दाह्रीको भारी, महँगो रहर
ललितपुरका नरेश विश्वकर्मा हालै काठमाडौंदेखि दिल्लीका लागि बस चढे । उनलाई मुम्बई जानु थियो ।नेपाल-भारत सीमाको सुनौली नाकामा भारतीय प्रहरीले सबै यात्रुका सामान चेकजाँच गरे । त्यस क्रममा अरू यात्रुहरूलाई छिटै छाडे तर नरेशलाई भने ढिम्किन दिएनन् । सबै कागजपत्र देखाइसक्दा पनि थप प्रमाण मागे । प्रमाणपत्रको फोटो र नरेशको वास्तविक हुलिया मेल खाँदैनथ्यो । किनकि प्रमाणपत्रको फोटोमा दाह्री थिएन ।
भारतीय सुरक्षाकर्मीका हाकिमसँग पनि एक घन्टा विवाद भयो । ‘जुँगा र दाह्री नहेर्नुस्, नाक, आँखा हेर्नुस् भनेँ तर मानेनन्’, उनले भने । नरेशको केही लागेन । अन्तिममा उनी रेल चढेर मुम्बई जान बाध्य भए ।
विदुर ढकाल दसैंमा रूपन्देहीको कञ्चन गाउँपालिकास्थित आफ्नो घर पुगेका थिए । तर, बेलुका सुत्दा दाह्रीसहित सुतेका उनको चिउँडो बिहान उठ्दा भने टाटेपाटे थियो । ‘ममीले काट् भन्दै हुनुहुन्थ्यो, मैले मानिनँ’, राति आमाले दाह्री काटेर टाटेपाटे बनाएपछि भोलिपल्ट नकाटी धरै पाएनन्।
नरेश र विदुरझैं धेरै युवालाई दाह्रीको रहर छ तर प्रहरीदेखि परिवारसम्म दाह्रीविरुद्ध छन् । बुटवलका अमित ज्ञवाली आफूले दाह्री पाल्दा ओसामा बिन लादेनजस्तो भन्दै काट्न परिवारले दबाब दिएको गुनासो गर्छन् । सरोज क्षेत्रीको अनुभव पनि त्यस्तै छ । ‘घरमा धेरै गाली गर्ने, छिमेकीले पनि मन्दिरमा गएर बस् भने’, तर उनी गल्दैनन्, ‘जे त होला, पाल्दै जाने हो ।’
गाईघाटका आकाश मगरलाई पनि मानिसहरूले जिस्क्याउन छाडेका छैनन् । ‘मगरको पनि दाह्री आउँछ र ? भन्दै धेरैले प्रश्न उठाए, कसैले बिन लादेनको उपनाम दिए भने कसैले कार्लमाक्र्सको उपाधि दिए’, उनले भने, ‘नानीहरूले बाजे, तरुनीहरूले अंकल, बाउको उमेर भएकाहरूले दाजु भन्छन् । बिहे गर्न केटीको घरमा गयो दाह्रीवाला रहेछ भनेर टार्छन् ।’
रहरैरहरले दाह्री पाल्ने युवाको संख्या पछिल्लो समयमा बढेको छ । आकर्षक र अरूभन्दा भिन्न देखिन दाह्री पाल्ने युवालाई कतिपयले आकर्षक मान्छन् । तर, सबै पुरुषको चिउँडोमा पलाउने रौं पाल्दा कतिपय व्यक्तिबाट आउने नकारात्मक टिप्पणीहरू पनि उत्ति नै छन् । खासगरी दाह्री पालेको युवालाई परिवार, समाज, साथीभाइले गर्ने व्यवहार र उनीहरूप्रतिको प्रतिक्रियाका अनुभव रोचक छन्।
बुटबलका अमित र काठमाडौंका अमृत प्यासीको अनुभव उस्तै छ । अमृत भन्छन्, ‘पसलमा बस्दा दुई सन्तानकी आमाले पनि दाइ भन्छन् ।’ कपडा पसलमा बस्ने अर्का युवा प्रद्युम्न कट्टेल भन्छन्, ‘दिदीहरूले आएर अंकल, त्यो कपडा देखाउनु न रे ।’
कति युवाहरूले दाह्री सोखले पालेका छन् । कतिले काट्न अल्छी गर्दा लामो भएको पनि छ । पछि त्यही लामो दाह्री उनीहरूका लागि प्रिय बन्छ । नवलपरासीका २८ वर्षीय शंकर काफ्ले पाँचपटक सैलुन जाँदा पनि दाह्री काट्न माया लागेर फर्केको बताउँछन् ।
