राजनीतिक कोसेढुंगा

राजनीतिक कोसेढुंगा

 

आशा, आशंका र विभिन्न राजनीतिक उतारचढाव हुँदाहुँदै प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा आइतबार (आज) सम्पन्न हुँदैछ । ११ दिनपछि दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि ३ असोज २०७२ मा जारी संघीय गणतान्त्रिक नेपालको संविधानको सफलतापूर्वक पूर्ण कार्यान्वयन भएको मानिनेछ ।

त्यसो त जारी मितिबाटै संविधानको कार्यान्वयन प्रारम्भ भइसकेको हो । यद्यपि केही असन्तुष्टि र त्यसलाई सम्बोधन गर्न उठेको संविधान संशोधनको मुद्दाले नयाँ संविधानप्रति आम स्वीकारोक्ति कायम हुन समय लाग्यो । यतिबेला सबै राजनीतिक शक्ति उत्साहका साथ चुनावी उत्सवमा हेलिएका छन् । आगामी ७ माघभित्र स्थानीय, प्रदेश र केन्द्र तिनै तहको निर्वाचन सम्पन्न हुन नसक्दा संवैधानिक संकट आउने जोखिम थियो । चुनाव हुन नसक्ने आशंका र हुन नदिने कुत्सित नियतलाई चिर्दै तिनै तहका निर्वाचन हुने भएको छ । स्थानीय हुँदै प्रदेश र केन्द्रका यी निर्वाचन नेपाली राजनीतिक इतिहासमा कोसेढुंगा सावित भएका छन् ।

०७४ साल चुनाव वर्ष भएको छ । वर्षको प्रारम्भदेखि नै स्थानीय तह हुँदै अहिले प्रदेश र केन्द्रको चुनावमा मुलुक होमिएको छ । यो ठूलो राजनीतिक उपलब्धि हो । चुनावसँगै मुलुकले एउटा लामो राजनीतिक संक्रमणलाई बिट मार्दैछ । चुनावपछिका सत्ता राजनीतिका प्रक्रियामा नयाँ खाले अप्ठेरा र चुनौती आउलान्, यद्यपि अहिले चुनावअघि जुन संशय र आशंका थियो, त्यसलाई चिरेर यी निर्वाचनहरूले एउटा लामो संक्रमणलाई पार गरेका छन् । त्यस अर्थमा पनि यो चुनाव अर्थपूर्ण छ, महत्वपूर्ण छ ।

संघीयता नेपाली सन्दर्भमा नयाँ प्रयोग हो । लामो समयदेखि संघीयतामाथि तर्कवितर्क चल्दै आएको छ । यसको नेपाली सन्दर्भमा प्रयोग सफल हुने हो होइन, अनेक विमर्श चलिरहेको छ । कागजमा हामी संघीय व्यवस्थामा प्रवेश गरिसक्यौं र त्यसको प्रारम्भिक अभ्यास पनि थालेका छौं । यो चुनालले कागजमा रहेको संघीयतालाई व्यवहारमा उतारेको छ । प्रदेशको निर्वाचन हाम्रा लागि नयाँ अभ्यास हो र ठूलो राजनीतिक उपलब्धि हो । यसलाई सफल र प्रभावकारी पार्दै लैजाने दायित्व राजनीतिक नेतृत्वसामु छ।

यसअघि सम्पन्न स्थानीय निकायको निर्वाचनले पनि लामो समयदेखि रिक्त स्थानीय निकायहरूलाई निर्वाचित जनप्रतिनिधिहरू दियो । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदै कर्मचारीका भरमा चल्दा ती निकाय अव्यवस्थित र अनियमितताका अखडा भएको आरोप लाग्दै आएको थियो । दुई दशकपछि भएको स्थानीय निकाय निर्वाचनले तल्लो तहसम्म लोकतन्त्रको अभ्यासलाई पुनः जागृत गर्‍यो । स्थानीय निकायमा बदलिएका नयाँ संरचनाहरू थप अधिकारसम्पन्न भएका छन् र लोकतन्त्रको मजबुत आधार तल्लो तहसम्म पुगेको अनुभूति भएको छ ।

लोकतन्त्र भनेको जनमत प्रतिविम्बित हुने शासन व्यवस्था हो । त्यसकारण यो पद्धतिमा चुनावको अत्यन्त महत्व हुन्छ । २०१५ सालमा भएको पहिलो आमचुनावपछि हामीले बालिक मताधिकारका आधारमा पटकपटक चुनावमा भाग लिएका छौं, तर राजनीतिक शक्तिहरूबीचको आपसी द्वन्द्व, स्वार्थ र छिनाझप्टीका कारण राजनीतिक स्थायित्व प्राप्त गर्न सकेका छैनौं ।

घरेलु र बाह्य शक्ति केन्द्रहरूको स्वार्थका खेलमैदान नेपाली राजनीति हुने क्रम नरोकिएकाले लोकतन्त्र प्राप्त हुने र गुम्ने गोलचक्करबाट पनि हामीले धेरै अवधि छुटकारा पाएनौं । लामो गोलचक्कर र उतारचढावपछि हामी नयाँ राजनीतिक परिवेशमा छौं, जसलाई सही ढंगले उपयोग गर्न सके अबको मुलुकको बाटो राजनीतिक स्थायित्व, स्थिरता हुँदै समृद्धि र विकासतर्फ बढ्न सक्छ । आज प्रदेशसभा र केन्द्रको पहिलो चरणको चुनाव ३२ जिल्लामा हुँदैछ । त्यसकारण आजको यो चुनावलाई ऐतिहासिक राजनीतिक उपलब्धिका रूपमा ग्रहण गर्दै आम जनताले विवेकपूर्ण ढंगले आफ्नो अभिमत जाहेर गर्नुपर्छ । चुनावी राजनीति विकृत हुँदै गएको यो अवस्थामा योग्य, समाज र राष्ट्रप्रति प्रतिबद्ध नेताको छनोट गर्न मतदाताको विवेकको सही प्रयोग आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.