काष्ठमण्डपमा देवानन्द : मरुटोलमा दम मारो दम
झोछेँ ! अंग्रेजीमा 'फ्रिक स्ट्रिट' नामबाट परिचित हुन पुगेको काठमाडौं वसन्तपुरछेवैको एउटा पुरानो टोलको रैथाने नाम हो यो। एक जमाना थियो- यो पूरा टोल नै गाँजा, ह्यासिस, चरेस र हेरोइनको खुल्ला बजार हुने गर्थ्यो। यही कारण होला, तत्कालीन बलिउडमा रोमान्टिक हिरोका रूपमा चर्चित अभिनेता एवं निर्माता देव आनन्दले आफ्नो फिल्म 'हरे राम हरे कृष्ण'को कथालाई यहीँको पृष्ठमूमिमा केन्द्रित गरे।
'हरे राम हरे कृष्ण' काठमाडौंमा सुटिङ भएर अत्यन्त चर्चा कमाएको बलिउड फिल्म त थियो नै साथै यो तत्कालीन 'फ्रिक स्ट्रिट'लाई चित्रण गरिएको कथानक-डकुमेन्ट्री पनि हो। फ्रिक स्ट्रिट झोछेँको अनौठो वातावरण देखेर नै देव आनन्दले 'हरे राम हरे कृष्ण'को अधिकांश आउटडोर सुटिङ काठमाडौंमा सकाएको अनुमान गर्न सकिन्छ।
सन् १९७०-७१ तिरको समय हुनुपर्छ त्यो, जुनबेला 'फ्रिक स्ट्रिट' विश्वप्रख्यात भइरहेको थियो। विश्वभरि फैलिएका हिप्पीवादीहरूको मक्का-मदिना पनि फ्रिक स्ट्रिट नै थियो, त्यतिबेला। फ्रिक स्ट्रिटका गल्ली-गल्लीमा विभिन्न नाम र मार्काका ह्यासिस, चरेस, गाँजा र हेरोइनको खुल्ला बजार थियो। 'यहाँ राम्रो ह्यासिस पाइन्छ,' लेखिएको साइनबोर्ड नै झुन्ड्याएर ह्यासिस बेचबिखन हुने जमाना थियो त्यो। 'हरे राम हरे कृष्ण'को सुटिङ यही बेला सुरु भएको थियो। हामी पनि त्यो बेला 'फ्रिक स्ट्रिट' अर्थात् झोछेँ (ओमबहाल) टोलमै बस्थ्यौं। 'हरे राम हरे कृष्ण'को सुटिङ त मैले हेर्न पाएको थिइनँ, तर त्यसको चर्चा भने झोछेँ टोलमा धेरै पछिसम्म पनि चलिरहेको थियो जुन म अलिक ठूलो भइसक्दासम्म पनि जारी नै थियो।
उतिबेला काठमाडौं त्यति धेरै मानिस भएको नगर थिएन। तर, 'हरे राम हरे कृष्ण'को सुटिङ हेर्नेको भीड भने थामिनसक्नुको हुने गर्थ्यो। सुटिङ हेर्नेहरू अधिकांश काठमाडौंकै रैथाने र बाँकी विदेशी हिप्पी हुन्थे। फिल्मको सबैभन्दा लोकप्रिय गीत थियो, 'दम मारो दम....।' यसको सुटिङ काष्ठमण्डपभित्रै गरिएको थियो। २०७२ सालको महाभूकम्पमा काष्ठमण्डप पूरै ध्वस्त भयो। तर, 'दम मारो दम' गीतमा अहिले पनि काष्ठमण्डप देख्न सकिन्छ।
जाडोको मौसम थियो। त्यसमाथि राति सुटिङ हुन्थ्यो। तैपनि मानिसको भीड भने ठूलै हुन्थ्यो। काष्ठमण्डपको पूरै क्षेत्रलाई प्रहरीले घेरा हालेको हुन्थ्यो। मानिसहरू हेर्ने ठाउँ नभएर वसन्तपुरका मन्दिरहरूको छतमा समेत बसेर सुटिङ हेरिरहेका हुन्थे। एकपटक सुटिङ हेर्न आउने दर्शकमाथि लाठीचार्जसमेत भयो। रातको समयमा वसन्तपुरमा भागाभाग मच्चियो। स्थानीय समाजसेवी पवित्र वज्राचार्य आफू पनि सुटिङ हेर्न गएको तर भीड देखर त्यसै फर्केर आएको सुनाउँछन्।