कतिपय युवाले जागिरका कारण दाह्री पाल्न पाउँदैनन् । तर, आफैंले व्यवसाय गर्दा इच्छा लागेजत्रो दाह्री बनाउन पाउँछन् । विराटनगरका उज्ज्वल भट्टराई त्यस्तै एक युवा हुन् । बर्जर पेन्ट्समा सेल्समेनको रूपमा काम गरेका उनी अहिले एसियन पेन्ट्सको डिलरसिप लिएर आफ्नै पसल चलाउँछन् । ‘आफ्नै पसल हुँदा दाह्री पाल्न पाएको छु’, उनी भन्छन्, ‘जागिरे हुँदा पाल्न अनुमति थिएन ।’
तर काफ्ले, भट्टराईलगायत धेरै युवाको एउटै समस्या छ, दाह्री पाल्दा सामाजिक समस्याचाहिँ केही हदसम्म हुन्छ । भट्टराई भन्छन्, ‘सबैले किन पालेको भनेर सोध्छन्, कतिले किन जोगी बनेको भन्छन्, जवाफ दिँदादिँदा हैरान ।’दाह्रीलाई लिएर प्रश्न गर्ने, जिस्क्याउनेहरू एकातिर छन् भने अर्कातिर दाह्री पाल्नेहरूलाई अपराधीझैं हेर्ने र व्यवहार गर्नेहरू पनि छन् । जसप्रति चित्त दु:खाइ छ धेरै दाह्रीप्रेमी युवाको ।
दाह्री पाल्ने र मन पराउने ग्याङ
फेसबुकमा दाह्री ग्याङ समूह लोकप्रिय छ । जसले दाह्री पाल्न मन पराउने युवालाई संगठित गर्ने काम गरेको छ । यो ग्रुपका युवा कहिलेकाहीँ भेला हुन्छन् । अनि सामाजिक कामहरूसमेत गर्छन् । दाह्री ग्याङले गरेका सामाजिक कामले दाह्री पालेका मानिसप्रति समाजको नकारात्मक हेराइ बदल्न सहयोग गरेको उनीहरूको अनुभव छ ।
उता दाह्री पालेका केटा मन पराउनेहरूको बियर्ड लभर रुम रिलोलेड भन्ने अर्को ग्रुप पनि छ । यसमा केटीहरू पनि सदस्य छन् । उक्त समूहकी सदस्य अस्मिता शिवाकोटी दाह्री पाल्नेहरू अरूभन्दा फरक हुने र स्मार्ट देखिने हुँदा मन पर्ने बताउँछिन् । ग्रुपकै अर्की सदस्य सपनालाई पनि दाह्री पालेको मान्छे मन पर्छ । उनको ब्वाइफ्रेन्डको समेत दाह्री छ ।
कामको सिलसिलामा विदेशमा रहेकी उनले ब्वाइफ्रेन्डलाई दाह्री नकाट्न भनेकी छन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्दै उनी दाह्रीले प्रेममा नकारात्मक प्रभाव नपार्ने बताउँछिन् । फेसबुकमा दाह्री पालेको मन पराउनेहरूको उक्त समूह ‘दाह्री ग्याङ’बाट प्रभावित भएको हो ।
कोही केटीहरू दाह्री पाल्नेहरू मन पराउँछन् भने कोही मन पराउँदैनन् । बसमा चढ्दा कहिलेकाहीँ केटी छेउमै उभिरहेका हुन्छन् । काठमाडौंका सागर भट्टराईको छेउमा खाली सिट हुन् तर बस्दैनन् । ‘यस्तो अवस्थामा हाँसो नि लाग्छ, नराम्रो नि लाग्छ’, उनी भन्छन् ।
३० वर्ष पुगेका सुवास भट्टराईलाई हेर्ने केटीहरूको नजर खासै नकारात्मक छैन रे । नजिकका महिला मित्रले नकाट्नु भन्ने गरेको सुनाउँछन् उनी । उता विनोद नेपाललाई दाह्री पाल्न भने बहिनीले नै प्रेरणा दिएकी हुन् । धेरैजसो केटीले दाह्री पालेको राम्रो मान्ने गरेको उनको अनुभव छ।
सामाजिक टीकाटिप्पणीबाट आजित दाह्री पाल्ने युवाहरू चर्चित फुटबल खेलाडी मेस्सी झुस्स दाह्री पालेर युरोकपको मैदानमा उत्रिएपछि हौसिएका छन् ।
दाह्री पालेका मानिसलाई समाजमा आजकाल जिम्मेवार सम्झन थालिएको युवाहरूको अनुभव छ । इटहरीका सन्दीप बास्तोलालाई इटहरीका मेयर द्वारिकालाल चौधरीको चुनावी अभियानमा हिड्दा मानिसले अंगरक्षक हो कि भनेर सोधे रे । उनले भने, ‘दाह्री पाल्दा ठूला उमेरकाले पनि दाइ भन्छन्।’
