सत्यमै झुट मिसाउने गजब तरिका
हामी सबैलाई थाहा भएकै कुरा हो, राजनीतिज्ञहरू बारम्बार ढाँट्ने गर्छन् । उनीहरूले सत्य कुरा बोलेरै ढाँटिरहेका हुन्छन् ।यो कुरा त्यति बेला थाहा हुन्छ, जब हामीले पनि ढाँटिरहेकै हुन्छौं । यस सम्बन्धमा धेरै उदाहरण दिन सकिन्छ । आमाले कहिलेकाहीँ तपाईंलाई स्कुलको होमवर्क सकिएको छ कि छैन भनेर पक्कै पनि सोध्नुभएको होला । त्यति बेला तपाईंले भन्नुभयो होला, ‘अंग्रेजी कक्षाका लागि मैले टेनिस विलियमको बारेमा निबन्ध लेखिसकेँ ।’ उसले होमवर्क गरिसकेको हुनसक्छ ।
सही हो । तर, खोजिएको खास उत्तरचाहिँ यो नहुन पनि सक्छ । मतलब, यो निबन्ध पहिले नै लेखिसकिएको हुनसक्छ । तपाईंले आफ्नी सोझी आमालाई सही कुरा भनेरै झुक्याइरहनुभएको छ । निबन्ध लेखेको कुरा सत्य हो तर पछिल्लोपटक स्कुलमा दिइएको होमवर्क भने तपाईंले गर्नुभएकै छैन।
झुट संसारभर नै बोलिन्छ । सत्य बोल्दाबोल्दै झुटो बोलिरहने यस्ताखाले क्रियाकलापलाई जनाउन पछिल्लो समय एउटा शब्द निकालिएको छ, ‘पल्टरिङ’ । यसले हाम्रो सत्य र झुटबीचको ‘ग्रे लाइन’लाई प्रस्ट पार्छ । र, हामी किन ढाँट्छैाँ भन्ने कुरा पनि बताउँछ ।
सन् १९९६ मा अनुसन्धानदाता बेला डिपाउलोले एउटा रिपोर्ट निकालिन्, यस सन्दर्भमा । मान्छेहरू दैनिक एकदुईपटक झुट बोल्ने गरेको बताउँछिन् उनी । सहभागीहरूसँग एक साता सँगै बिताएर उनीहरूले बोलेका झुटा कुरा उनले टिपेकी थिइन् । सहभागीहरू पनि सहजै भएर बोलिरहेका थिए । एक सय ४७ जना सहभागीमध्ये सातजनाले मात्र झुटो नबोल्ने बताएका थिए ।
हामी अनुमान गर्न सक्छौं, उनीहरूले पनि झुटो नै बोलिरहेका थिए कि ! आफ्नो अनुसन्धानमा प्राय: सहभागीले आफू कति पटक झुट बोल्छौं भनेर सचेत नभएको बताउँछिन्, साइकोलोजिस्ट डिपाउलो ।कसैले अरूलाई प्रभावित पार्न अथवा अरू नै नियतले ढाँट्न खोज्छ भने त्यो साँच्चिकै खराब कुरा हो । धेरैपटक यस्तो झुटा प्रयोग तपाईंले थाहा पाइरहेको हुनसक्छ ।
टोड रोजर र उसका सहपाठीहरूले एउटा अध्ययन गरे । राजनीतिज्ञहरू बहसमा छिटोछिटो बोलेर विषय परिवर्तन गरिरहेका हुन्छन् भने त्यहाँ शंका गर्नुपर्छ । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने उनीहरू खास सोधिएको प्रश्नको उत्तरबाट भागिरहेका हुन सक्छन् । कहिलेकाहीँ सत्य कुरा बोलेरै पनि उनीहरू बहसबाट भागिरहेका हुन सक्छन् । राजनीतिज्ञहरू यस्ता काम प्राय: गर्छन् । हार्वर्ड केनेडीका वैज्ञानिक रोजर भन्छन्, ‘उनी र उनका साथीहरू यस सम्बन्धमा अरू अध्ययन गरिरहेका छन्।’
कुनै पनि कुराको संयोजनमा पल्टरिङ सामान्य भएको बताउँछन् उनी । एक सय ८४ मध्ये झन्डै आधा बिजनेस ‘एक्जुकेटिभ’ले आफूहरूले चातुर्य अपनाउने गरेको स्वीकारेका छन् । अनुसन्धानबाट के कुरा पत्ता लाग्यो भने पल्टरिङ गर्नु सीधै ढाँट्नुभन्दा ‘इथिकल’ छ।
मान्छेहरू खासमा ‘लाइङ’ र ‘पल्टरिङ’ बीच खासै फरक पाउँदैनन् । ‘बारम्बार कुनै कुरालाई पल्टरिङ गर्नु कहिलेकाहीँ ठीकै हो । तर, खासमा सुन्नेहरूले यसलाई झुट नै भनिरहेका हुन्छन्’, रोजर भन्छन्।
