प्रचण्ड बाँदरझुला पुग्दा यसरी असफल भयो, बाँदरमुढे पीडितको विरोध प्रयास ..
भरतपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार माडीको बाँदरझुला जाने कार्यक्रम थियो। बाँदरमुढे घटनाका पीडितले विरोधका लागि अघिल्लो दिन नै कालो झन्डा र ब्यानर तयार गरेका थिए। तर बिहान उठ्दा घरमा सुरक्षाकर्मी र वाईसीएल कार्यकर्ताले घर घेरेको देखेपछि उनीहरू चकित भए।
‘बिहान चार बजे उठ्दा त पूरै घर घेरिएको थियो’, पीडित संघर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले भने, ‘आफ्नै घरमा बस्दा प्रहरीकै अघि वाईसीएलले धम्काए।’ कीर्तनपुर, देवेन्द्रपुर र जीवनपुरमा १० जनाको समूूहले कालो झन्डा देखाउने पीडितको तयारी थियो। विरोधका कार्यक्रम गर्नुअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पीडित पहिचान गरी उनीहरूलाई घरबाट निस्कन दिएन।
कडा सुरक्षामै दाहाल चुनावी प्रचार गर्न बाँदरझुला पुगे। माओवादी केन्द्रका सचिवालय सदस्य नारायणप्रसाद दाहाल शनिबार बिहान पीडितसँग वार्ता गर्न गएका थिए। उनले बाँदरमुढे घटनालाई आममाफी गराउन दाहालको सन्देश लगेका थिए। पीडितले सत्य निरुपण आयोग या अदालती प्रकियामध्ये एउटा मार्गबाट न्याय मागेपछि वार्ता असफल भएको थियो।
त्यसपछि पीडित विरोध गर्ने र दाहाल पक्ष विरोधको सामना गर्ने स्थितिमा पुगेका थिए। पीडितको घर घेर्नुलाई नारायणप्रसाद ‘अध्यक्षको सुरक्षाको लागि बाटोमा बसेर सुरक्षाकर्मीले ड्युटी गरेको’ बताउँछन्। उनले भने, ‘घर घेरेको भन्ने कुरालाई अतिरञ्जित गरिएको छ।’बाँदरमुढे घटनामा आयोगले नमाने प्रहरीले तत्कालीन समयमा दर्ता गरेको मुद्दा अघि बढाउन पीडितले माग गरेका थिए।
घटना भएको दुई दिनपछि प्रहरीले मुद्दा दायर गरे पनि राजनीतिक दबाबपछि प्रक्रिया अघि बढाउन रोक लगाइएको थियो। २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले बम विस्फोट गराएको थियो। विस्फोटमा परी ३९ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए। जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले पटक–पटक पीडितलाई मनाउने कोसिस गरेका थिए। पीडित भने न्यायसँगै परिपूरणको व्यवस्था र बाँच्न पाउने अधिकारको सुनिश्चितताको माग गरिरहेका छन्।