मोरङ, पथरीका सुवास भट्टराईको अनुभवमा पनि दाह्री पालेको मानिसलाई अरूले गर्ने व्यवहार निकै राम्रो हुन्छ । ‘झट्ट बोल्दा जिम्मेवार सम्झन्छन्, सोधेर रेस्पेक्ट गर्छन्’, उनी भन्छन् ।
दाह्री पाल्ने क्रेज कतिसम्म छ भन्ने उदाहरण पोखराका सोमत गौतम र विराटनगरका गोकुल खतिवडा हुन् । दुवैजना चिउँडोमा झ्याप्प दाह्री कहिले आउँछ भनेर पर्खिरहेका छन् । दाह्री ग्याङ समूहको सदस्यसमेत रहेका पोखराका १७ वर्षीय गौतमले आफ्नो फेसबुकको कभर फोटोमा मेरो दाह्री चिनारी लेखिएको लोगो अपलोड गरेर लेखेका छन्, ‘मेरो दाह्री आउँदैछ ।’
उनलाई दाह्री पालेको राम्रो लाग्छ । तर आफ्नैचाहिँ दाह्री छैन । ‘नआएर कति सेभ हान्छु, आउँदै आउँदैन’, उनी भन्छन्, ‘अरूको झप्प दाह्री देख्दा आफ्नो पनि दाह्री आए हुन्थ्यो भन्ने लाग्छ ।’ उनी दाह्री आएपछि नकाट्ने बरु लामो बनाएर पाल्ने योजना रहेको बताउँछन् । उता विराटनगरका गोकुल खतिवडा दाह्री नै नबढेको दु:खेसो गर्छन् ।
दाह्री पाल्न महँगो
दाह्री काट्न सजिलो छ तर पाल्न सजिलो छैन । दाह्रीलाई धुलोबाट जोगाउनुपर्छ । त्यस्तै सेम्पो र तेल पनि विशेष चाहिन्छ । सामान्य सेम्पोले अनुहारको छालालाई हानि गर्नुका साथै दाह्रीको जरालाई पनि कमजोर बनाउछ । दाह्रीकै लागि भनेर बनाइएका सेम्पो अलि महँगा हुन्छन् ।
पहिले हाँगा फाट्ने समस्या आए पनि पछि राम्रो केयर गरेपछि दाह्री राम्रो हुँदै आएको बताउँछन्, सुवास भट्टराई । विशेष क्रिम र सेम्पोले दाह्री पाल्दाको खर्च बढाएको छ । महिनाको कम्तीमा १५ सय रुपैयाँ खर्च हुने उनी बताउँछन् । उता कश्यप अधिकारीको अनुभवमा पनि सेभ गर्दाभन्दा पाल्दा धेरै खर्च आउँछ । ‘दाह्री मिलाउनुपर्छ, त्यत्तिकै छाड्दा जंगलजस्तो हुन्छ’, सेम्पु र तेलमा खर्च हुने उनको भनाइ छ ।
दाह्री ग्याङलाई सुरुमा त धेरैले हाँसेरै उडाए । तर, अहिले यो ग्याङ सकारात्मक काम गर्ने युवाहरूको संगठन बनेको छ । दाह्री पाल्ने युवालाई समाजले हेर्ने नजर नै यो ग्याङले बदल्न बाध्य बनाएको छ ।
सुवास भट्टराईलाई दाह्री पाल्दा सुरुमा मानिसले के जोगीजस्तो भएको भन्थे । ‘तर दाह्री ग्याङमा आबद्ध भएपछि आत्मबल बढ्यो । किनकि संसारका ठूला विद्वानहरूले समेत दाह्री पालेका छन्’, उनले भने । पहिला दाह्री ग्याङमा रहेका उनीलगायत केही दाह्रीप्रेमीले पूर्वको छुट्टै ग्रुप पनि बनाएका छन् ।
इटहरीका विनोद नेपालका अनुसार उनले दाह्री पाल्दा सुरुमा मानिसले नकारात्मक तरिकाले लिन्थे । तर पछि सामाजिक काम गर्दै गएपछि राम्रो मान्न थाले । दाह्री ग्याङले देशभरका विभिन्न ठाउँमा सामाजिक काम गर्ने गरेको छ । चार लाख रुपैयाँ खर्चेर पथरी-४ मा विष्णु रसाइलीको घर बनाइदिएको छ । गत साउनमा इटहरीका बाढीपीडितका लागि सहयोगसमेत जुटाएको बताउँदै विनोदले भने, ‘क्यान्सरसम्बन्धी जनचेतना जगाउन यो वर्ष पनि फरक तरिकाले नो सेभ नोभेम्बर मनाउँदैछौं ।’
यसरी सुरु भयो दाह्री ग्याङ