‘फ्याक्ट’ कुराहरूलाई गल्ती गर्न गाह्रो हुन्छ । यो ठीकै पनि हो । एउटा उदाहरण लिऊँ, बेलायतको लेबर पार्टीले चुनावी उमेरलाई लिएर एउटा भिडियो बनायो । उसले भन्यो, ‘तपाई १६ वर्ष पुग्नुभएको छ । अब तपाईंले विवाह गर्न सक्नुहुन्छ । सेनामा भर्ती हुन सक्नुहुन्छ । फुलटाइम काम गर्न सक्नुहुन्छ ।’ यसैलाई लिएर बीबीसीको ‘रियालिटी चेक’ले के कुरा पत्ता लगायो भने यो ‘फ्याक्ट’ले धेरै गलत कुरा भनिरहेको छ ।
‘परिवारको सहमतिमा मात्र तपाईंले १६÷१७ वर्षको उमेर सेनामा भर्ती हुन पाउनुहुन्छ’, बीबीसीको रियालिटी चेक टिमले भनेको छ, ‘यो उमेरमा विवाह गर्न तपाईंलाई परिवारको सहमति चाहिन्छ । सन् २०१३ देखि १६÷१७ वर्षको उमेरमा तपाईं विवाह गर्न पाउनु हुन्न ।’
अर्काे उदाहरण लिऔं । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय चुनावी बहसमा केही लुकाए । उनलाई सोधिएको थियो कि उनले पारिवारिक भेदभाव गरेका छन् । कम्पनीको सन्दर्भमा पनि उनलाई केही दोष लगाइएको थियो । न्युयोर्क टाइम्सको अनुसन्धानले पत्ता लगायो कि उनको कम्पनीले जातीय विभेद गरेको छ ।
कुनै पनि विषय महत्वपूर्ण प्रयोगका रूपमा हेरिने भएकाले पल्टरिङ सायद दोहोरिइरहन्छ । रोजर्स भन्छन्, ‘यो हाम्रो निरन्तर जुधिरहने धेरै उद्देश्यहरूको कारणले भएको हो । हामी हाम्रो कुण्ठित इच्छाहरू पूरा गर्न चाहन्छौं । जस्तै, घर र कार बेच्ने । तर, हामी यो पनि चाहन्छौं कि अरूले हामीलाई सज्जन र नैतिकवान् पनि देखून् ।’
उनी भन्छन्, ‘यिनै दुई उद्देश्यहरू द्वन्द्वमा हुन्छन् र पल्टरिङले गर्दा उनीहरू सोच्छन्, उनीहरू सोझै झुट नभएर नैतिकवान् भइरहन चाहन्छन् ।’सन् २०१६ को एक सर्वेक्षणले पत्ता लगाएको छ- ब्रिटिस जनता राज्य, प्रतिनिधि, बैंकर्स र पत्रकारहरूलाई भन्दा नेताहरूलाई कम विश्वास गर्छन् । जनता स्पष्ट रूपमा सिकार भइरहेका छन् र नेताहरूमाथिको विश्वास घट्दो छ ।
जब हामी सत्तासीनहरूबाट ढाँटिन्छौं, हाम्रो राजनीतिक संस्थाहरू माथिको आत्मविश्वास ध्वस्त हुन्छ । यसले सत्तासीनहरूले देखाउने उत्साहलाई शंकास्पद बनाउँछ । यसले कसैलाई सत्यभन्दा पनि राम्रो चित्र बनाउनका साथै कुनै राजनीतिज्ञलाई एउटा असहज प्रश्नबाट छल्न मद्दत गर्छ । यो अनैतिक हो र यसले प्रजातन्त्रलाई धराशयी बनाउँछ । रोजर भन्छन्, ‘तर, मान्छेको सुझबुझले काम गर्ने तरिका नै यही हो ।’
दुर्भाग्यवश, झुटको यो व्यापकतामा हामी यसरी हुर्कियौं कि त्यसपछि ठूला भइसकेपछि पनि सामाजिक अन्तरक्रियाहरूमा ढाँट्न थाल्छौं । केटाकेटीहरूलाई विभिन्न कार्यक्रममा गलत कुरा सुनाइएको हुन्छ । ‘हामी नानीहरूलाई गलत सन्देश दिइरहेका हुन्छौं’, फेल्डम्यान भन्छन् ।
त्यसैले अर्कोपटक तपाईले आफूलाई थाहा भइरहेकै कुराहरू पनि अलि फरक ढंगले सुन्नुहुन्छ भने त्यहाँ केही गडबडी छ भनेर बुझ्दा हुन्छ । अथवा प्रश्नहरू तोडमोड भइरहेको छ भने पनि शंका गर्ने ठाउँ रहन्छ ।
(बीबीसीमा प्रकाशित एक रिपोर्टको सम्पादित अंश)