सुटिङ वसन्तपुरलगायत स्वयम्भू, भक्तपुर, न्युरोड, बौद्ध आदि ठाउँमा पनि भएको थियो। काठमाडौंका केही फिल्म-प्रेमीहरू भक्तपुरसम्म सुटिङ हेर्न पुगेका थिए।
रात-बिरात सुटिङ हेर्न जानेमध्ये एकजना मेरा जेठा दाजु पनि थिए। झोछेँ ओमबहाल टोलमा हाम्रो होटेल पसल थियो। बेलुकी पसल बन्द गरिसकेपछि हामी सबैजना माथि कोठामा सुत्न जान्थ्यौं। दाजु तल पसलमा एक्लै सुत्ने गर्थे। हामी माथि कोठामा गइसकेपछि उनी ढोका खोलेर एक्लै वसन्तपुर पुग्ने रहेछन्। एकपटक त उनी दुई दिनसम्मै घरबाट गायब भए। पछि थाहा भयो- भक्तपुरमा सुटिङ हेरेर बोडे बस्ने साथीको घरमा सुत्न गएका रहेछन्।
फिल्मको मुख्य नायिका जिनत अमान भए पनि त्यतिबेला काठमाडौंमा मुमताजको क्रेज थियो। रोल सानै भए पनि फिल्ममा मुमताज नेपाली महिला पात्र भएर खेलेकी थिइन्। जिनत अमान नयाँ थिइन्। काठमाडौंको पाको (न्युरोड) मा सुटिङ चलिरहेको थियो। मुमताजलाई हेर्न यति ठूलो भीड लाग्यो, सम्हाल्नै मुस्किल पर्यो। त्यहीबेला केही स्थानीय युवाले ह्युमेन चेन बनाएर मुमताजलाई बचाउनुपरेको अनुभव सुनाउँछन् स्थानीय फिजिकल फिटनेस गुरु प्रेमकृष्ण शाही। 'ओहो, हिरोइनलाई त सबैजनाले छुन खोज्ने ! बचाउनै हम्मे परेको थियो', उनले सुनाए।
'हरे राम हरे कृष्ण'को सुटिङ हेर्नेको भीड थामिनसक्नुको हुन्थ्यो। सुटिङ हेर्नेहरू अधिकांश हिप्पी हुन्थे। फिल्मको सबैभन्दा लोकप्रिय गीत थियो, 'दम मारो दम....।' यसको सुटिङ काष्ठमण्डपभित्रै गरिएको थियो। २०७२ को महाभूकम्पमा काष्ठमण्डप ध्वस्त भयो। तर, 'दम मारो दम'मा अहिले पनि काष्ठमण्डप देख्न सकिन्छ।
भनिन्छ, एकपटक काठमाडौंमा कुनै हिन्दी सिनेमाको सुटिङ चलिरहेको बेला तत्कालीन बलिउड हिरोइन नन्दालाई दर्शकले यसरी नै छुने प्रयास गर्दा हिरो धर्मेन्द्रले नेपाली नागरिकमाथि हात हालेका थिए। त्यसै कारण नेपालभरि नै धर्मेन्द्रको फिल्ममाथि अघोषित प्रतिबन्ध लगाइएको थियो। अझै पनि धर्मेन्द्रको फिल्म काठमाडौंका सिनेमा हलमा देखाउने गरिँदैन।
स्वयम्भूमा 'हरे राम हरे कृष्ण'को सुटिङ चलिरहँदा झोछेँकै स्थानीय गोविन्द पनि त्यहाँ पुगेका थिए। कसरी हो उनी सुटिङको लागि तयार भइरहेकी मुमताजसामु विस्तारै पुगेका रहेछन्। सँगै बसेकी मुमताजसामु आफूलाई पुड्को देखेर उनी छक्क परे। नेपाली पुरुषभन्दा पनि मुमताज अग्ली रहिछिन्।
फिल्ममा झोछेँकै केही स्थानीय युवाले पनि अनुहार देखाउने मौका पाएका थिए। तीमध्ये तुफानचा भन्ने एकजना थिए। टोलका हिरो नै थिए उनी। फिल्म 'खेले'पछि उनको क्रेज झनै बढ्यो। उनले धेरै समयसम्मै फिल्मको गफ दिइरहे।
