतभिन्नता छ।

समाजको बदलिँदो स्वरूपसँगै संगीतको ‘प्याट्रन’मा पनि बदलाव आएको छ । पछिल्लो समय युट्युबमा करोडौंले रुचाएका लोकआधुनिक संगीत नै नेपालीपनसहितको गीतसंगीत भएको एउटा पक्षले बताइरहेको छ । करौडौंले युट्युबमा रुचाउनु नै मानक हो ? मानक होइन भने किन रुचाए करोडौंले ? युट्युबमा सयौंले हेर्ने झुर संगीतकार, हजारौंले हेर्ने ठिक्कको संगीतकार, लाखौंले हेर्ने खतरा संगीतकार, करोडौंले हेर्ने महान् संगीतकार— यस्तो मापदण्ड ठीक छ कि छैन ? युट्युबमा हिट भएका गीतहरूमा नेपालीपन कति छ ? यस विषयमा गम्भीर बहस जरुरी देखिन्छ।

नेपाली संगीत क्षेत्र सतही ढंले हेर्दा भरिभराउ देखिन्छ । तर, गम्भीर अध्ययन गर्ने हो भने संकटबाट गुज्रिरहेको संगीत अध्येताहरू बताउँछन् । एफएम रेडियो, टेलिभिजन, मोबाइलदेखि माइक्रोसम्म कस्ता गीत बच्छन् ? नेपाली भनेर बज्ने सबै नेपाली संगीत नै हुन् त ? त्यसमा शब्द मात्रै नेपाली छ कि भाव र संगीतको माधुर्य पनि नेपाली छ ? त्यसको छिनोफानो हुन सकेमात्रै पनि असली नेपाली संगीत उत्खनन हुनसक्ने र त्यसले विश्व संगीतमा उपस्थिति जनाउनसक्ने बताउँछन् संगीतकर्मीहरू।

पछिल्लो केही वर्षमा मात्रै करिब एक दर्जन गीत एक करोडभन्दा माथिले युट्युबमा हेरे । त्यसबाट नेपाली संगीत क्षेत्र उकालो लागेको तर्क केही संगीतकर्मीले गरे । करोडको भ्युअर्स भएको १० नेपाली गीतमध्ये सातवटा लोकआधुनिक भाकाका छन् । अधिकांश गीतमा मौलिक नेपाली शब्दसमेत छन् ।

युट्युबमा सयौंले हेर्ने झुर संगीतकार, हजारौंले हेर्ने ठिक्कको संगीतकार, लाखौंले हेर्ने खतरा संगीतकार, करोडौंले हेर्ने महान् संगीतकार यस्तो मापदण्ड ठिक छ कि छैन ?

कुटुमा कुटु सुपारी दाना, सुर्केथैली खै ? कम्मरमाथि पटुकीजस्ता मौलिक नेपाली शब्द गीतमा पाइन्छ । तर, भ्युअर्स करोड नाघ्नु नै गीतको मापदण्ड नहुने तर्क गर्छन् गीतकार डा. कृष्णहरि बराल । भन्छन्, ‘लोक भाकाका गीतमा विम्ब र प्रतीकहरू सजिला हुन्छन् । त्यसैले पनि धेरैले मन पराएका हुन सक्छन् । धेरै चल्नुमा विज्ञापन र मिडियाको पनि हात छ । तर, भ्युअर्स बढ्नु नै गीतको मानक हुन सक्दैन।’

नेपालीको कुल जनसंख्या पुगनपुग तीन करोड छ । त्यसमध्ये दुई करोडभन्दा माथिले हेरे भन्नु विश्वसनीयता नभएको देख्छन् कवि तथा गीतकार श्रवण मुकारुङ । भन्छन्, ‘त्यति विश्वसनीय छैन । युट्युबमा गीत सर्च गरेर दुई करोड नेपालीले नै हेरे भन्न कठिन छ । जतिले हेरे उनीहरूले ती गीत नेपालीपन भएको गीत भनेर सुनेका होइनन् जस्तो लाग्छ । त्यस्ता गीत प्राय: डान्सका लागि तयार पारिएका हुन्छन् । अवचेतनमै सुनेर रमाइलो मानेका हुन्।’

गीतकारद्वयको भनाइलाई पूर्णत: सत्य मान्न नसकिने केही संगीतकर्मी बताउँछन् । ती गीतले हिन्दी गीतलाई विस्थापित नै गरिदिएको बताउँछन् कुटुमा कुटु गीतका गीतकार राजनराज शिवाकोटी । उनी नयाँ पुस्तालाई सम्बोधन गर्न त्यस्ता गीत सिर्जना गरिएको बताउँछन् । नेपाली मौलिक संगीतप्रति नेपालीको चासो बढ्न थालेको देख्छन् उनी । तर, करोडौंले रुचाएका ती गीत के साँच्चै नेपालीपन सहितको गीत हो त ? युट्युबमा रुचाउनु नै त्यसको मानक मान्न सकिन्छ कि सकिन्न ? यसबारे संगीतकर्मीबीच छलफल हुनुपर्ने देखिन्छ।

