युवालार्इ जन्माउन नचाहने अन्धो पुस्ता

युवालार्इ जन्माउन नचाहने अन्धो पुस्ता

देशको धरती जति बाँझो छ, त्योभन्दा बढी मान्छेको मस्तिष्क बाँझो छ।मान्छे हो कि मस्तिष्क हो, युवा ? के हो युवा ? उमेर हो कि ! यौवन हो कि ! यौन हो, युवा !भनाइ छ, युवा पलायन भए। अरब गए। मलेसिया गए। अमेरिका, अस्ट्रेलिया, युरोप र क्यानडा गए। युवा सकिए, देश रित्तियो। तर, युवा कहीँ गएका छैनन्। फेरि पनि युवाविहीन छ, देश। खै युवा ?

Shiva-Prakash_1युवाको परिचयलाई हामीले यौनसँग जोडेका छौं। जब मानिसमा यौनिक विकास हुन्छ, तव युवा वा युवती भन्ने गरिन्छ। जब शरीरमा यौनको, कामको, इच्छाको जरो चढ्न थाल्छ तब मानिसले आफूलाई युवा र युवती सम्झन्छ। यौनको आक्रोशलाई युवा-युवतीको जोस भनिन्छ। युवालाई बुझ्ने पहिलो अर्थ भएको छ, यौन।

युवा शब्दलाई लिंगसँग जोडेर पनि बुझ्ने गरिएको छ तर युनिसेक्स शब्द हो, युवा। किन युवाविहीन छ, देश ? किनभने देशमा युवा जन्मिएकै छैनन्। जन्मँदै धेरैजसो बूढा जन्मिए। जो बूढा जन्मिए, ती कहिल्यै युवा भएनन्। जीवनभर बूढा भए, बूढा भएरै मरे। ती बूढाले जीवनभर एउटै काम गरे, ती सधैं बाँच्नका लागि मात्र बाँचे।

बाँकी, जो बालख जन्मिए ती पनि जीवनभर बालखै रहे। ती बालख, बालसुलभता, चञ्चलता, उत्सुकता, चेतनाबिनाको बालख। आँखा भएको तर दृष्टि नभएको बालख। टाउको भएको तर चेतना नभएको बालख। शरीर पूर्णरूपले स्वस्थ तर मस्तिष्क पूर्णरूपले अस्वस्थ बालख। जीवनभर अरूमाथि निर्भर भएर बाँच्ने बालख। सधैं अरूका आँखाले हेरेर आफूलाई कहिल्यै नेदेख्ने बालख। सधैं अरूको मस्तिष्कले सोचेर आफ्नो मस्तिष्क भर्ने बालख। हो-होइन, छुट्याउन नसक्ने बालख। किन-कसरी भनेर प्रश्न गर्न नसक्ने बालख। सधैं बालखै भएर मर्ने बालख।

युवा जन्मिएकै छैनन्, त्यसैले देशमा युवा छैनन्। जो छन्, ती सबै जीवनभर बूढा र बालख भएरै मर्ने मात्र छन्। जो पलायन भए ती पनि कि बूढा थिए, कि बालख थिए तर युवा थिएनन्। देश, सिधैं रित्तो छ। देश, सधैं युवाविहीन छ।

देशमा एउटा पुस्ता छ, जुन पुस्ता युवा जन्माउन चाहँदैन। मानिसलाई युवा बनाउन चाहँदैन। त्यो त्यही पुस्ता हो, जुन जन्मँदै कि त बूढो भएर जन्मिन्छ, कि त जीवनभर बालख भएर मर्छ।

किन जन्मिँदैनन् मेरो देशमा युवा ? के यो प्रश्नले कसैको मन बिथोलेको छ ? जब प्रश्नहरूले मन बिथोल्छन् तब प्रश्नहरू मनमनै मनमैथुन गर्छन्। उत्तर तिनै प्रश्नले जन्माउँछ।देशमा एउटा पुस्ता छ, जुन पुस्ता युवा जन्माउन चाहँदैन। मानिसलाई युवा बनाउन चाहँदैन। त्यो त्यही पुस्ता हो, जुन जन्मँदै कि त बूढो भएर जन्मिन्छ, कि त जीवनभर बालख भएर मर्छ।

बाँच्नका लागि मात्र बाँचेको त्यो पुस्ता डरपोक छ, कायर छ। उभयमुखी छ। जसले बाँच्नुको अर्थ सास फेर्नुमात्र हो भन्ने बुझेको छ। बाँच्नुको अर्थ सास फेर्नुमात्र हैन, साहसपूर्वक उभिनु हो। तर उभिन सक्दैन, त्यो। आउँदो पिँढी पनि आफूजस्तै डरपोक, कायर र उभयमुखी बनोस् भन्ने चाहन्छ, त्यो दुष्ट पुस्ता।