सुटिङ सकिएको लामै समयपछि 'हरे राम हरे कृष्ण' काठमाडौंको हलमा पनि चल्यो। त्यतिबेला अहिलेजस्तो नेपाल र भारतमा एकैदिन फिल्म रिलिज हुने समय थिएन। भारतमा चलुन्जेल हिन्दी फिल्म नेपाल आउँदैनथ्यो। 'हरे राम हरे कृष्ण' सुरुमा जय नेपाल सिनेमा हलमा चलेको थियो। सायद नेपालमा सुटिङ भएकोले हो, हलमा भयंकर भीड भयो। जय नेपालले फिल्म निकालेको केही समयपछि पाटनको अशोक सिनेमा हलमा पनि यही फिल्म चल्यो। त्यतिबेला काठमाडौंमा एउटा हलले चलाएको फिल्म अर्को हलले चलाउने चलन थिएन। 'हरे राम हरे कृष्ण'ले त्यस्तो चलन पनि तोड्यो।
नेपालमा फिल्म चलेपछि हेर्ने दर्शक निकै चकित भए। सुटिङसमेत हेरेकाहरू त झनै आश्चर्यमा परे। किनभने, सुटिङमा उनीहरूले जे देखेका थिए, फिल्ममा त्यस्तो थिएन। सम्पादनको चमत्कार उनीहरूले बुझेका थिएनन्। स्वयम्भूबाट भागेको पात्र भक्तपुरबाट निस्केको देख्दा उनीहरू दंग परे। त्यतिबेला न्युरोडको पाकोमा एउटा बुटिक पनि थियो। देव आनन्द स्वयम् उक्त बुटिकमा आई सुटिङ गरेका थिए। तर, फिल्ममा भने त्यो दृश्य नै थिएन।
म पनि आमा, सानीआमासँग फिल्म हेर्न सिनेमा हल गएको थिएँ। त्यतिबेला हेरेको फिल्मका धेरै दृश्य अहिले उति सम्झनामा छैनन्। त्यसमा एकजना पात्र थिए, खुट्टो छोटो भएका। उनी हिँड्दा गोडा खोच्याएर हिँड्ने गर्थे। उनी हिँडेको दृश्यलाई फिल्ममा विशेष फोकस गरिएको थियो। मेरो बालमस्तिष्कमा सबैभन्दा बढी गढेर बसेको दृश्य नै त्यही हो।
फिल्ममा त्यसरी खोच्याएर हिँड्ने पात्रको नाम माइकल थियो। त्यो दृश्यले मलाई मात्र होइन, अरू पनि धेरैलाई प्रभाव पारेको रहेछ भन्ने मैले धेरैपछि थाहा पाएँ। काठमाडौंको एउटा कलेजमा अंग्रेजी पढाउने एकजना शिक्षक थिए। राम्रा पढाउने तर कडा मिजासका ! एउटा खुट्टा सानो भएकाले होला, अलि खोच्याएर हिँड्ने गर्थे। कलेजका विद्यार्थीले उनको 'निकनेम'नै माइकल राखिदिएका रहेछन्। भिलेनको निकनेम राखिएको भए पनि 'माइकल सर' स्वभावका भने धनी थिए।
हलमा फिल्म चलेपछि पहिले सुटिङ हेरेका दर्शकले आ-आफ्नो स्मरण फेरि 'रिपिट' गरे। कसैले देव आनन्दसँग हात मिलाएको कुरा गरे, कसैले जिनत अमानलाई नजिकबाटै देखेको धक्कु लगाए। धेरैले चाहिँ हिरोइनहरू साँच्चै देखेकोभन्दा फिल्ममा अझ राम्री पाएको टिप्पणी गरे। झोछेँ टोलको हरेकजसो घरमा 'हरे राम हरे कृष्ण' को चर्चा चल्ने गर्थ्यो।
फिल्म निर्माता देव आनन्द नेपालको राजपरिवारसँग पनि राम्रो सम्बन्ध भएका हस्ती हुन्। राजा महेन्द्र उनका साथी नै थिए। वास्तवमा वसन्तपुर, न्युरोडजस्तो ठाउँमा सुटिङ गर्न सक्नुको एउटा सजिलो कारण राजासँग उनको निकट सम्बन्ध नै थियो। सुटिङको लागि उनलाई प्रहरीको पूरै साथ थियो।
राजा महेन्द्रजस्तै देव आनन्दका अर्का एकजना मित्र पनि काठमाडौंमा थिए- रञ्जना हलका मालिक हरिकृष्ण श्रेष्ठ। हल मालिक भएकाले पनि होला, हरिकृष्णसँग देव आनन्दको राम्रो सम्बन्ध थियो। देव आनन्द काठमाडौं आउँदा सबैभन्दा पहिले झोछेँ टोलमै बस्ने हरिकृष्णको घरमा जाने गर्थे।
