संस्कृत काव्य सिद्धान्तको विवेचना
डा.तुलसीप्रसाद गौतमको हालै प्रकाशित 'संस्कृत काव्य सिद्धान्त' नामक पुस्तक पूर्वीय साहित्यिक चिन्तनको उत्खनन हो। तर अहिले एक्काइसौं शताब्दीको दोस्रो दशकमा पनि के ती साहित्यिक सिद्धान्तहरूको प्रयोजन छ ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। यो कुरा पनि सत्य हो कि ज्ञान अतीतबाट वर्तमान हुँदै भविष्यतर्फ मात्र बग्दैन कि भविष्यबाट वर्तमान हुँदै अतीततर्फ पनि बग्छ।
त्यसैले शताब्दीयौंअघि पूर्वीय विशेष गरेर भारत वर्षमा गरिएको साहित्यको चिन्तन र ज्ञानमीमांसा आजसम्म पनि जीवित छ र पठनपाठन भइरहेकै छ। यससम्बन्धी वाद, प्रतिवाद र संवाद गरिएका पुस्तकहरू प्रकाशित भइराखेका छन्। यस पुस्तकलाई यसै सन्दर्भमा लिनु बाञ्छनीय हुन्छ।
प्राचीनता भन्ने कुरा सबै समाजमा हुन्छ। मानव सभ्यताको विकास क्रममा ती समाजमा ज्ञान, विज्ञान र सौन्दर्यशास्त्रको आविष्कार हुन्छ। आज विश्वमा प्रभुत्वशाली र व्यापक बनेको पश्चिमी विशेष गरेर अंग्रेजी सभ्यतामात्रै आधुनिक र वैज्ञानिक हो कि भन्ने अन्धविश्वास छ। अंग्रेजी सभ्यता विश्वका धेरै सभ्यतामध्ये एक हो तर विशेषगरी औद्योगिक क्रान्तिसँगै बेलायतले सुरु गरेको उपनिवेशवादबाट यो भाषा र सभ्यता एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिका पुग्यो।
युरोपेलीकरणको अभियान चल्यो, जसले रैथाने र मौलिक स्थानीय सभ्यतामाथि आक्रमण गर्यो। धर्मको नाममा इसाईकरणको अभियान चालियो र पश्चिम प्रमुख अनि गैरपश्चिमचाहिँ गौण बन्यो। दोस्रो विश्वयुद्धपछि अमेरिकाले नेतृत्व गरेको विश्वमा यो अभियान झन् तीव्र बन्यो। आज पनि रैथाने र मौलिक सभ्यता, जस्तै- अरबी, संस्कृत, चिनियाँ र प्राचीन ग्रीकमा पाउन सकिन्छ। पश्चिमीकरणको तीन सय वर्षको यत्रो प्रचार र प्रभुत्वका बाबजुद पनि यी सभ्यताहरू जीवित र उच्च नै रहेका छन्।
पश्चिमलाई उत्कृष्ट र गैरपश्चिमलाई निकृष्ट ठान्ने प्रवृत्ति पनि यसका लागि जिम्मेवार छ। प्रस्तुत ग्रन्थको महत्व यस कारण छ कि यो विश्वकै सबैभन्दा प्राचीन र वैज्ञानिक भाषामा चिन्तन गरिएको काव्यशास्त्र हो। काव्यका विधिविधान र अनुशासनबारे पूर्व र पश्चिम दुवैतर्फ चिन्तन गरिएको छ तर प्रस्तुत पुस्तक विशेषगरी हिन्दू समाजको उद्गमस्थल भारत वर्षमा गरिएका विभिन्न चिन्तन प्रणालीहरूको विवेचना हो। ई.सं. १००-३०० का बीचमा भरतले गरेको नाट्य सिद्धान्तको चिन्तन र ग्रीकका अरस्तुको विरेचन सिद्धान्तमा समानताहरू पाइन्छन्।
अघि नै भनिएको छ कि ज्ञान वर्तमानबाट अतीततर्फ पनि जान्छ। अहिले समकालीन विश्वमा अत्यन्त द्रुतगतिमा विकसित न्युरोसाइन्स अर्थात् मस्तिष्क विज्ञानको आविष्कारले साहित्य र कलालाई नयाँ रूपमा हेरेको छ।