देशमा युवा जन्मिए आफ्नो वैयक्तिक सत्ता हल्लिने डर छ, त्यो दुष्ट पुस्तालाई। सामाजिक र राजनीतिक सत्ता उल्टिने डर छ, त्यो कायर पुस्तालाई। आफूजस्तै एउटा बूढो र नालायक सन्तान जन्माउन चाहन्छ, त्यो उभयमुखी पुस्ता। आफूजस्तै एउटा चेतनाहीन, अधम र अयोग्य पिँढीलाई निरन्तरता दिन चाहन्छ, त्यो पुस्ता।

यो धरतीमा सबैभन्दा बढी पापी कोही छ भने त्यही दुष्ट पुस्ता छ। सबैभन्दा बढी कुकर्मी कोही छ भने त्यही अधम पुस्ता छ, जसले मानिसलाई युवा हुन दिँदैन। जसले मानिसको वृत्तिलाई फुल्न-फक्रन निषेध गरेर वृद्ध बनाएको छ।

त्यही नालायक पुस्ता देशको शासक बनेका छ, जो आफू उभिन सक्दैन। डन, माफिया र दलालका खुट्टामा उभिएको छ। बलात्कार, व्यभिचार र दुराचारको स्वामी बनेको छ, त्यो भ्रष्ट पुस्ता। भित्रभित्रै नष्ट भइसकेको त्यही भ्रष्ट पुस्ताले अर्को पुस्तालाई दास बनाएको छ। जुन पुस्ता दास बनेको छ, त्यसले आफूलाई युवा भन्छ। यही छ, सबैभन्दा डरलाग्दो भ्रम।

जो मान्छेका रूपमा उभिन सक्दैन, त्यो अरूको दास बन्छ। जो अरूको दास बन्छ, ऊ जीवनमा कहिल्यै युवा हुन सक्दैन। युवा भनेको वय हैन, विवेक हो। युवा भनेको शरीर हैन, चेतना हो। युवा भनेको उमेर हैन, मस्तिष्क हो।

त्यो दुष्ट पुस्तामा महात्मा, पण्डित र गुरुहरू छन्। धर्म, परम्परा र संस्कारका नाउँमा कुधर्म, कुपरम्परा र कुसंस्कार लादेर किशोरकिशोरीमा व्याप्त सम्भावनालाई नष्ट पारेका छन्। समाजमा विभेद र असहिष्णुता बढाएका छन्।

धार्मिक सत्ताका मालिक ती पण्डित, ती गुरु र ती महात्माहरू, जो अरू हिँडेको बाटोलाई नरकको बाटो भन्छन्। मृत्युपछिको स्वर्ग देखाएर जीवनभर झुटो बोल्छन्। आफू जीवनभर ठग्छन्, अरूलाई सत्यको पाठ पढाउँछन्। गीता ज्ञानले भन्छ- झुटो बोल्नु महापाप हो। आफूले महापाप गरेर अरूलाई गीता पढाउनु झन् ठूलो पाप हो।पण्डितको पाखण्ड ! कामलाई दुःख मान्छन्। भोगलाई पाप ठान्छन्। काम र भोगमा आफैं सधैं निर्लिप्त छन्। दुःखलाई पूर्वजन्मको फल मान्छन्। त्यही दुःखको डर देखाएर मानिसको शोषण गर्छन्। त्यही दुःखको व्यापार गर्छन्।

स्वर्गको स्वैरकाल्पनिक सिँढी देखाएर आफ्ना पाउमा ढोगाउँछन्। दक्षिणा भन्दै त्यही पाउमा लक्ष्मीको प्रतीक पैसा चढाउन लगाउँछन्। गुरु श्रद्धाका नाउँमा त्यही फोहोरी पाउमा देवीदेउताको प्रतीक फूल बर्साउन लगाउँछन्। त्यही पैसालाई पाप र धर्मको तराजु बनाउँछन्। ती सन्त, महन्त, महात्मा र पण्डित, जो चौबाटाको बनियाभन्दा सिपालु छन्, त्यो तराजु ढल्काउन।

