'नेपालका प्रकाशकले पाठकलाई मूर्ख बनाइरहेका छन्'
हाङयुग अज्ञात नेपाली साहित्यमा पहिचानको डिस्कोर्सलाई स्थापित गर्ने बौद्धिक हुन्। उनी, राजन मुकारुङ र उपेन्द्र सुब्बा मिलेर चलाएको आन्दोलन 'सिर्जनशील अराजकता'ले पहिचान संकथनलाई मुद्दाको रूपमा स्थापित गर्यो। 'रंगीन आविष्कार', 'ढुंगामुढाको मन', 'कक्पिक', 'करङको हिरासत', 'होङकोङ' जस्ता प्रयोगशील र दार्शनिक चेतयुक्त कवितासंग्रहले आफ्नो बेग्लै पहिचान बनाएका अज्ञात अहिले हङकङ बसाइमा छन्। अज्ञातसँग दीपक सापकोटाले गरेको किताब-वार्ता :
छेउटुप्पो फेला नपार्ने मेरो किताब-यात्रा कहाँबाट सुरु भयो, बारम्बार सोच्छु। 'आफ्नै जीवन एउटा किताब हो' भन्ने सोचको प्रभावबाट मुक्त हुन निकै गाह्रो रहेछ। यो उमेरसम्म जीवनलाई किताबको रूपमा बाँच्दै आएँ, सायद भूल गरेँ कि ! किनभने, जीवन आफैंमा किताब हो भन्ने सोचले मलाई एउटा यायावर बनायो। पाँचथरको याङनाम भन्ने सानो गाउँबाट इलाम बजार, झापा र काठमाडौं सहर हुँदै अहिले एसियाको विश्व सहर हङकङमा जीवन भोगिरहेको छु। जीवनका जटिल पृष्ठहरूमा पुगेको छु।
आदर्शहरू कतिबेला थोत्रा हुन्छन् ? यतिमात्रै थाहा भइदिए कवि-लेखकहरू 'ईश्वर' नै हुन्थे। जीवन अहिले त जति पढ्दै जान्छु, उति थोत्रो हुँदै गएझैं लाग्छ। उहिले मेरो बाजे जहरमान थाम्सुहाङ निकै प्रख्यात थिए। मेरो बुवाले दार्जिलिङमा पढ्नु भएको हो। त्यतिबेलाका धनीमानी लिम्बूहरूले आफ्नो छोरालाई दार्जिलिङ पढाउने चलन नै रहेछ। राणाकालमा पाँचथरका आङ्देम्बे, नेम्बाङ, केरुङ र थाम्सुहाङ खलकहरू सम्पत्ति, राजनीति र शिक्षामा अगाडि थिए भन्ने सुनेको हुँ।
यो कहाँसम्म सत्य हो ? देख्नेले जानुन्। गरिब लिम्बूहरूको विरक्तलाग्दो कथा त म आफैंले देखेको छु। मेरो बुवा र काकाहरूले बाजेको स्मृतिमा 'सिद्धकाली प्राथमिक विद्यालय' स्थापनार्थ दुईतले पक्की भवन निर्माण गरिदिएका थिए। त्यही विद्यालयमा मेरो बुवा र इमानसिंह चेम्जोङले 'किराँत पुस्तकालय' स्थापना गर्नुभएको थियो। सायद त्यही पुस्तकालयबाट मेरो पठन-यात्रा सुरु भएको हो।
त्यो पुस्तकालयमा मैले बालसाहित्य पढ्ने अवसर पाएँ। म अंग्रेजी स्कुल पढ्थेँ इलाममा। लामो हिउँदे बिदामा पाँचथर घर आउँदा म दिउँसो पुस्तकालय गएर पढ्थेँ। पुस्तकालय घरछेउमै थियो। घरमा त सधैं मेला लागेजस्तो हुन्थ्यो। हरेक दिन ४०, ५० जनाको लागि खाना पाक्ने गर्थ्यो।
आफ्ना छोराछोरीले खाना खाए, खाएनन् आमाले थाहै नपाउने। म प्राय: जन्तरी काकीको घरमा खाना खान्थेँ। खाना खाएर म सीधै पुस्तकालय गएर हेडसरसँग किताब छानिमाग्थेँ। हेडसर हुनुहुन्थ्यो- केबी राई जसलाई बुवाले दार्जिलिङबाट झिकाउनुभएको थियो। हेडसरले अरूलाई लिम्बू भाषामा 'भात खाइस् ? ' भनेर सोध्नुहुन्थ्यो भने मलाई अंग्रेजीमा सोध्नुहुन्थ्यो। एकदिन त हेडसरलाई ढाँटे।
