६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?

६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?

 

काठमाडौं : संघ तथा प्रदेशसभा सदस्य चयनका लागि आइतबार सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो स्थानीय तह निर्वाचनभन्दा केही कम प्रतिशत हो । निर्वाचन आयोगले सबै स्थानको विवरण संकलनपछि केही प्रतिशत बढ्न सक्ने जनाएको छ ।

आइतबार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणमा मतदान भएको हो । बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि चिसो मौसमका कारण हिमाली क्षेत्रमा केही ढिलो गरी मात्र मतदान कार्य प्रारम्भ भएको थियो ।
थोरै मात्र मतदाता रहेका केन्द्रमा पनि कर्मचारीले आयोगले तोकेको साँझ ५ बजेसम्म मतदाता कुरेर बसेका थिए ।

सिन्धुपाल्चोक, रुकुम, भोजपुर, दार्चुला र बाजुराका केही मतदान केन्द्रमा झडप भए पनि मतदान कार्य शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको आयोगले जनाएको छ । मतदानस्थलमा वृद्धवद्धा, सुत्केरी र युवाको लामो पंक्ति उपस्थित देखिन्थ्यो ।

यसअघि तीन चरणमा सम्पन्न स्थानीय तह चुनावमा ७३ प्रतिशत मत खसेको थियो । २०७० को दोस्रो संविधानसभामा ७० प्रतिशत, ०६४ को संविधानसभा निर्वाचनमा ६१ दशमलव सात प्रतिशत, ०५६ सालको निर्वाचनमा ६५ दशमलव आठ र ०५१ को निर्वाचनमा ६१ दशमलव आठ र ०४८ सालको निर्वाचनमा ६५ दशमलव १४ प्रतिशत मत खसेको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उत्साजनक रूपमा मतदान सम्पन्न भएको जनाउँदै संविधान कार्यान्वयनलाई पूर्णता दिन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मतदाताको व्यापक सहभागिताबाट मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘स्थानीय तहमा टोल छिमेकका नेता छान्न ७० प्रतिशतभन्दा माथि मत खसेको थियो । यो राष्ट्रिय चुनाव भएकाले पनि मत कम खसेको हो।’

आइतबार साँझ आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘छिटफुट घटनाबाहेक उत्साहजनक रूपमा मतदान भएको छ । आयोग अब दोस्रो चरणको मतदान गराउने प्रक्रियामा छ ।’हिमाली जिल्लामा जाडो सुरु, मतदाता सहर पस्नु तथा पश्चिमी जिल्लाका मतदाता विदेशिएका कारण मत प्रतिशत घटेको आयोगको जनाएको छ ।संघीयता कार्यान्वयनका लागि जनताले उत्साहजनक रूपमा मतदानमा सहभागी भएको पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ बताउँछन्।

सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत
डोल्पामा ४० प्रतिशत मत
सोलुखुम्बु तिङ्लामा चुनाव बहिष्कार
लमजुङ मतदान अधिकृत बर्खास्त
मतपेटिकामा आगजनी÷दुई स्थानको मतदान स्थगित
दोलखा, बाजुरा र सिन्धुपाल्चोचमा झडप नियन्त्रण गर्न हवाई फायर
मतगणना दोस्रो चरणपछि


उनी भन्छन्, ‘जाडो मौसमका कारण हिमाली जिल्लामा मत कम खसेको हो । समग्रमा हेर्दा मत प्रतिशतको परिणाम राम्रो हो ।’पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रुकुम (पूर्वी भाग), रुकुम (पश्चिम भाग), रोल्पा, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी ३२ जिल्लामा मतदान भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको जानकारी दिए । समानुपातिकतर्फ ५४ र प्रत्यक्षतर्फ ३४ दल चुनावी प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ साँढे चार सय उम्मेदवार चुनावी मैदान थिए ।निर्वाचनका लागि प्रत्यक्षतर्फ दुई अलग–अलग र समानुपातिकतर्फ एउटै गरी तीन खाले मतपत्रको प्रयोग गरिएको छ । मतपत्र छरितो भएकाले स्थानीय तहमा भन्दा बदर मत कम हुने आयोगले विश्वास लिएको छ ।
दुई मतदान केन्द्रको स्थागित