अर्को जन्मको सुख देखाएर यो जन्मभर पाप गर्न उत्प्रेरित गर्ने पाखण्ड कसैले गरेको छ भने ती पण्डित, महात्मा र गुरुहरूले गरेका छन्।मृत्युपछि स्वर्गको स्वर्णिम द्वार ! ठगहरूको यो मन्त्रलाई हाम्रो लाटो, बहिरो र अन्धो समाजले स्वीकृत गरेको छ। तर, मान्छे यही धरतीमा उम्रिन्छ, यही धरतीमा बिलाउँछ। मरेपछि कुनै स्वर्ग छैन। जो जहाँ जिउँदो छ, जसले त्यसैलाई स्वर्ग बनाउँछ, त्यो युवा हो। जसले ती दुष्टहरूको विनाश गर्छ, त्यो युवा हो। जो वर्तमानमा बाँच्छ, त्यो युवा हो। जो नितान्त नैतिक बलमा विश्वास गर्छ, त्यो युवा हो।

त्यो दुष्ट पुस्तामा प्रशासक, प्राध्यापक र शिक्षकहरू छन्। जो जन्मिँदै बूढा भएका थिए। कहिल्यै युवा हुन नसकेका ती, तिनै दुष्ट नेता, महात्मा र पण्डितको चाकर गरेर बाँच्नका लागि बाँचेका छन्।
त्यो दुष्ट पुस्तामा हाम्रा बाबुआमा पनि छन्। जो सधैं तिनै व्यभिचारी नेता र दुष्टपण्डित-महात्माहरूको परिक्रमा गर्दै जीवन नष्ट गरिरहेका छन्। आज्ञाकारी छोरो र अनुशासित छोरी बनाएर आफ्ना सन्तानलाई पछाडि दौडाउन चाहन्छन्। अन्ततः आफ्ना सन्तानलाई पनि आफूजस्तै नालायक बनाउँछन्। दुष्ट हुन् ती बाबुआमा, जसले आफ्नै सन्तानलाई आज्ञाकारी बनाएर जन्मँदै बूढो बनाउँछन्। जीवनभर बूढो बनाएरै मार्छन्।

आज्ञाकारी त्यो हुन्छ, जो कायर हुन्छ। कायर त्यो हुन्छ, जसले आफूलाई कहिल्यै चिनेको हुँदैन। जसले आफूलाई कहिल्यै चिनेको हुँदैन, त्यो सधैं बूढो भएर बाँचेको हुन्छ। सधैं बूढो त्यही हुन्छ, जसमा युवा भएर बाँच्ने साहस कहिल्यै पलाउँदैन।

आफूले केही नबुझी अरूलाई सबै सिकाउँछ, त्यही दुष्ट पुस्ता। मालिक बनेको छ, त्यो- घरको, समाजको, मठमन्दिरको, देशको। मानिसलाई मालिक बनाउने मानिसले नै हो। जब एउटा मानिस नोकर बन्न तयार हुन्छ, ऊजस्तै अर्को मानिस मालिक बन्छ। नोकर बन्न त्यही तयार हुन्छ, जो आफ्नो मालिक आफू बन्न सक्दैन।

युवा हौ भने तिमी, प्रश्न गर ती मालिकमाथि। ती दुष्ट नेतामाथि। ती गुरु, पण्डित र महात्मामाथि। आफ्ना बाबुआमामाथि। गुण र दोषको पारख प्रश्नले गर्छ। जो प्रश्न गर्न सक्दैन, त्यसले गुण र दोष कहिल्यै केलाउन सक्दैन। जो गुण र दोष केलाउन सक्दैन, त्यसले ठीक र बेठीक कहिल्यै छुट्याउन सक्दैन। जो ठीक-बेठीक छुट्याउन सक्दैन, त्यो कहिल्यै युवा हँदैन, सधैं बूढो हुन्छ। नोकर हुन्छ। दास हुन्छ।

प्रश्न गर, उत्तर खोज, दुविधा हटाऊ। दुविधाले डर उत्पन्न गर्छ। त्यही डरले तिमीलाई कसैको नोकर बनाउँछ। कसैको दास बनाउँछ। कसैको पुजारी बनाउँछ। ईश्वर, स्वर्ग, नर्क, पाप, धर्म, पुण्य सबै पाखण्डीका औजार हुन्। जसले दुविधा उत्पन्न गर्छ। ती दुष्टले त्यही औजार प्रयोग गरेर तिमीलाई डर देखाएका छन्। त्यही डरको व्यापार गरेर तिमीलाई बूढो बनाएका छन्।