उहाँले सोध्नुभयो, 'हेभ यु इट योर राइस् ? ' मैले 'नो सर' भनेँ। अनि त उहाँले मलाई उहाँको भान्साघरमा लगेर पोलेको आलु र ओखर दिनुभयो। 'फेबल्स अफ एसेप' र 'रिप भ्यान विंकलको कथा' मैले त्यही पुस्तकालयमा पढेँ। त्यतिबेला म कक्षा ३ मा पढ्दै थिएँ। कथामा रिप भ्यान विंकल जाँड खाएर २० वर्ष निदाउँछ। ऊ ब्युँझिँदा सबैथोक परिवर्तन भइसकेको हुन्छ।
यो कथा मलाई अझै पनि उत्कृष्ट लाग्छ। अस्ट्रेलियाको आदिवासी समाजलाई जस्तै नेपालको आदिवासी जनजाति समाजलाई पनि मदिरापानले पछाडि धकेलेको हो कि जस्तो लाग्छ। बैरागी काइँलाका बुवा कवि खड्गबहादुर नेम्बाङ (डबल सुब्बा)ले त यसबारेमा कविता पनि लेखेका छन्। त्यस्तै समाज सुधारक राष्ट्र-विभूति फाल्गुनन्द लिङ्देनले अति मदिरापानले लिम्बू समाजपछि पर्यो त्यसैले मदिरापान नगरौं भनेर उपदेश दिएका छन्। ऋण काढेर भए पनि मासु र रक्सी खानैपर्ने संस्कृति परिवर्तन हुनुपर्छ। एक किसिमको सांस्कृतिक क्रान्तिको जरुरत छ हाम्रो समाजलाई। जाँडरक्सी देवता र मृतात्मालाई चढाउने हो, जीवित मान्छेले मात्तिने गरी खाने होइन भनेर बारम्बार भन्ने गरेका छन् बैरागी काइँलाले।
म कक्षा ५ मा पढ्दा बुवाले हेडसरलाई मेरो नेपाली भाषा कमजोर भएको गुनासो गर्नुभयो। त्यो दिन पुस्तकालयमा हेडसरले बालकथा र लोककथाको नेपाली किताब झिकेर दिनुभयो। सपनामा दिउँसो पढेका कथाको दुनियाँमा पुगेँ। मलाई नेपाली किताबले मोहनी लगायो। इलाम बजारमा 'सिर्जना स्टोर' नाम गरेको पुस्तक पसल थियो। बुवाले दिनुभएको 'पकेट खर्च'ले दन्त्यकथाका किताब किन्न थालेँ। यही बेलामा चाचा चौधरी र बांकेलालको हिन्दी कमिक्स पढ्ने लत बस्यो।
सात कक्षामा पढ्दाताका दिदीहरूको कारणले साहित्यका किताब झनै पढियो। उहाँहरू त्यतिबेला कलेज पढ्नुहुन्थ्यो। नेपाली साहित्यका किताब त दर्जनका दर्जन ल्याउनुहुन्थ्यो। 'गरिमा' र 'मधुपर्क'का हरेक अंक घरमा हुन्थे। हिन्दी पत्रिका 'कुमुदिनी' र अंग्रेजी पत्रिका 'रिडर डायजेस्ट' पनि महिनैपिच्छे आइपुग्थ्यो।
भारतको सिलिगुडीबाट बुवाको नाममा 'मानवधर्म' नामको पत्रिका पनि हुलाकमार्फत महिनैपिच्छे आउने गर्थ्यो। त्योबेला टीभी र इन्टरनेट थिएन। लामो बिदामा आउँदा इलामको घरमा बुवा, दिदी र दाजुले ल्याउनु भएका सबैजसो पत्रपत्रिका र साहित्यिक किताब खुब पढियो। 'मुना' बालपत्रिका पनि दुई अंकजसो हेरेँ। बच्चाले पढ्ने पत्रिकाजस्तो लागेर पढ्न छोडिदिएँ।
दिदीहरूले ल्याउनु भएका किताबमध्ये युधीर थापाको 'डाक बंगला' पढ्दा डरले एक हप्ता निद्रा लागेको थिएन। जंगलको बीचमा एउटा पुरानो बंगला छ। त्यहाँ एउटी युवतीको लास लडिरहेको छ। छेउमा बच्चा रोइरहेकी छ। बाहिर घनघोर पानी परिरहेको छ। भुइँमा रगत बगिरहेको छ। रातको समय छ। बिजुली चम्किँदा नायकले यो दृश्य देख्छन्। त्यो दृश्य अझैसम्म सम्झिन्छु। फेरि एकचोटि यो किताब पढ्ने रहर छ।