आयोगका अनुसार रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएकाले मतदान कार्य स्थगित भएको छ

स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै पुनः मतदानको व्यवस्था मिलाउने छन् ।रुकुम पश्चिमको बाँफिकोट ५ स्थित रत्न आधारभूत विद्यालय केन्द्रमा रहेको एउटा मतपेटिका र आठबीसकोट ११ स्थित नेपाल राष्ट्रिय मावि केन्द्रको एक मतपेटिकामा आगजनी भएको छ ।

आठबीसकोटमा घटनालगत्तै कांग्रेसका उम्मेदवारका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँफिकोटको रत्न आधारभूत विद्यालयको मतपेटिकामा भने मतदाताले एसिड हालेको आशंका गरिएको छ । उक्त मतपेटिकामा दुई सय ५० मत खसेको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगले मतदान प्रक्रियाको अनुगमन गर्दा रोल्पा, रुकुम, बझाङ, भोजपुर, नुवाकोट, गोरखालगायत जिल्लामा बम विस्फोटका केही घटना भए पनि मानवीय क्षति नभएको जनाएको छ । ताप्लेजुङ, धादिङ, बागलुङ, दार्चुलालगायत जिल्लास्थित केही मतदान स्थल नजिकै विस्फोटक पदार्थ भेटिएको, बाजुरा, दोलखा, जाजरकोट, ओखलढुंगा र सिन्धुपाल्चोकमा दलका कार्यकर्ताबीच झडप हुँदा केही घाइते भएको आयोगले जनाएको छ ।

दोलखा, बाजुरा र सिन्धुपाल्चोक जिल्लामा झडप नियन्त्रण गर्न सुरक्षाकर्मीद्वारा हवाई फायरसमेत भएको थियो ।छिटफुट घटना, चिसो मौसम तथा भौगोलिक विकटताका बाबजुद मतदाता मताधिकार प्रयोग गर्न मतदान केन्द्रमा पुगेको आयोगले अनुगमनका क्रममा पाएको जनाएको छ ।

सोलुखुम्बुको तिङलाका बासिन्दाले स्थानीय तहको निर्वाचनमा जसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेका छन् । क्षेत्र निर्धारण गर्दा स्थानीय जनतालाई अपायक परेको जनाइएको छ ।टेलिफोन र सञ्चारका अन्य उपकरणको पहुँच नुहँदा छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्र सम्पर्कविहीन भएका हुन् ।

डोल्पामा ४० प्रतिशत बढी मतदान भएको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।लमजुङको मध्यनेपाल नगरपालिकास्थित कुशुमाकर मावि ‘ख’ का मतदान अधिकृत कुमारनाथ न्यौपानेलाई बर्खास्त गरिएको छ । सहायक मतदान अधिकृत सुमन थापामगरलाई मतदान अधिकृतको जिम्मा दिइएको थियो ।निर्वाचन अधिकृतले हस्ताक्षर नगरी मतपत्र मतदातालाई दिएपछि विवाद भएको थियो । विवादका कारण साढे एक घन्टा मतदान स्थगित भएको थियो । हस्ताक्षर नभएका मतपत्र मान्य नहुने निर्णय भएको छ ।

गणना दोस्रो चरणपछि

मंसिर २१ को दोस्रो चरण चुनावपछि मतगणना सुरु गरिने छ । पहिलो चरणको निर्वाचनका मतपेटिका ११ दिन सुरक्षाकर्मीको जिम्मामा राखिनेछन् । मतदान सकिएलगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने काम सुुरु भइसकेको छ । संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा राखिने छ ।

दुई चरणमा निर्वाचन भएको २०५६ सालको आमनिर्वाचनमा पनि मतपेटिकलाई यसरी नै सुरक्षित तवरले राखिएको आयोग प्रवक्ता ढकालले जानकारी दिए । ०७० सालको संविधानसभा निर्वाचनमा मतपेटिका साटेर धाँधली भएको आरोप लगाउँदै एमाओवादी मतगणनास्थलबाट बाहिरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.