युवा हौ भने तिमी, कसैका बाउको बिर्ता बनाउन नदेऊ आफ्नो मस्तिष्क। आफ्नै बाबुआमालाई पनि अवज्ञा गर। जसले तिमीलाई सधैं उनीहरूजस्तै बूढो र नालायक बनाउन चाहन्छन्।नगर कसैको आदेशको पालन। अरूको आदेशको पालन त्यसले गर्छ, जो आफ्नो मनको आदेश पालन गर्न सक्दैन। ईश्वर मृत्युको घोषणा गर्ने फेडरिच नित्से भन्छन्, 'स्वेच्छाले अपनाएको अनुशासनले मानवलाई क्षमतावान् बनाउँछ।'

विडम्बना ! जो आफूलाई युवा भन्छ, त्यसलाई थाहा छैन युवा के हो ? शक्तिशाली भ्रमको सिकार भएको छ, अहिलेको जवान पुस्ता। जुन पुस्ता उमेरले वयस्क छ तर विचारले बूढो छ। क्षमताले भकुण्डोजस्तो छ, अरूले उफार्दा उफ्रिन्छ।

उमेरले मानिसलाई बालख र वृद्ध बनाउँछ तर युवा बनाउँदैन। युवा त्यही हुन्छ, जो कर्मले घडीजस्तो चलिरहन्छ। विचारले नदीजस्तो निरन्तर बगिरहन्छ। चेतनाले घामजस्तो सधैं झुल्किरहन्छ। उद्देश्यले आकाशजस्तो अग्लो हुन्छ। जसमा सागरको गहिराइजस्तो दृष्टि हुन्छ।
उमेर हैन, कर्म हो- युवा। चेतना हो- युवा। विचार हो- युवा। उद्देश्य हो- युवा। दृष्टि हो- युवा। विचारक ओशो भन्छन्, 'तिम्रो उमेर २५ को छ। त्यसैले तिमी युवा हौ, यो भ्रममा नपर।'
शरीरको विकास हैन, चेतनाको विकास हो, युवा। उमेरले हैन, विचारले जो यौवन हुन्छ त्यो हो, युवा।

उमेरले जवानीको रंग चढाउँछ तर जीवनको रंग फरक हुन्छ। जवानीको रंगमा माद र उन्मादको भद्दा लेपनमात्र हुन्छ। जीवनको रंगमा नवीन चेतनाको गाढा मि श्रण हुन्छ। युवा भनेको नवीनता, गतिशीलता, जागरुकता हो।युवा त्यो हो, जो ती दुष्ट नेता, बूढा महात्मा, पण्डित, पुजारी, गुरु र नालायक बाबुआमाको पछि लाग्दैन। युवा त्यो हो, जो बूढाहरूलाई पछि लगाएर हिँड्छ्। युवा त्यो हो, जो बूढाहरूलाई युवा बनाउँछ।

विवेकहीनताभन्दा ठूलो बुढ्यौली केही हुँदैन। युवा भनेको विवेकशीलता हो। युवा भनेको परिवर्तन हो। जो परिवर्तनका लागि आफू परिवर्तन हुन्छ। जसले परिवर्तन ल्याउँछ, त्यो युवा हो।
उमेर हैन, प्रतिभा हो युवा। उमेरले मानिसलाई एकपटक यौवन बनाउँछ तर युवा बनाउँदैन। यदि मानिसले एकपटक आफूलाई युवा बनायो भने उमेरभर ऊ यौवन हुन्छ। सकेन भने त्यो प्रतिभा आफ्नै लागि विनाशक हुन्छ। जसरी अहिले भएको छ।

त्यो प्रतिभा त्यहीसँग हुन्छ, जसले आफूलाई खोज्छ, जसले आफूलाई भेट्छ र जसले आफूलाई चिन्छ। पाब्लो पिकासो भन्छन्, 'युवा हुन धेरै समय लाग्छ तर युवाको कुनै उमेर हुँदैन।'
अरूलाई चिन्न आँखा खोलेर हेर्नुपर्छ। आफूलाई चिन्न आँखा चिम्लेर हेर्नुपर्छ। अरूको मनको कुरा बुझ्न मौखिक संवाद गर्नुपर्छ। आफ्नो मनको कुरा बुझ्न आफैंसँग मौन संवाद गर्नुपर्छ। बुद्धले ६ वर्ष आँखा चिम्लेर आफैंलाई हेरे। ६ वर्ष आफैंसँग मौन संवाद गरे।

