‘मेरो भोटले गाउँमा मोटर पुगोस्'
जाजरकोट : जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी ७१ वर्षीय गुलाबी शाहीले अहिलेसम्म गाडी चढ्न त परै जावोस्, देख्नसम्म पाएकी छैनन्। उनलाई गाउँमा गाडी आएको देख्ने र चढ्ने धोको छ। तर अहिलेसम्म पूरा भने हुन सकेको छैन। बुवा, श्रीमान् र दाइसँगै महिना दिन लगाएर नेपालगन्जबाट नुन बोकेर ल्याएको कुरा उनले अहिले पनि झलझली सम्झिन्छिन्।
‘३५ वर्ष अघिसम्म नुनको जोहो गर्न निकै सकस पथ्र्यो। नुन लिन नेपालगन्ज नगई धरै हुदैन्थ्यो। खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु गाउँमै उत्पादन गरिन्थ्यो। हामीलाई खालि नुनकै पिरलो हुन्थ्यो।' शाही भन्छिन्, ‘तर अहिले अवस्था फेरिएको छ।'
सदरमुकामसम्म गाडी आएको छ। सदरमुकामबाहेक केही गाउँसमेत बाटोले छिचोल्दै छ तर उनको गाउँबाट गाडी भेट्टाउन दुई दिन पैदल हिँड्नुपर्छ। अहिलेसम्म भोट हालेर जिताएका नेता गतिला नहुँदा विकासले गति लिन नसकेको उनको ठम्याइ छ। उनी भोट माग्न आउनेजतिलाई मोटरबाटो, बिजुली र टेलिफोन कहिले ल्याउनुुहुन्छ भन्दै प्रश्न गर्छिन्। उनले भनिन्, ‘म जीवित छँदै गाडी, बत्ती र फोन पुर्याउन सक्ने विश्वासिला नेतालाई यसपटक भोट हाल्छु। म मेरो गाउँभन्दा बाहिर गएर गाडी चढ्दिनँ। गाउँमा जहिले गाडी पुग्ला त्यतिबेलै चढौंला।' उनले उधारा सपना बाँड्ने भन्दा काम गर्ने नेतालाई भोट दिने बताइन्। यद्यपि उनीकहाँ अहिलेसम्म उम्मेदवारहरू भोट माग्न पुगेका छैनन्। उनले भनिन्, ‘मेरो भोटले गाउँमा मोटर पुगोस्।'
उनीजस्तै बारेकोट गाउँपालिका जिरीका ७० वर्षीय कमारो कामी पनि गाउँको विकास गर्नेलाई भोट हाल्ने बताउँछन्। अन्य जिल्लाका गाउँ-गाउँमा मोटर पुगे पनि जाजरकोटका धेरैजसो गाउँमा अहिलेसम्म मोटरबाटो पुग्न नसकेको बताउँदै उनले भने, ‘अहिलेसम्म हामीले चुनेका नेताले जनचाहनाअनुसार काम नगर्दा हामी पछि पर्यौं। त्यसैले यसपटकको चुनावमा विकास गर्न सक्ने नेता छान्छौं।' उनले पनि सडक यातायात, विद्युत् र टेलिफोनको निकै समस्या रहेकोले भोट माग्न आउने उम्मेदवारलाई उक्त कुराको प्रतिबद्धता गराउने सोचमा भए पनि उम्मेदवार अझै त्यहाँ पुग्न सकेका छैनन्।
भौगोलिक विकटताका कारण उम्मेदवारहरू विकट बस्तीहरूमा पुग्न सकेका छैनन्। कतिपय गाउँका मतदाताले उम्मेदवार नै देख्न पाएका छैनन्। एउटा गाउँबाट अर्को गाउँ पुग्न करिब एक दिन पैदल हिँड्नुपर्ने बाध्यता छ। उम्मेदवारसँग आफ्ना समस्या र माग नै राख्न नपाउने अवस्था देखिन थालेको जुनीचाँदे गाउँपालिका १ का विमला घर्तीले बताइन्।
जिल्लाका बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिका कर्णालीको जुम्लासँग सीमा जोडिएका विकट गाउँपालिका हुन्। त्यहाँ अहिलेसम्म सडक पुग्न सकेको छैन। विद्युत् र टेलिफोनको समस्या पनि उस्तै छ। खाद्यान्न अभाव भइरहने ती गाउँपालिकामा सहुलियतमा खाद्यान्न पुर्याउन खाद्य डिपोको व्यवस्था गरेको भए पनि चामल नहुँदा डिपो रित्तै छन्। समस्यै समस्याले जेलिएका यी गाउँपालिकामा चुनौतीसँगै सम्भावना पनि छन्।
जिल्लाका अधिकांश गाउँहरूमा टेलिफोनले काम नगर्दा कर्मचारी र स्थानीयसँग सम्पर्क गर्न निकै कठिन भइरहेको छ भने खाद्यान्नलगायत सामग्री ढुवानी गर्न घोडा तथा खच्चडको भर पर्नुपर्ने अवस्था छ। जिल्लाका ग्रामीण भेगमा जटिल खाले विरामी परे डोकोमा पैदल बोकेर जिल्ला सदरमुकामसम्म ल्याउनुपर्ने बाध्यता रहेको छ। स्थानीयले स्वास्थ्य सेवालाई पनि भरपर्दो र विश्वसनीय बनाउने प्रतिबद्धता गर्न आग्रह गरेका छन्।