लक्ष्मीप्रसाद देवकोटाको 'लक्ष्मी निबन्ध संग्रह', पारिजातको 'शिरीषको फूल' र 'अनिँदो पहाडसँगै', विश्वेश्वरप्रसाद कोइरालाको 'आत्मवृत्तान्त', 'सुम्निमा', 'दोषी चस्मा' र 'मोदिआइन्', भूपि शेरचनको 'घुम्ने मेचमाथिको अन्धो मान्छे', बैरागी काइँलाको 'बैरागी काइँलाका कविताहरू' स्कुल छँदै पढिभ्याएँ। त्योबेला बालमस्तिष्कले बुझ्न त के पो बुझ्यो होला र ? तैपनि पढियो। पढ्नुको एउटा फाइदा पनि भयो। नेपाली विषयमा निकै राम्रो अंक ल्याउन थालेँ। उत्तम न्यौपाने सरले नेपाली पढाउनुहुन्थ्यो। उहाँले पटकपटक भनेको सम्झिन्छु, 'भाइ तिम्रो लेखन अभिव्यक्ति हेर्दा भविष्यमा ठूलो लेखक हुने छाँट देखिन्छ।'
सरले त्यसो भनेपछि म फुर्किन नजान्नेलाई अरू के चाहियो ? डायरी किनेँ र मनमा आए जतिका लेख्न थालेँ। 'इलाम तिमीलाई फर्केर हेर्दा' नामक निबन्ध स्कुलमा प्रख्यात भयो। शिक्षकहरूले कक्षाकक्षामा उदाहरण दिए - निबन्ध लेख्नु त हाङयुगले जस्तो। मेरो डायरीबाट निबन्ध सार्ने साथीहरूको लर्को लाग्यो। म रातारात सेलिब्रिटी भएँ। झापा धुलाबारी मामाघर आउँदा 'मोदिआइन्'मा पढेको पोखरी ठूलो सिमलको रूख छेउमा देख्थेँ। खासमा मामाहरूको माछापोखरी थियो त्यो। तर, मलाई मोदिआइन्कै पोखरीजस्तो लाग्थ्यो र त्यो पोखरीको छेउ भएर हिँड्न डर लाग्थ्यो।
बैरागी काइँलाका कविताहरू त पढेँ तर 'फेदाङ्मा' र 'गिलगमेश' भन्दा अरू बुझिनँ। गिलगमेशको कथा पढेको थिएँ, त्यो एउटा प्राचीन राजाको नाम थियो भन्ने ज्ञान थियो। त्यसैले पनि बुझेको जस्तो लाग्छ। कोठामा एक्लै ठूलो स्वरले काइँलाका कविताहरू पढ्दा एक किसिमको आनन्द आउँथ्यो। 'मातेको मान्छेको भाषण' त मातेकै अभिनय गर्दै पढ्थेँ। भूपि शेरचनको कविता पनि खासै बुझ्दिनँथिएँ। पढ्न चैं आनन्द लाग्थ्यो। यसो भन्न खोजेको होला भनेर आफंै अर्थ लगाउन खोज्थेँ। एकदिन आमाले भन्नुभयो, 'बैरागी काइँला त तेरो मामा हो नि लाटा'। त्यो दिनदेखि मलाई बैरागी काइँलाजस्तो कवि हुने झोंक चल्न थाल्यो।
कलेज पढ्न काठमाडौं आउँदा दाजुको एउटा अंग्रेजी किताब झोलामा हालेँ। त्यो किताब करिब पाँच सय पृष्ठको थियो। प्लेटोलाई जीवनमा पहिलोपल्ट त्यही किताबमा पढेँ। त्यो किताब राजनीतिक दर्शनबारे थियो। विभिन्न दार्शनिकका चुनिएका निबन्धहरू त्यसमा समावेश थिए। प्लेटोले कविहरूलाई राज्यबाट धपाउनुपर्छ भनेर लेखेका रहेछन्।
त्यो पढेपछि भने म प्लेटोको विपक्षमा उभिएँ। तर, अहिले बुझ्दा प्लेटोको अभिव्यक्ति 'भावावेगमा दगुर्ने र सोफिस्ट कविहरू'प्रति लक्षित रहेछ। युद्धले जर्जर भएको राज्यलाई दार्शनिकहरूको तर्कसंगत व्याख्याले मात्रै पार लगाउन सक्छ, कल्पनाको उडान भर्ने कविहरू वाहियात हुन् भन्न खोजेका रहेछन्। पछि प्लेटोका चेला अरिस्टोटलले यथार्थवादी कविको पक्षमा वकालत गरेका छन्।
