पर्चा, झण्डा, तुल, व्यानरबिनै घरदैलोमा
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका पूर्वमेयर समेत रहनु भएका वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर-६ ‘क' का उम्मेदवार केशव स्थापित आइतबारबाट चुनावी प्रचारका लागि घरदैलो कार्यक्रममा व्यस्त भएका छन्।
बागबजारका स्थानीय स्थापित चुनावी घरदैलोमा निस्किएसँगै उनले त्यस क्षेत्रका वृद्ध-वृद्धा, युवा सबैको राम्रो समर्थन प्राप्त गरेका छन्। आइतबार काठमाडौँ महानगरपालिकाको वडा नम्बर-२८ वागबजारबाट उनले चुनावी घरदैलो सुरु गर्दै गर्दा ९० वर्षीया नानीमैया खड्कीले शुभकामना दिइन्।
तडक-भडकसहितको चुनावी प्रचार नगर्ने तयारीमा रहेका स्थापित आइतबार यसरी चुनावी प्रचारमा निस्किदाँ न उनको हातमा पर्चा थिए न त कुनै ठूला-ठूला झण्डा र तुल ब्यानर नै। बरु उनलाई हरेक घरदैलोमा पुग्दा मतदाताले स्वागत गरेका खादा भने गलाभरी टन्न थिए। ‘मैले जनताबाट अपार माया पाएको छु,' उनले भने,‘म जनप्रतिनिधि नहुँदा पनि काठमाडौँको विकासमा अहोरात्र खटिएको व्यक्ति हुँ। त्यसैले मैले यसो गर्छु, उसो गर्छु भनेर भोट माग्न जरुरी छैन।'
उनले जनताको घरदैलोमा जाँदा पाँच वर्षको स्थायी सरकार वाम गठबन्धनले बनाउने र देशको मुहार फेर्ने एक मात्र एजेण्डा लिएर गएको बताए। ‘कांग्रेसको जस्तो जाली कुरा गर्न हामीलाई जरुरी छैन,' उनले भने, ‘मसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार मेरो क्षेत्रमा छैन। मतदाताको घरमा जाँदा उहाँहरुले देखिएको सहभागिता र सहानुभूति देख्दा मैले जिते सरह भएको छ।'
उनले आफू विजयी भएपछि प्रदेशसभा कस्तो बन्ने, सभा कहाँ गर्ने, मन्त्री कहाँ बस्ने, राजश्व कसरी उठाउने लगायतका विषयमा योजना ल्याएको पनि दाबी गरे। उनले ६ नम्बरका साथै समग्र उपत्यकाको विकासका लागि दर्जनौं योजना अघि बढाएको भन्दै काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धने जित्ने पनि दाबी गरे। उनले प्रदेश हाँक्न सक्ने क्षमता भएको व्यक्ति पनि आफू भएको भन्दै जनताले विजयी गराएर पठाउनेमा ढुक्क भएको उनले बताए।