पुराना तस्बिरहरूको संकलनकर्ता जगदीश भण्डारी र मनोज मालाकारले यो नाम छानेका थिए । तर जुराएका थिए, संस्कृतिविद् सत्यमोहन जोशीले । भण्डारी र मालाकार जोशीलाई भेट्न पुगेछन् । त्यहीँ अर्कै कामले पुगेका टीभीका पत्रकारहरूसमेत धेरै दाह्रीवाल युवालाई देखेर जोशीले ‘दाह्री ग्याङ’ हो कि क्या हो ? भनिदिएछन् ।
लगत्तै फेसबुक पेज खुल्यो, लोगो बन्यो, टिसर्ट छापियो । ‘वियर्ड फर हर प्लेजर’ र ‘वेलकम टु जंगल’ शीर्षक राखेर टिसर्ट छापियो । पछि ‘मेरो दाह्री, दुनियाँलाई किन भारी’, ‘गालामा दाह्री काँधमा जिम्मेदाह्री’ जस्ता स्लोगनका टिसर्टसमेत छापिए । छापेको टिसर्ट दाह्री पाल्नेदेखि दाह्री मन पराउने केटा र केटीले किनेका छन् । नाफाको रकमले सामाजिक काम गर्ने गरिएको छ । तर, व्यापारीहरूले लोगो नक्कल गरी टिसर्टसमेत छाप्न थालेका छन् ।
सामाजिक सञ्जालमा बनेको यो भर्चुअल ग्रुप अहिले झापा, मोरङ, चितवन, रूपन्देही, कास्की लगायतका ठाउँमा मा छुट्टाछुट्टै ‘दाह्री ग्याङ’ सक्रिय छन् । दाह्री पाल्ने र पाल्न रुचि राख्ने तन्नेरी यो लुज फोरममा आबद्ध छन् ।
सात जनाबाट सुरु भएको फेसबुके ‘दाह्री ग्याङ’मा अहिले एक लाख बढी सदस्य छन् । भर्खरै यो समूहले नेपाल आइडलका प्रतिस्पर्धीलाई लिएर कन्सर्टसमेत गरेको छ ।
नो सेभ नोभेम्बर
क्यान्सरका कारण धेरै मानिसका कपालका रौं झर्छन् । यस्तो अवस्थामा नोभेम्बर महिनाभरि दाह्री नकाट्न आह्वान गर्दै नो सेभ नामक संस्थाले नो सेभ नोभेम्बर भनेर मनाउने गरेको छ । महिनाभरि दाह्री, जुँगा नकाट्दा भएको बचतलाई क्यान्सर रोगबाट जोगिने उपायबारे जानकारी गराउन प्रयोग गर्न आह्वान गरिएको छ । योपटक दाह्री ग्याङको एउटा फ्रेम बनाइएको छ । त्यो प्रयोग गरेबापत नोभेम्बर जिन्स क्लोथिङ स्टोरले प्रतिफ्रेम एक सय रुपैयाँ दिने गरेको विनोद बताउँछन् ।
नेपालका बैंकर सीईओ अनिल शाहले समेत नो सेभ नोभेम्बरलाई सहयोग गरेका रहेछन् । उनले लगातार दुई वर्ष नोभेम्बरमा दाह्रीजुँगा नकाटेको एउटा अन्तर्वार्ताका क्रममा बताएका छन् । पृथ्वीनारायण शाहको जुँगाबाट प्रभावित भएको अनिल बताउँछन् ।
धर्ममा दाह्री
धर्महरूमा पनि दाह्रीको महत्व छ । कुनै धर्मले दाह्री पाल्न प्रेरित गर्छन् भने कुनै धर्मले दाह्री काट्न भन्छन् । इस्लाम धर्ममा भने दाह्री पालेर जुँगा काट्न भनिन्छ ।हिन्दु धर्ममा निकै ठूलो भक्तलाई साधुसन्त भनिन्छ । साधु र सन्तहरू हम्मेसी दाह्री काट्दैनन् । दाह्रीलाई समर्पणको प्रतीक मानिन्छ । मन्दिरमा बस्ने पुजारीका पनि लामो दाह्री हुन्छ । पञ्च केश काट्न नहुने शास्त्रहरूमा रहेको हिन्दु धर्म जानकारहरू बताउँछन् ।
यता सिया समुदायमा दाह्री मुक्काको चौडाइभन्दा लामो हुन नहुने मान्यता छ भने इस्लाम धर्म मान्ने सुन्नी समुदायमा जुँगा काटेर दाह्री पाल्ने चलन छ । सिख धर्ममा दाह्रीलाई पुरुषको इज्जत र प्रतिष्ठाको रूपमा हेरिन्छ । दाह्री र कपाल काट्नु भगवान्को देनको अपमान गर्नुजस्तै भएको उनीहरूको बुझाइ हुन्छ ।
धर्मले जे भने पनि मानिसको समूह, पेसा, समाजअनुसार दाह्री काट्ने वा पाल्ने चलन छ ।