जति पढ्दै गयो उति ठूलोठूलो हुँदै जाने किताबको दुनियाँ रहेछ। जति पढ्दै गयो, झन्झन् लाटो हुँदै गएको अनुभूति गर्दैछु।
काठमाडौं आएपछि कुमार यात्रु, श्रवण मुकारुङ, शैलेन्द्र साकार, ईश्वरवल्लभ, तुलसी दिवस, विष्णुविभू घिमिरे, तोया गुरुङ, जसराज किराँती, बानिरा गिरी, धुस्वाँ सायमी र बैरागी काइँलासँग भेट हुने अवसर मिल्यो। यी कविको कुरा सुन्दा विशाल अध्ययन हुनुपर्ने रहेछ भन्ने थाहा भयो। आपूmले केही पढेजस्तो छैन लाग्न थाल्यो। एकदिन त श्रवण मुकारुङको कोठाबाट इन्द्रबहादुर राईको 'कथास्था' कथासंग्रह टिपेर हिँडेँ। भाइपुस्तालाई साह्रै माया गर्ने कवि श्रवण मुकारुङ।
कुनकुन किताब पढ्ने र कुनकुन किताब नपढ्ने उहाँबाटै सल्लाह पाएँ। प्राय: म उहाँसितै हुन्थेँ। खाने, पिउने, बस्ने, सुत्ने सबै बालुवाटारस्थित उहाँकै डेरामा हुन्थ्यो। कवि श्रवण मुकारुङले जस्तो दु:ख गरेको कवि मैले भेटेको छैन। पछि भोजपुरबाट राजन मुकारुङ आएपछि श्रवण दाइ ढुक्क हुनुभयो। घरव्यवहार सबै राजनजीले हेर्न थाल्नुभयो। राजनजीसँग मेरो गहिरो दोस्ती सुरु भयो।
त्यसैबेला 'सिर्जनशील अराजकता'को आन्दोलन सुरु गरियो। हामीले कसलाई पढ्ने, कसलाई नपढ्ने वा कसले के लेखेको छ वा कसले राम्रो लेख्छ, लेख्दैन भन्नेबारे राजनजीको कुरा सदर हुन थाल्यो। श्रवण दाइ हाम्रो पेलानमा पर्न थाल्नुभयो। तर, उहाँ जे गरे पनि नगल्ने। म डेरिडाको कुरा झिक्ने, उहाँ यूजी कृष्णमूर्तिको। ईश्वरवल्लभ दाइले भेटे जति सबै किताब पढ्नु र गाईले जस्तो फुर्सदमा उग्राउनु भन्नुहुन्थ्यो।
इन्द्रबहादुर राई काठमाडौं आउनुभएको बेला काइँलादाइको घरमा भेट भएको थियो। उहाँले भन्नुभएको थियो, 'ए ! काइँला, हामीले बर्टेन्ड रसेललाई पढेनछौं। पढ्नुपर्ने रैछ। म त अहिले पो हेर्दैछु उसलाई। एक वर्षमा लाखौं किताब निस्किन्छन्। कहिले पढी सिध्याउनु हँ ? साझाबाट निस्केको किताब त पढिसिध्याइन्न होला ! अहो ! विश्वभरिको कहिले पढिसिध्याउने ? हजार वर्षको आयु हुनुपर्ने नि मान्छेको। रसेल नछुटाउनु है भाइ।'
काइँला दाइले त्यतिबेला भन्नुभएको थियो, 'पोस्टकोलोनियन राइटिङ पनि खोजेर पढ्नु। एकता बुक्स भन्ने छ भृकुटीमण्डपमा त्याँ पाउनुपर्ने भन्छु है। अनि यो केरे ? दुईजना अहिलेको सशक्त कवि छन् नि ! अँ, श्रवण मुकारुङ र भूपाल राईको कविता पनि पढ्नु।' त्यतिबेलै मैले इन्द्रबहादुर राईको नाटक 'पहेंलो दिन' प्राप्त गरेँ।
त्यसपछि मैले तेस्रो आयामेली इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्लभका किताबहरू गहिरिएर अध्ययन गर्न थालेँ। तेस्रो आयाम र लीला लेखन खोज्दैखोज्दै एकदिन म झापामा कृष्ण धरावासीको घरमा टुप्लुक्क पुगेँ। धरावासी दाइको घरमा किताबको पहाड देखेर एकछिन त मेरो सातो गयो। तेस्रो आयाम र लीला लेखनबारे हाम्रो लामो कुराकानी भयो। उहाँले नै मलाई तेस्रो आयामको मुखपत्र 'तेस्रो आयाम' भन्ने पत्रिका र 'भागवत गीता' फोटोकपी गर्न दिनुभयो। मैले फोटोकपी गरेर काठमाडौं ल्याएँ। साहित्यिक आन्दोलनका निम्ति मुखपत्र आवश्यक रहेछ भन्ने जुक्ति पलायो र सिर्जनशील अराजकताको मुखपत्र 'साहित्य समन्वय'को प्रकाशन सुरु गरियो।