वसन्तपुरबाट आउँदा उनै हरिकृष्ण साउको घरमा पुग्न बाँकी रहँदै बीचमा पर्ने चौबाटोको कुनामा एउटा ठूलो घर छ, जसको एउटा भित्तोमा सबैले देख्ने गरी 'हरे राम हरे राम, राम राम हरे हरे, हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे' भन्ने श्लोक लेखिएको छ। अहिले त्यो पुरानो घरको ठाउँमा नयाँ घर बनाइएको छ। तर, श्लोक भने जस्ताको तस्तै राखिएको छ। पहिले हातैले लेखिएको उक्त श्लोक अहिले मार्बल अक्षरमा आएको छ। एकदिन हरिकृष्ण साउको घरमा जाँदा देव आनन्दको आँखा त्यही श्लोकमा ठोक्किन पुगेछ। उनले आफ्नो फिल्मको नाम 'हरे राम हरे कृष्ण' पनि त्यही श्लोकबाट जुराएका थिए भनिन्छ।
फिल्मी दुनियाँमा 'हरे राम हरे कृष्ण'को आफ्नै स्थान होला। तर, तत्कालीन नेपाली समाजमा भने यो फिल्मले ठूलै छाप पारेको अनुभव सुनाउँछन् स्थानीय निवासी प्रकाश शाही। कुनैबेला प्रकाश शाही आफैं पनि केही समयसम्म फ्रिक स्ट्रिटको नशालु दुनियाँमा डुबिसकेका थिए। मेरा माहिला दाजुजस्तै उनी पनि नशालु पदार्थका दुव्र्यसनी थिए। तर, समयमै बुझेर उनी त्यो नशाको संसारबाट बाहिर आउन सफल भए। मेरा दाजु भने संसारबाटै बिदा भए। 'हरे राम हरे कृष्ण' सुटिङ चलिरहँदा शाही १४ वर्षका थिए। उक्त फिल्मले तत्कालीन युवालाई नशालु पदार्थको नजिक हुन अझ सघाएको उनको अनुभव छ।
'नशा तान्ने कामलाई फिल्मले त फेसनै बनाइदियो नि', उनले सुनाए, 'खास गरी किशोर उमेरका केटाहरू फिल्मकै नक्कल गरी-गरीकन चिलिम तान्ने गर्थे।''फ्रिक स्ट्रिटमा नशालु पदार्थको व्यापार खुल्ला त थियो नै। हरे राम हरे कृष्णले त्यसलाई अझ व्यापक बनाइदियो,' उनको अनुभव छ।
त्यही कारणले पनि होला, त्यतिबेला झोछेँकै केही बुद्धिजीवीले 'हरे राम हरे कृष्ण' फिल्ममाथि प्रतिबन्ध लगाउनुपर्ने विचार पनि अघि सारेका थिए। खासगरी काष्ठमण्डपमै गाँजा तानेको दृश्यले उक्त स्थानको धार्मिक आस्थालाई आघात पुर्याएको तर्क पनि गरिन्थे।
तर, फिल्मले भारतमा भने नेपालको अत्यन्तै ठूलो प्रचार गरिदियो। फिल्म रिलिज भएपछि भारतका धेरै पर्यटकहरू नेपाल घुम्न आएका थिए। भारतीय पर्यटकलाई नेपालसम्म तान्न 'हरे राम हरे कृष्ण'ले धेरै ठूलो भूमिका खेलेको मानिन्छ। तथापि यो भारतीय बक्स अफिसमा त्यति सारो हिट भएको फिल्म भने थिएन।
फिल्मको सबैभन्दा चर्चित गीत थियो- दम मारो दम। काष्ठमण्डपमै सुटिङ गरिएको उक्त गीतमा कोहीले गाँजा तानिरहेको, कोही गाँजाले लट्ठ परिरहेको दृश्य देखाइएको थियो। फिल्म रिलिज भएपछि काठमाडौंमा त्यस गीत यति लोकप्रिय बन्यो कि झोछेँका स्थानीय युवाले नेपालभाषामा त्यसका प्यारोडीसमेत बनाएर गाउन थालेका थिए। प्यारोडी भने यस्तो खालको थियो -
दँ बाज्या दँ ऽऽ
कय्ता छपु फ्यँ ऽऽ...
