११४ वर्षीयाद्वारा मतदान, ' देशको समृद्धिका लागि मेरो मत'

११४ वर्षीयाद्वारा मतदान, ' देशको समृद्धिका लागि मेरो मत'

बैतडी : सुर्नया गाउँपालिका-८, कठमडाकी ११४ वर्षीया पशुपति साउदले आइतबार नवौं पटक मतदान गरिन्। पशुपतिले देशको समृद्धिका लागि मतदान गरेको बताइन्। भनिन्, ‘म यति बूढी मान्छेले पनि मतदान गरें। यसको अर्थ अबको पिंढीले दुःख नभोगोस् भन्ने हो। हाम्रो आउँदो पिंढी समृद्ध र समुन्नत होऊन् भन्ने मेरो चाहना छ।’

भूमिराज आधारभूत ढोले केन्द्रमा बिहान मतदान गरेकी उनले आफ्नो मतले देशको विकासमा टेवा पुर्‍याउने बताइन्। भनिन्, ‘मैले २०४८ सालदेखिका निर्वाचनमा मतदान गर्दै आएकी छु। हाम्रो क्षेत्रका समस्या समाधान गर्ने नेताले जितोस् भन्ने मेरो कामना छ।’

उनका कान्छा छोरा प्रतापले पिठ्युँमा बोकेर पशुपतिलाई मतदान केन्द्रमा पुर्‍याएका थिए। भनिन्, ‘हामी महिलाहरूले धेरै समस्या भोग्नुपरेको थियो। अब त्यस्तो नहोस्। यो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले हामी ज्येष्ठ नागरिकका लागि पनि केही गरून्।’

चार सन्तानकी आमा पशुपतिले ग्रामीण क्षेत्रमा अझै धेरै समस्या रहेकाले समाधान गर्ने नेतृत्व चयन होस् भनेर मतदान गरेको बताइन्।

‘२०४८ सालमा भर्खर बहुदलीय व्यवस्था आएको थियो। त्यो बेला भोट हालें। २०५१ सालको मध्यावधि निर्वाचन, २०५४ सालको स्थानीय निकाय निर्वाचन र २०५६ को आमनिर्वाचनमा पनि भोट हाले’, उनले भनिन्, ‘संविधान बनाउने निर्वाचनमा पनि भोट हालें। अब त नेताहरूले केही गर्लान् कि भनेर भोट हालेकी हुँ।’

शारीरिक रूपमा गल्दै गएकी उनले विकास र समृद्धिको आशा भने गलाएकी छैनन्। भनिन्, ‘म एक सय चौध वर्षकी भएँ। यो उमेरसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन्। अब विकास, समृद्धि अनि समुन्नतिको बाटोमा सबै लाग्नुपर्छ। हामीजस्ता बूढाबूढीलाई छाडेर छोराहरू विदेश जाने बाध्यताको अन्त्य हुनुपर्छ। मैले दिएको भोटले पनि राम्रो काम गर्नेले जितोस् भनेर दिएकी हुँ।’

स्थानीय तह निर्वाचनमा पनि मतदान गरेकी उनले यसपटक पनि मत दिने इच्छा व्यक्त गरेपछि बोकेर मतदान केन्द्र पुर्‍याएको छोरा प्रतापले बताए। भने, ‘आमाले मेरो एक भोटले सक्षम नेतृत्व चयन हुन्छ भनेपछि हामीले पनि उहाँलाई मतदान केन्द्रमा पुर्‍यायौं।’

पुरचौंडी नगरपालिका-८ मल्लादेहीमा रहेको डिलासैनी केन्द्रबाट ८८ वर्षीया सरुली बोहराले मतदान गरेकी छन्। उनले बिहान ७ बजे मतदान गरेको स्थानीय राजेन्द्र लुहारले बताए। सरुलीले भनिन्, ‘हाम्रो भोट शान्तिका लागि हो। बुढेसकालमा देशमा शान्ति र विकास भएको हेर्न चाहन्छौं।’

सुर्नया गाउँपालिकाकै भुमेश्वर मावि पत्थरकोट केन्द्रबाट ९० वर्षीय गगनसिंह कुँवर र रौलेश्वर मावि मतदान केन्द्रबाट १०८ वर्षीया नन्दा लुहारले पनि मतदान गरे। त्यस्तै, सुर्नया-४, भौनेलीकी ९९ वर्षीया मानमतीदेवी चन्दले पनि मतदान गरिन्। राष्ट्रिय मावि फाटिगडा मतदान केन्द्रबाट मतदान गरेकी उनले अबको पुस्ताको सुखद भविष्यका लागि भोट दिएको बताइन्।

भनिन्, ‘अहिलेसम्म विभिन्न राजनीतिक संघर्ष भए अब त्यसो नहोस्। हाम्रा छोरानातिले यही देशमा केही गरेर खान सक्ने वातावरण बनोस्।’पाटन नगरपालिका भुमेश्वरका ८४ वर्षीय जितबहादुर विष्टले ज्येष्ठ नागरिकको चाहना दिगो शान्ति रहेको बताए। भने, ‘हामी त डुब्न लागेका घाम हौं। अब उदाउने पुस्ताले स्वदेशमै केही गर्न सक्ने वातावरण बनोस्, जसले हाम्रो देशको समुन्नति पनि होस्।’

बैतडीमा ६० प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। आइतबार नै मतपेटिका ढुवानीको काम सुरु गरेको र सोमबारसम्म सबै मतपेटिका सदरमुकाम पुगिसक्ने उनले बताए।

मंसीर २१ गतेपछि मतगणना हुने भएकाले मतपेटिकालाई दशरथचन्द नगरपालिकाको हलमा भण्डारण गरिने भएको छ। त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिने मुख्य निर्वाचन अधिकृत गौतमले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.