चुनावबारे बेखबर युवा
आँगनीमै छ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन। विभिन्न पार्टीका झन्डाहरू जताततै फहराइरहेका छन्। गाउँघरमा नेताहरू दुई हात जोड्दै घरदैलोेमा छन्। उम्मेदवारहरूले कतैकतै त कामै सघाइदिएको सुनिन्छ। कसले जित्ला र कसले हार्ला, बहुमत आउला कि नआउला, को कहाँ कमजोर छ, को खराब, को सही छ जस्ता विषयमा केन्द्रित रहेर मतदाताहरू अड्कलबाजी गरिरहेका छन्।
यस्तो चुनावी माहोलमा कोही मान्छे नजिकिँदै गरेको निर्वाचनबारे चासो नदिई बस्न सक्ला त ? तर मनोज कार्की (२१) भन्छन्, ‘मलाई त निर्वाचन नै कहिले हो भन्ने पनि थाहा छैन। आउँदैछ रे भन्नेचाहिँ सुनेको छु।’
धादिङ घर भएका र हाल स्वयम्भू बस्दै आएका कार्कीलाई आउँदै गरेको निर्वाचनको बारेमा खासै चासो छैन। कति गते हुँदैछ, पहिला केको निर्वाचन हुने, दोस्रोपटक केको हुने भन्ने बारेमा उनी पूर्ण बेखबर छन्। कोठामा टीभी, रेडियो पनि नभएको र पत्रपत्रिका पनि पढ्ने बानी नभएकाले यस्ता खबरहरूबाट बेखबर हुनु परेको बताउँछन् उनी। स्थानीय निकायको चुनाव भएको भने उनलाई प्रस्टै थाहा छ। त्यसभन्दा अघिका निर्वाचन भयो÷भएन भन्ने कुराको उनलाई भेउ छैन। जसले जितेर आए पनि देशलाई खासै फरक नपर्ने भएकाले यतातिर चाख नदिएको बताउँछन् उनी।
कार्कीलाई पनि लाग्छ, ‘असल मान्छे चुनिएर नेतृत्वमा पुग्नुपर्छ।’ तर यसपालिको चुनावमा भोट हाल्न गाउँ जाने विचारमा छैनन् उनी। भोटर लिस्टमा आफ्नो नाम छ कि छैन पनि उनलाई थाहा छैन। ‘भोट हाले पनि उही हो, नहाले पनि उही’, उनले भने, ‘यत्रा मान्छेले वर्षौंदेखि भोट हाल्दै आएका छन् त, देश किन नबनेको ? ’
सामाजिक सञ्जालदेखि भेटघाटसम्म धेरैको गफ चुनावमै केन्द्रित भएको समय हो यो। रेडियो, टीभी, पत्रपत्रिकाले हरेक दिन को हार्ने, को जित्नेदेखि चुनावी आचारसंहितालाई लिएर समाचार बनाइरहेका छन्। यस्तो बेला थोरै मान्छेहरू मात्रै यसलाई वास्तै नगरी आफ्नै बाटोमा हिँडिरहेका हुन्छन्। त्यसैमध्येका एक प्रतिनिधि हुन् कार्की। आफ्नो दैनिक जिन्दगीमा चुनावले खासै फरक नपार्ने बताउँछन् उनी। त्यसैले त चुपचाप छन्, उनी।
आउँदो चुनावप्रति बेमतलबी अर्का पात्र हुन्, प्रकाश लम्साल (१९)। चुनाव आओस्, जाओस् उनलाई खासै वास्ता छैन। नुवाकोट घर भएका र अहिले बानेश्वर बस्दै आएका उनलाई गएको स्थानीय निर्वाचनको बारेमा चाहिँ राम्रैसँग थाहा छ। त्यति बेला उनी गाउँ पुगेका थिए। ‘गाउँमा भए चहलपहल हुन्थ्यो। नेताहरू पनि घरघरमै आइपुग्थे’, उनले भने, ‘अब यो सहरमा चुनावको चहलपहल देख्दिनँ म। नदेखिएपछि वास्ता पनि नहुने।’ दैनिक रूपमा राजनीतिसँग नजोडिएपछि यस सम्बन्धमा जानकार पनि नभइने उनको विचार छ। उनलाई राजनीतिप्रति कहिल्यै चासो भएन।