हरे कृष्ण हरे राम !
अर्थात्
उठ बाजे उठ !
लंगौटी झिक !...
'हरे कृष्ण हरे राम !
सानोमा हामीलाई यसको खासै अर्थ त थाहा थिएन, तर हामी पनि मच्चीमच्ची त्यही प्यारोडी गाउँथ्यौं। केही वर्षअघि बजारमा आएको 'नेवाः बलिउड' नामक सीडीमा यही गीतलाई गायिका सपना श्रीले नेपालभाषामा गाएकी थिइन्। त्यसमा उनको 'फिलिङ्स' आशा भोंसले भन्दा कम्ता थिएन।
यस गीतमा संगीत भर्ने संगीतकार आरडी वर्मनको स्मरणमा कतै भनिएको छ, 'देव आनन्दले फिल्मको स्क्रिप्ट तयार गर्दा यो गीत राखिएको थिएन।' देव आनन्द 'देखो ओ दिवाने तुम यह काम ना करो, राम का नाम बदनाम ना करो' भन्ने गीत रेकर्ड गर्न आरडी बर्मन (उनलाई बलिउडमा 'पञ्चम' पनि भनिन्छ) को स्टुडियो पुगेका थिए। गीतको सिक्वेन्स सुनिसकेपछि बर्मनले भने, 'यो गीत आउनुअघिको दृश्य चाहिँ कस्तो थियो त ? त्यो पनि त राख्नुपर्यो नि।
त्यसपछि मात्रै 'देखो ओ दिवाने....' गीतको सार्थकता पुष्टि हुन्छ।' बर्मनसँग देव आनन्द कन्भिन्स भए। त्यसपछि बर्मनले 'दम मारो दम..' अघि सारे। बर्मनकै सुझावबमोजिम फिल्ममा 'दम मारो दम...' गीत थपिन पुग्यो जो पछि गएर पूरा फिल्मको प्रतिनिधि गीत त बन्यो बन्यो, काठमाडौंमा उम्लिरहेको हिप्पीवादको जीवन्त चित्र पनि साबित भइदियो।
'हरे राम हरे कृष्ण' मूलतः दम्पतीबीच सिर्जना हुने पारिवारिक द्वन्द्वले उनका छोराछोरीमा पर्ने नकारात्मक असरको कथामाथि बनाइएको फिल्म हो। आमा-बाबुबीच चल्ने झैंझगडाबाट टाढा हुन छोराछोरीहरू गृहत्याग गर्न पुग्छन् र त्यो त्यागको फल नशालु पदार्थको सेवनमा पुगेर प्राप्त गर्छन् भन्ने सन्देश नै उक्त फिल्मको 'टु लाइन स्टोरी' थियो। नेपाली समाजको हकमा पनि त्यो लागू हुन्छ। फिल्मको लागि 'फ्रिक स्ट्रिट' एउटा जीवित स्टुडियो नै बन्यो भन्दा फरक नपर्ला। देव आनन्दले फिल्म लेखिसकेपछि यो ठाउँ रोजेका हुन् वा यही ठाउँ देखेर फिल्म लेखेका हुन् भन्न गाह्रो छ।
त्यतिबेलाको फ्रिक स्ट्रिट हेर्न र त्यहाँ डुब्न हलिउडका पनि धेरै कलाकार आएका थिए। तर, झोछेँमा देव आनन्दको जति चर्चा उनीहरूको भएन। त्यतिबेला हलिउड झोछेँबाट धेरै 'टाढा' पनि थियो। उनीहरू फ्रिक स्ट्रिट बुझ्न आएका थिए भने देव आनन्द फ्रिक स्ट्रिट महसुस गर्न आएका थिए। 'हरे राम हरे कृष्ण'को सम्पूर्ण दृश्यमा फ्रिक स्ट्रिट त थिएन तर सम्पूर्ण फिल्म भने फ्रिक स्ट्रिटबाटै ओतप्रोत थियो। शायद त्यसैले हो, अहिले पनि 'हरे राम हरे कृष्ण'को प्रशंग चल्दा फ्रिक स्ट्रिटका पुराना स्थानीयवासी भनिहाल्छन्, 'ए, त्यो हाम्रो मरु टोलमा सुटिङ भएको फिल्म !'