त्यसैले कहिल्यै बूढा भएनन्, बुद्ध। बुद्धले त्यही सत्यको खोजी गरे, जसले उनलाई कहिल्यै बूढो बनाएन। बुद्धले आफैंलाई सयौं प्रश्न गरेँ। ती प्रश्नसँगै आफूलाई नयाँ बाटोमा हिँडाए। आफ्ना आँखाले हेरे। आफ्नो मस्तिष्कले सोचे। आफूभित्र आफैंलाई खोजे। अन्ततः आफूलाई भेटे। त्यो सत्य त्यही हो, जसले सिद्धार्थलाई बुद्धसँग भेटायो। त्यही सत्यले सिद्धार्थलाई बुद्ध बनायो।
बुद्ध अर्थात् चेतना ! बुद्धत्व अर्थात् जागरण ! बुद्ध र बुद्धत्व भगवान् र धर्म हैन, मानिसलाई चेतन र जागृत राख्ने अवस्था हो। आफू भएर बाँच्न सिकाउने अभ्यास हो।
चेतना र जागरणले नै मानिसलाई युवा बनाउँछ। चेतनाको घाम हुन्, बुद्ध। त्यही चेतनारूपी घामले आज जागरणको प्रकाश छरिरहेको छ।

बुद्धभन्दा अगाडि पनि युवाहरू जन्मेका थिए। प्लेटो, चार्वाक र महावीरहरू यो धरतीमा नयाँ घाम भएर उदाए। बुद्धपछि चाणक्य, भोल्टेयर, स्वामी विवेकानन्द, जे. कृष्णमूर्ति र ओशोहरू चेतनाको अर्को घाम भएर उदाए। यो धरतीलाई जागरणको प्रकाश दिए।
युवा त्यो हो, जसले यो धरतीमा पोतिएको अँध्यारोलाई अलिकति भए पनि प्रकाश दिन्छ। युवा त्यो हो, जो अँध्यारोभित्र अँध्यारोमा हराउँदैन। अँध्यारोलाई सरापेर बस्दैन। अँध्यारो विरुद्ध उज्यालो बनेर उभिन्छ।

भ्रममा छ, वयस्क पुस्ता। मकैका झुसजस्ता दाह्रीजुँगा पलाएपछि आफूलाई युवा ठान्छ। त्यस्तै दाह्रीजुँगा जोगीका पनि हुन्छन्। निराशाका उपासकहरू जोगी बन्छन्। जोगी हुनु मुक्ति हैन, अयोग्यता हो। डरपोकहरू युवा हुन सक्दैनन्। कि दास हुन्छन्, कि जोगी हुन्छन्। युवा भनेको साहस हो, आस हो, आफैंमाथिको विश्वास र भरोसा हो।

हो, युवा देशमा छैनन्। किनभने युवा जन्मिएकै छ्रैनन्। बूढा जन्मिएर बूढा मर्ने देशमा युवा हँदैनन्। देशमा युवा जन्मिएका भए डा. गोविन्द केसीले १३ पटक अनशन बस्नु पर्दैनथ्यो। देशका मालिक बनेका दुष्ट शासकविरुद्ध भोकभोकै १६० दिन लड्नुपर्ने थिएन। कसका लागि लडेका छन् उनी ? खै युवा ?

देशको पीडा सहन सकेनन् डा.केसीले। पीडा सहेर बस्नु युवा हैन, बूढो हुनु हो। दुःख दुश्मन हो। जो कमजोर छ, जो बूढो छ, त्यसैले सहन्छ दुःख। जो दुश्मनसँग लड्छ, त्यो युवा हो। युवा हुन्, डा. गोविन्द केसी। जे कृष्णमूर्तिले मानिसलाई युवा हुन सिकाए। मानसिक क्रान्तिको बाटो देखाए। मानसिक क्रान्तिको उपज हो, चेतना। चेनता नै मस्तिष्कको प्राण हो। जुन मस्तिष्कमा चेतनारूपी प्राण हुन्छ, त्यो मस्तिष्क सधैं युवा हुन्छ।


अगाडि बढ्, समयले पछ्याउँछ। बढ्दै जाऊ, बुद्धिले बाटो देखाउँछ। साहस गर, भाग्यले पाउ चुम्छ। युवा त्यो हो, जसले बुद्धिलाई अगाडि लगाउँछ। समयलाई पछाडि हिँडाउँछ। भाग्यलाई झुकाउँछ।

विचारहरू चुहिनै पर्छ। जिब्रोबाट होस्, कलमबाट होस् वा कुचीबाट। विचार त्यो दियो हो, जसले जागरणको प्रकाश छर्छ। बुद्ध भन्छन्, 'अप्प दिपो भव।' आफ्नो दियो आफैं बन। युवा त्यही दियो हो, जो आफैं बल्छ। जो आफू बलेर अरूका लागि प्रकाश छर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.