दोस्रो चरणमा जुटे दल

दोस्रो चरणमा जुटे दल

काठमाडौं : पहिलो चरण निर्वाचन सम्पन्न भएसँगै प्रमुख दलहरू दोस्रो चरणको प्रचारप्रसार रणनीतिमा जुटेका छन्। शनिबारसम्म पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा केन्द्रित रहेका उनीहरूले अब पूरै शक्ति दोस्रो चरणमा लगाउन लागेका हुन्।

कांग्रेसको निर्वाचन परिचालन समिति सदस्य मानबहादुर विश्वकर्माले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘अब हामी काठमाडौं फर्कने तरखरमा छौं। त्यसपछि सम्पूर्ण रूपमा दोस्रो चरणका लागि परिचालित हुनेछौं।' कांग्रेसको निर्वाचन प्रचारप्रसार समिति सहसंयोजक बद्री पाण्डेका अनुसार पहिलो चरणमा खटिएका नेताहरू सोमबारसम्म काठमाडौं फर्किएपछि मंगलबारदेखि दोस्रो चरण निर्वाचनका लागि कसरी अघि जाने भन्नेमा छलफल थालिनेछ।

हुन त कांग्रेसको निर्वाचन परिचालन समितिले मंगलबारदेखि १५ गतेसम्मका लागि केन्द्रीय नेता सहभागी हुनेगरी यसअघि नै विभिन्न चुनावी सभा तथा कार्यक्रम तय गरिसकेको छ। यसैगरी वाम गठबन्धनले पनि यस अघिदेखि सुरु भएको चुनावी प्रचारलाई यथावत् राख्दै दोस्रो चरणका लागि थप रणनीति बनाउने जनाएको छ। आउँदो २१ गते दोस्रो चरणअन्तर्गत ४३ वटा जिल्लामा निर्वाचन हुँदै छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पश्चिम तराईका विभिन्न सहरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समिति संयोजक विष्णु रिमालले बताए। ‘त्यसपछिका कार्यक्रमबारे छलफल चलिरहेको छ', उनले भने, ‘एक-दुई दिनमै हामी दोस्रो चरणलक्षित कार्यक्रम बनाउने छौं।'


पहिलो चरण निर्वाचन सकिएलगत्तै प्रमुख दलहरू पूरै शक्तिसहित दोस्रो चरण निर्वाचन प्रचारमा जुट्ने भएका छन्।

यसअघि भएको स्थानीय तह निर्वाचनमा एमाले अध्यक्ष ओलीले प्रदेश २ मा पर्ने मधेसका भित्री क्षेत्रमा प्रचारप्रसार गर्न पाएका थिएनन्। राजमार्गमा पर्ने केही सहरमा पुगे पनि प्रदेश २ का आठ जिल्ला सदरमुकामसमेत पुगेका थिएनन्। पछिल्लो समय माओवादीसँग गठबन्धन गरेको एमालेले आफ्ना केन्द्रीय नेताहरूलाई प्रदेश २ मा चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम बनाएर पठाएको छैन। एमालेको प्रचारप्रसार संयोजक रिमालले प्रदेश २ का लागि चुनावी कार्यक्रमको योजना बनाउने काम सुरु भएको बताए।

मधेस आन्दोलनपश्चात एमालेको चहलपहल घटेको विश्लेषण भइरहेका बेला माओवादीसँग सहकार्य गरेपछि यसपटक धेरै ठाउँमा कांग्रेस र मधेसी पार्टीलाई कडा टक्कर दिने आकलन गरिएको छ। असोज ३ मा सम्पन्न स्थानीय तह निर्वाचनमा मुख्य पदमा एमालेको अवस्था कमजोर देखिएको थियो भने माओवादीले सन्तोषजनक मत पाएको थियो।

कांग्रेस नेताहरू यस अघिदेखि नै मधेसमा पटक-पटक चुनावी प्रचारप्रसारका लागि पुगिरहँदा वाम गठबन्धनका शीर्ष नेता मधेस झरेका छैनन्। उनीहरू कस्तो योजनासहित मधेस पस्छन् भन्ने चासोको विषय बनेको छ। दुई वर्षअघि संविधान जारी हुँदादेखि नै संशोधनको मुद्दा उठाउँदै आएका मधेसी दलले एमालेको अनुदार नीतिलाई हतियार बनाइरहेका बेला त्यसलाई चिर्ने योजनासहित तराई झर्ने योजना रहेको रिमालले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.