वडा नम्बर ६ को चर्चित गीत ‘सुर्के थैली खै’ बोलको गीत पहिलोपटक करोड भ्युअर्सले हेर्ने गीत बन्यो । तर, फिल्म भने औसतमात्रै बन्यो । ठमेल बजारजस्ता आइटम गीतमा दर्शक झुम्मिनु स्वाभाविक भए पनि अन्य सबै गीत आइटम गीत होइनन् । नेपाली समाज टिपिकल गीत मन पराउने प्रकृतिको देखिन्छ । विगतमा पनि त्यस्ता गीत चलेका थिए । जस्तै सिमसिमे पानीमा, रेशम फिरिरी, बनमा फूल्यो फूल, बाँझो खेतमा, वारि जमुना पारि जमुनाजस्ता गीत एक समय निकै रुचाइए।

समयक्रमसँगै नेपाली संगीत पप तथा र्‍याप गीतका साथै हिन्दी गीतको प्रभावबाट दबिन पुग्यो । अहिले पुन: पुरानो शब्द र संगीत मानिसले मन पराउनु सुखद रहेको संगीतकर्मीहरू बताउँछन् ।गीतकार शिवाकोटी कुटुमा कुटुजस्ता गीतले लोप हुन लागेका मौलिक शब्दलाई जोगाएको तर्क गर्छन् । भन्छन्, ‘एउटा गीतबाट १५÷२० वटा लोप हुन लागेका नेपाली शब्दलाई बचाएको छु ।’

टिपिकल शब्द र लोकआधुनिक संगीतमा संगीतकर्मीहरूको आकर्षण देखिएपछि शब्द चयनमा तादात्म्य नमिल्दा गीत अर्थ न बर्थको हुने रोग विगतको विरासतको रूपमा जस्ताको तस्तै देखिन्छ । विगतमा ‘सिमसिमे पानीमा, ज्यानले बेमान गर्छौ कि जिन्दगानीमा’ भनेजस्तै कुटुमा कुटु सुपारी दाना भनिएको छ, जसको अर्थ गीतमा केही पनि खुल्दैन । यी शब्दलाई गीतको अगाडि र गीतको बीचबीचमा राखिएको छ । यसलाई किन राखियो भन्नेबारे केही पनि अर्थ खुल्दैन । यसप्रति संगीतकर्मीहरू गम्भीर देखिँदैनन्।

नेपाली संगीतको अवस्था सधैं एकनासको रहेन । उतारचढावको बीचबाट अगाडि बढेको नेपाली संगीत क्षेत्रमा एउटा गीत करोडौंले हेर्नु सुखद नै मान्नुपर्ने गीतकारहरू बताउँछन् । तर, इन्टरनेटमा सर्वाधिक रुचाइएको गीतलाई नै नेपालीपन सहितको गीत भनेर दाबी गर्नु उचित नहुने उनीहरूको भनाइ छ ।

सूचना र प्रविधिको विकाससँगै आमनेपालीले मोबाइलबाट सजिलै गीत सर्च गरेर हेर्नसक्ने अवस्थालाई सकारात्मक मान्नुपर्ने तथ्य उनीहरू स्वीकार्छन् । प्रविधिमा नेपालीको पहुँच बढेसँगै नेपाली संगीतको वर्तमान र भविष्य सुखद देख्छन् गीतकार शिवाकोटी । उनी भन्छन्, ‘नेपाली संगीत सुखद बाटोमा हिँडिरहेको छ ।’

करोड नाघेका १० नेपाली गीत
१. कुटुमा कुटु सुपारी दाना : तीन करोड ५९ लाख
२. पूर्व पश्चिम रेल : दुई करोड ७८ लाख
३. ए दाजु नसमाऊ नाडीमा : एक करोड ६३ लाख
४. सुर्के थैली खै : दुई करोड ३२ लाख
५. कम्बरमाथि पटुकी : एक करोड ९९ हजार
६. सुन साइली : एक करोड ४३ लाख
७. ठमेल बजार : दुई करोड २६ लाख
८. काले दाइ : एक करोड ९० लाख
९. मन दिन्छु मुटु दिन्छु : एक करोड १४ लाख
१०. शिरैमा शिरबन्दी कानैमा झुम्का : एक करोड ३१ लाख

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.