त्यहीबेला मैले रूपरेखा साप्ताहिकमा दुई वर्ष साहित्यिक स्तम्भकारका रूपमा कलम चलाएँ। स्तम्भको नाम थियो, 'हस्ताक्षर'। यो समयावधिमा मैले थुप्रै कवि-लेखकहरूसँग वार्ता गरेँ, थुप्रै किताबहरू पढेँ। कतिलाई मैले बिर्सिएँ, कतिले मलाई बिर्सिए होलान्। यही बेला माधव घिमिरेसित भेट भयो। अहिले भए सेल्फी खिच्नु हुन्थ्यो। त्यो बेला मोबाइल थिएन।
हङकङ आएपछि नेपाली किताबहरू कमै पढ्ने गरेको छु। नेपालबाट साथीहरू राजन मुकारुङ, उपेन्द्र सुब्बा, सरस्वती प्रतीक्षा र कवि चन्द्रवीर तुम्बापोले 'रिफर' गरेका किताबहरू मात्रै पढ्ने गरेको छु। धेरै मार्केटिङ गरिएका किताबहरू हेर्दिनँ। बैरागी काइँलाद्वारा संकलित, सम्पादित र अनुवादित लिम्बू मुन्धुमहरूको 'फिलोसफिकल स्टडी' गरिरहेको छु। आहुतिका किताबहरू र दलित साहित्य सिरानीमै छन्। युग पाठक र यज्ञशको किताब साथीहरूले पठाइदिएका छन्, हेर्दैछु।
हङकङ लाइब्रेरीमा सित्तैमा किताब पढ्न पाइन्छ, त्यहाँबाट किताब ल्याएर अंग्रेजी किताबहरू पढ्ने गरेको छु। हङकङ ओपन युनिभर्सिटीको लाइभ लङ लर्नरको सदस्य पनि हो म। अनलाइन पुस्तकालयमा फ्रीमा पढ्न पाइन्छ। म प्राय 'जेस्टर' बाट आफूलाई चाहिने सूचनाहरू संकलन गर्छु। इन्टरनेटले अध्ययनलाई सबैको पहुँचसम्म पुर्याएको छ। नेपालका प्रकाशकहरू मसित रिसाए रिसाउन्, खासमा उनीहरूले नेपाली पाठकहरूलाई बेवकुफ बनाइरहेका छन्।
हिन्दु साहित्य र दर्शनशास्त्रका किताबहरू, बुद्धिज्मका किताबहरू, चिनियाँ र जापानी साहित्य, क्लासिकल रोमन र ग्रिकेली साहित्य पनि सँगसँगै हेर्दैछु। महाभारत र रामायणको प्लटिङ र नायक-चरित्र होमरको 'इलियाड' र 'ओडिसी'सित मिल्दोजुल्दो पाइन्छ। यसबारे त छुट्टै लेख पनि तयार गरेको छु। राजनीतिक दर्शनशास्त्रमा पछिल्लोपटक स्लाभोज जिजेकका किताबहरू मन पर्न थालेका छन्।
जति पढ्दै गयो उति ठूलोठूलो हुँदै जाने किताबको दुनियाँ रहेछ। जति पढ्दै गयो, झन्झन् लाटो हुँदै गएको अनुभूति गर्दैछु। अरूले लेखेको पढेर बाठो हुनु बेकार हो जस्तो लाग्न थालेको छ। तर, आफ्नो सिद्धान्तलाई पुष्टि गर्न अरूको खोज र अनुसन्धानलाई पनि 'टुच्च' छेउमा राख्न नै पर्ने विश्वको बौद्धिक संस्कृति रहेछ। यस्तो बौद्धिकता खासमा 'सेकेन्डरी बौद्धिकता' मात्रै हो र मलाई लाग्छ नेपालमा 'सेकेन्डरी बौद्धिक'हरू मात्रै छन्। हाम्रो बाध्यता हो यो। किनभने, हामी प्रथम विश्वले छोडेको सूचना र ज्ञानलाई आधार मानेर जीवन र दुनियाँ बुझिरहेछौं। तेस्रो विश्वको विडम्बना नै यही हो।