भन्छन्, ‘कसैले चुनाव कहिले हो भनेर सोधे भने बेइज्जत हुन्छ। केही थाहा छैन।’ यस्ता विषयमा जानकारी राख्नुपर्ने भए पनि आफूले चासो नगरेको बताउँछन् उनी। आजसम्म उनले भोट पनि हालेका छैनन्। यो चुनावमा घर जाने उनको कुनै योजना पनि छैन। भन्छन्, ‘यतै बसिन्छ, चुनाव आओस् कि जाओस्।’
चुनावको बेला सबै साथीभाइसँग गाउँघरमा भेट हुने भएकाले कहिलेकाहीँ त उनलाई एकदुई दिनका लागि घर जाँदा पनि ठिकै हुने हो जस्तो लाग्छ। घर नै गएपछि भोट हाल्न पनि पाइने, भेटघाट पनि हुने। जाऊँ कि नजाऊँ भन्ने दोसाँधमा छन् उनी। आफ्नै क्षेत्रमा उम्मेदवार को को उठेको छ भन्ने कुरा पनि उनलाई थाहा छैन। भन्छन्, ‘थाहा पाएर के गर्नु छ र ? जो उठे पनि विकासका काम गर्ने होइनन्।’
एकातिर चुनावी प्रचारमा लाग्ने र चुनावमै उठ्ने नयाँ पुस्ता सतहमा देखिँदा अर्कोतिर यसप्रति वास्ता नगर्नेहरू पनि उत्तिकै छन्। राजनीतिप्रतिको वितृष्णाले धेरैलाई आउँदै गरेको निर्वाचनले पनि खासै प्रभाव पार्न सकेको छैन। नेताहरू गाउँ जानु, मतदातालाई सपना देखाउनु, चुनाव जितेपछि फेरि गाउँ नफर्किने नेताहरूको चरित्रले उनीहरूप्रति वितृष्णा जगाएको छ। कार्की भन्छन्, ‘राम्रा मान्छेहरू उठे पो भोट दिन पनि जाऊँजाऊँ जस्तो लाग्छ। कामै केही गर्दैनन्।’
निर्वाचनप्रति मतलब नराख्नेमा अर्कोएक नाम पनि थपिन्छ, उद्धव खड्का (२७) को। नुवाकोटका खड्कालाई पनि निर्वाचन सम्बन्धमा खासै चासो छैन। भन्छन्, ‘घरमा बुवाआमा हुनुहुन्छ। उहाँहरूले नै भोट दिनुहुन्छ।’ उनलाई मंसिर १० गते चुनाव हुँदैछ रे भन्नेचाहिँ थाहा छ। तर, केको चुनाव हुँदै छ भन्ने बुझेका छैनन्। ‘खै चुनाव पनि भ’को भई छ, अब के को चुनाव हुँदैछ भन्ने मलाई थाहा छैन’, खड्काले हाँस्दै भने।
आफ्ना प्रतिनिधिहरू छान्ने चुनावका बारेमा थाहा पाउनुपर्ने खड्काको पनि सोच हो। तर, आफ्नै काममा व्यस्त भएपछि अरूतिर वास्ता नहुने रहेछ। दिउँसो काममा जान्छन्, बेलुका पुरानो बानेश्वरस्थित कोठामा आउँछन्। न पत्रिका पढ्नु, न टीभी हेर्नु। भन्छन्, ‘समाचार हेरिरहे पो कहाँ के हुँदैछ थाहा पाउनु। कहिल्यै हेरिँदैन।’ बाहिरफेर चोकहरूमा कहिलेकाहीँ विभिन्न दलका झन्डा फहराएको देख्छन् र सोच्छन्— साँच्चै चुनाव पो आइसकेछ।
थापा, लम्साल र खड्काजस्ता धेरै युवालाई यस चुनावले छोएको छैन। उनीहरू चुनाव आउँदैछ भन्ने कुरा त थाहा पाउँछन् तर त्यसबाट कुनै आशा राख्दैनन्।