बाबुराम र नारायणकाजीको भिडन्तले : नमुना बन्न सकेन गोरखा-२

बाबुराम र नारायणकाजीको भिडन्तले : नमुना बन्न सकेन गोरखा-२

गोरखा : पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्री चुनाव लडेर चर्चित बनेको गोरखा-२ को चुनावी गतिविधि सकारात्मक सन्देश दिने खालको बन्न नसकेको गुनासो गरिएको छ। यो क्षेत्रमा पूर्वसहयोद्धा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्।

राष्ट्रिय स्तरका दुई ठूला नेताले प्रतिस्पर्धा गरेकाले अरू जिल्लाका लागि र दोस्रो चरणको चुनावका लागि समेत प्रेरणादायी बन्ने आशा गरिए पनि त्यस्तो हुन नसकेको स्वतन्त्र टिप्पणीकर्ताको विश्लेषण छ।

‘दुवै प्रतिष्ठित व्यक्तित्व हुन्। त्यसमा पनि दुवै सादगी खालका नेता थिए। भड्किलो प्रचारशैली हुन्न होला भन्ने पूर्वअनुमान थियो', नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष स्थानेश्वर दुवाडी भन्छन्, ‘तर एक महिनाको प्रचारशैली निकै भड्किलो देखियो।'

प्रतिस्पर्धा स्वस्थ नभएको उनको विश्लेषण छ। ‘एकअर्काबीच आरोप÷प्रत्यारोप बढी नै भयो। एउटाले अर्काको सकेसम्मको कटाक्ष गरेको देखियो', उनले भने, ‘प्रचार टोलीका कार्यकर्ता नियन्त्रणमा देखिएन। कुटपिटका घटना पनि भए।'

कडा प्रतिस्पर्धा र दुवैका लागि जित्नै पर्ने अवस्था रहेकाले शक्ति प्रदर्शनको क्रममा जघन्य घटना हुन सक्ने पूर्वअनुमान पनि गरिएको थियो। तर, त्यस्तो अप्रिय घटना भने नभएको केही विश्लेषक बताउँछन्।

अन्य जिल्लालाई सन्देश दिने खालको प्रचारशैली नपाइएको प्याब्सन गोरखाका अध्यक्ष सीताराम तिवारीको टिप्पणी छ। ‘जित हार त एक ठाउँमा छँदै छ तर बाबुराम र नारायणकाजीको जस्तो प्रचारशैली भनेर अरू जिल्लामा सन्देश दिने खालको केही पनि पाइएन', तिवारीले भने, ‘एउटाले जुन ठाउँमा ठूलो सभा गर्‍यो, अर्कोले पनि त्यही ठाउँमा गर्नुपर्ने, एउटाले जसरी गाली गरे अरूले त्यसरी नै जवाफ फर्काउनुपर्ने देखियो। एउटाले जहाँ झन्डा राख्यो अर्कोले त्यहीँ राख्नुपर्ने, तुल, ब्यानर, पम्प्लेट, फ्लेक्स जहाँ राख्यो अर्कोले त्यहीँ र त्यही साइजको राख्नुपर्ने हास्यास्पद दृश्य देखियो।'

उनीहरूलाई भोट माग्न आएका प्रचण्ड, केपी वलीजस्ता पूर्वप्रधानमन्त्रीले पनि घटिया शब्दमा सत्तोसराप गर्नु दुःखद रहेको उनले बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको गोरखा २ को चुनावी गतिविधि सकारात्मक सन्देश दिने खालको नभएको विश्वशान्ति युवा संघ नेपालका अध्यक्ष प्रकाशबाबु थापा तर्क गर्छन्।

‘प्रचारमा हिँडेका युवा कार्यकर्ताको गतिविधि हेर्दा लड्न, भिड्न हिँडेजस्तो देखिन्छ। चुनावी प्रतिस्पर्धा भन्दा पनि जसको शक्ति उसको भक्ति भनेझै‌ शक्ति प्रदर्शनमा हिँडेजस्तो पनि देखियो', उनले भने, ‘यति धेरै मान-प्रतिष्ठा कमाएका नेता चुनावको मौका छोपेर पुरानो अन्तरसंघर्षको रिसइबी पोखेजस्तो देखिन्छ। जुन किसिमको रणनीति अपनाउनुपर्ने थियो त्यस्तो कत्ति पनि देखिएन।'

चुनाव प्रचारप्रसारमा राजनीतिक व्यक्तित्वभन्दा पनि लडाकुदस्ता मात्र लिएर शक्तिप्रदर्शन गर्न हिँडेजस्तो देखिएको अर्का मेघबहादुर मास्केको भनाइ छ। ‘लामो समयदेखि राजनीतिमा लागेका पुराना, त्यागी, समर्पित नेताभन्दा पनि युवा लडाकु मात्र लिएर हिँडेको देखियो', मास्के भन्छन्, ‘गठबन्धन भनिसकेपछि त मिलेका पार्टीका प्रतिष्ठित नेता लिएर हिँड्नुपर्ने, आ-आफ्नो पार्टीका युवा मात्र हिँडेका छन्। यसले स्वस्थ तालमेल पनि देखिएन।'

दुवै हाई प्रोफाइलले आ-आफ्नो ‘हेभीवेट' को ख्याल नगरी अस्वस्थ प्रतिस्पर्धा गरेर आचारसंहिता उल्लंघन गरेर आलोचना खेपेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.