मस्तिष्कको संज्ञान क्षेत्रमा हुने बोधबाट उत्पन्न अनुभूति भरतकै रस सिद्धान्तसित मिल्दोजुल्दो छ। वक्रोक्ति सिद्धान्त त बीसौं शताब्दीमा रुसी रूपवादीहरूले विपरिचितीकरणको सिद्धान्त प्रतिपादन गरेपछि मात्र पश्चिमले थाहा पायो। त्यो कुरा संस्कृत काव्यशास्त्रमा कुन्तकले पहिल्यै आविष्कार गरिसकेका थिए। त्यस्तै अलंकार, रीति र ध्वनि सिद्धान्तको उत्तिकै महत्व छ। आज प्रचलनमा रहेको विनिर्माणवाद भाषा दर्शनको हिसाबले हजारौं वर्षअघि बौद्ध दार्शनिक नागार्जुन, अद्वैत वेदान्तका प्रणेता शंकराचार्य र भाषावैज्ञानिक भर्तृहरिले सोचिसकेका थिए। उनीहरू हाम्रा प्राचीन विनिर्माणवादका डेरिडाहरू हुन्। प्राचीन दर्शन र तत्वमीमांसा एकत्वको खोजी थियो, जहाँ अद्वैतसत्य अर्थात् परमसत्य ईश्वरलाई महत्व दिइएको थियो।
पश्चिमी भाषाविज्ञान संस्कृत भाषा र व्याकरणको अध्ययन अनुसन्धान पछिमात्र आधुनिक बनेको हो, जसमा पाणिनि व्याकरणको महत्वपूर्ण योगदान छ।
यसर्थ संस्कृत काव्य सिद्धान्तको पनि आत्मा र परमात्मासँग सम्बन्ध छ। देवत्व प्राप्तिका लागि मन्त्रोचारण र काव्य रचना गर्ने चलन त्यसबखत थियो। पाँच हजार वर्षको लेख्य इतिहास भएको वेदबाट आरम्भ हुने संस्कृत काव्यशास्त्र विभिन्न कालखण्डमा विभिन्न विद्वान्हरूबाट परिभाषित हँदै आएको हो। पछिबाट यो ज्ञान पश्चिमी संसारमा पनि पुग्यो। हामी जसरी पश्चिमबाट प्रभावित छौं, त्यसरी नै पूर्वबाट पनि पश्चिम प्रभावित छ।
पूर्वीय दर्शन र चिन्तनबाट प्रभावित हुनेहरूमा सोपेनहावर, टीएस इलियट, एल्डस हक्सले, जेम्स ज्वायस, थोमस मान, चिन्तक केन विलवर र विट कवि एलेन गिन्सवर्ग पनि हुन्। आज हिन्दु धर्म र दर्शनका विश्वप्रसिद्ध ज्ञाता विन्डी डोनिगर हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गरिरहेकी छिन्। पछिबाट सामाजिक, आर्थिक, ऐतिहासिक, रूपवादी, संरचनावादी, भाषावादी, विनिर्माण र मनोवैज्ञानिक रूपमा कला, साहित्यको अध्ययन गर्ने पद्धतिहरू विकसित भए। यसको अर्थ प्राचीनताको महत्व घटेको भन्ने होइन, अतीतको ज्ञानबाट नै हामी भविष्यतर्फ उन्मुख हुन्छौं भन्ने प्रमाणित हुन्छ।
पश्चिमी भाषाविज्ञान संस्कृृत भाषा र व्याकरणको अध्ययन अनुसन्धान पछिमात्र आधुनिक बनेको हो, जसमा पाणिनि व्याकरणको महत्वपूर्ण योगदान छ। मानवजातिले सिर्जनात्मक अभिव्यक्तिका लागि पहिलोपल्ट गुफामा रेखा कोर्यो, अनिमात्र सिर्जनात्मक बुद्धिको प्रयोग भयो। अहिले विज्ञान कृत्रिम मान्छेको निर्माणमा लागेको छ। जीवविज्ञानको सिद्धान्त अनुसार ब्याक्टेरियाबाट मानवको उत्पत्ति भयो। यो कुरा मान्ने हो भने अहिले हामीसँग स्टिफन हकिन्सजस्ता ब्रह्माण्डशास्त्रीको उत्कृष्ट मस्तिष्क पनि छ। यही मस्तिष्क विकास हुने क्रमकै रूपमा संस्कृत काव्यशास्त्र प्राचीन आर्य मनिषीहरूको उत्कृष्ट कलात्मक मस्तिष्कको उत्खनन हो भन्ने कुरामा दुईमत छैन। यस सन्दर्भमा पनि यस पुस्तकको महत्व छ।
पश्चिमबाट सिकौं, तर पूर्वलाई नबिर्सौं। दुवै ज्ञानको सम्मि श्रणबाट साहित्यको खेल खेलौं। यसर्थ यो पुस्तक कवि, लेखक र विद्वान् सबैका लागि उपयोगी हुनेछ।
लेखक : डा. तुलसीप्रसाद गौतम
प्रकाशक : विद्यार्थी पुस्तक भण्डार
पृष्ठ: १७५
मूल्य : ३००।-