सिन्धुपाल्चोकमा ६० प्रतिशत मत खस्यो
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा ६० प्रतिशत भन्दा बढि मत खसेको छ।
प्रारम्भिक जानकारी अनुसार ६० देखि ६५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले बताए। तामाङका अनुसार सबैभन्दा ढिला मतदान सुरु भएको पाँचपोखरी थाङपाल गाउँपालिका ८ स्थित लाँगर्चेमा पनि मतदान सम्पन्न भएको छ। शनिबार राति दुई गठबन्धनबीच भएका झडपका कारण मतदान झण्डै साढे तीन घण्टा ढिलो सुरु भएको थियो।
झडपलाई नियन्त्रणमा लिन दुई मतदान केन्द्रमा हवाई फायर गरिएको प्रजिअ तामाङले बताए। तामाङका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ को थुम्पाखरस्थित देउराली प्राविमा एक र बलेफी गाउँपालिका–८, मांखाको मतदान केन्द्रमा दुई राउण्ड हवाइ फायरपछि स्थिति सामान्य भएको थियो।
जिल्लाका एक सय ४४ स्थानमा रहेका दुई सय ८५ मतदान केन्द्रको निर्वाचन सकिएकाले मत पेटिका सदरमुकाम ल्याउने क्रम सुरु भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।