‘सपनामात्रै बाड्छन् नेता'

‘सपनामात्रै बाड्छन् नेता'

काठमाडौं :  आफ्नो थाकथलो छोडर अवसरको खोजीमा राजधानी पसेका अधिकांश मजदुरहरूको आँखामा चुनाव जान्ने बुझ्ने र हुने खानेको मात्र भएको बुझाइ छ। विगत ११ वर्षदेखि बबरमहलमा जुत्ता बनाएर बसेका रामविलास रामले गरिबका लागि चुनावको कुनै अर्थ नभएको बताए। ‘काम गर्दैनन् सपनामात्रै बाड्छन्, नेता हाम्रो दुःख हामीसँगै छ,' उनले भने ‘कसैले गरिखाने त परै जाओस् राज्यले दिएको सेवा सुविधा वारेमा समेत जानकारी दिर्दैनन्।'

‘०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनका कारण मेरो घरमा आशिंक क्षति पुग्यो। कसैले पनि राहतका व्यवस्था गरिदिएन,' सर्लाही कपिलासी नगरपालिका ८ निवासी रामले दुखेसो पोखे ‘नेताले चुनावका बेला ठूला सपना देखाएपनि हाम्रा लागि अझसम्म कुनै काम गरिदिएका छैनन्। हामी यस्तै काम गर्नको लागि पनि आफ्नो ठाउँ छाड्न बाध्य छौं। घर नजिक यस्तै काम गर्ने अवसर मिलेको भएपनि यहाँ आएर यो काम गरेर बस्ने थिइन।'

ओखलढुंगाकी विष्णुमाया खत्रीले काठमाडौंको इन्द्रचोकमा छाता तथा सिजन कपडा मोजा, ट्राउजरलगायतका सामान बिक्री गरेर बसेको ३० वर्ष भयो। चुनाव आएपनि भोट खसाल्न जाने मन उनको छैन। नेताको हावादारी आश्वासनबाट दिक्क भएकी उनले आफ्नो कुनै अपेक्षा नभएको भोटर लिष्टमा नाम सूचिकरण गर्नै आफू नगएको बताइन्। ‘गरिखाने वातावरण गाउँमै भै दिएको भए गाउँ छोडेर यहाँ आइदैन थियो,' उनले भनिन् ‘ भोट खसालेर हामीलाई के हुन्छ , रमाउने नेतानै हुन्।'

सप्तरी कञ्चनपुरका २५ वर्षीय रविला सरदारको भने नेताले पुल, बाटो बनाइदिए आवातजावत गर्न सहज हुने थियो। आफ्नो लागि भन्दा पनि सबैको हित हुने काममा नेता लाग्नु पर्ने उनको सन्देश छ। ‘चुनावका बेला भाषण गर्ने नयाँ र ठूला सपना देखाउने नेतालाई अर्को चुनाव नआएसम्म देख्न समेत नपाइने २५ वर्षीया सरदारले भने।

असन गल्तीमा घर ढलानका लागि बालुवाको भारी राख्दै गरेका उनले भने ‘चुनावमा भोट खसाल्न जाँदा २५ सय देखि तीन हजारसम्म खर्च हुन्छ। यसबाट उपलब्धी भने केही नहुने भएकोले अझै भोट खसाल्न जाने नजाने निर्णयमा आफूहरू नपुगेको उनले बताए। हामी सबै सप्तरी कै हौ, २० जनाको समूह छ। घर जाँदा नेताको गाडीले पुर्‍याए पनि आउँदा आफैले खर्च गर्नु पर्ने गुनासो उनले गरे। घर ढलानमा लागेका जयप्रकाश साहले काम नगर्ने नेतालाई जिताएर के काम भनी प्रतिप्रश्न गरे।

काभ्रेपलाञ्चोक भकुण्डेवेसीकी लक्ष्मी तामाङले नेतालाई जिताएर हुने केही नहुने बताइन्। रत्नपार्कमा मेगा, काक्रोलगायतका मौसमी फलफूल काटेर विक्री गर्दै आएकी तामाङले नेतानै नचिनेको बताइन्। ‘भोट माग्न घरमा आएका छन् रे फोन आएको छ,' उनले भनिन् ‘ गाउँमै गरिखाने बाटो भए यहाँ आएर दुःख गरी बस्ने थिएन।' श्रीमान्ले पनि यस्तै अर्को काम गर्नु हुन्छ तीन वटा बच्चा सरकारी स्कुलमा पढाउन र खान बस्न दुःखले धानेको दुखेसो उनले पोखिन्।

‘यहाँ पनि काम गरेर खान सजिलो छैन,' उनले भनिन् ‘महानगरपालिकाले समात्छ, सामान लगे जरिवाना तिर्नु पर्छ, हामी जस्तालाई गरिखान यहाँ पनिसजिलो छैन। ' कमाएर खान पुग्दैन।

रामेछाप मन्थली सुनारपानीका हिमवहादुर बसेलले भुटेको बदाम÷ चना बेच्दै आएको २० वर्ष भयो। घरमा खान पुग्ने जमिन पनि छ। ‘घरकै अन्न खाएर काठमाडौंमा बदाम बेचेर छोराछोरीलाई पढाएर बसेको छु,' वसलेले भने ‘ गर्ने कसैले केही नभएपनि भोलि (शनिबार) भोट खसाल्न घर जान्छु,' उनले भने। ‘चुनावका बेला राम्रो काम गर्छु, तपाईहरूको दुःख हर्छु भन्ने नेता पछि मुखै देखाउँदैनन्।' काम नगरी हुँदैन, आफ्नो दुःख आफैसँग वर्षौदेखि जडेकोे उनले बताए।

बसन्तपुरमा भरियाको काम गर्दै आएका गोरखा हर्मीका रामकृष्ण मगर भोट खसाल्न जाने÷नजाने धरमरमा छन्। भोट खसाल्न जाँदा एक साता काम छुट्ने हुँदा यस अवधिको कमाइको असर परिवारले लामो समयसम्म झेल्नु पर्ने उनले दुःख व्यक्त गरे। घरमा ३÷५ वर्षको छोरीछोरी भएकाले उनीहरूको मुख नमोस्नका लागि आफूले वाध्य भएर दैनिक काम गर्नुपर्ने बताए। ‘त्यसैले भोट खसाल्न जाने नजानेमा आफू अल्मिलिएको छु,' उनले भने। धादिङ क्षत्र देउरालीकी विष्णुमाया तामाङले असनमा चोकमा टपरी बिक्री गर्न थालेको ३० वर्ष भयो। नेताले बोल्नमात्र काम भने केही नगर्ने भएकाले भोट खसाल्न आउन फोन गरेपनि त्यति मन भने नभएको बताइन्।

यसरीनै काठमाडौंलगायतका सहरमा हजारौ मजदुर आफ्नो दैनिकी चलाउनका लागि संर्घष गरिरहेका छन्। उनीहरूमध्ये धेरैलाई चुनावको भन्दा आफ्नै दैनिकीको पिरलो छ। यदि नेताहरूले उनीहरूका लागि केही राहात प्याकेज ल्याउन सकेको भए उनीहरू यति निराश नहुने असरमा भेटिएका कृष्ण विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.