सन्तोषजनक मतदान
प्रतिनिधिसभा र प्रदेशसभाका पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा भएको निर्वाचनमा निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार करिब ६५ प्रतिशत मतदान भएको छ ।
आयोगका अनुसार बाजुरा जिल्लामा ८० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तुलनात्मक रूपमा कम मतदान भएका जिल्लामा ५० प्रतिशतभन्दा बढी भएका छन् । सुरक्षा जोखिम र विभिन्न प्रतिकूलताका बीच मतदान हुनुलाई सन्तोषजक रूपमा लिइएको छ । यसअघि भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । मौसमको प्रतिकूलता र उत्पन्न सुरक्षा चुनौतीका कारण चुनाव साह्रै उत्साहजनकचाहिँ बन्न सकेन ।
चुनावका बारेमा विभिन्न संशय र प्रतिकूलता थिए । सरकारले चुनाव गराउने प्रतिबद्धता जनाए पनि प्रतिपक्षी दलहरू त्यसप्रति विश्वस्त हुन सकेका थिएनन् । दलहरूबीच विश्वासको संकटले पनि सर्वसाधारणमा निर्वाचनप्रति दुविधा उत्पन्न भएको थियो । चुनावको पूर्वसन्ध्यामा उम्मेदवार, दलका मुख्य नेता र तिनका आवास, मतदान केन्द्रमाथि लक्षित ‘अज्ञात’ समूहको बम र र धराप विस्फोटजस्ता हिंस्रक र भय उत्पन्न गर्ने गतिविधिले पनि मतदान प्रभावित भएको छ ।
खासगरी मतदानकै दिन पनि विभिन्न मतदान केन्द्र र त्यसका नजिकै भएका विस्फोटका घटनाले मतदातालाई नकारात्मक मानसिक प्रभाव पारेका छन् । सर्वसाधारणलाई ओहोरदोहोर गर्न रोक लगाउने नियतले राजमार्गहरू अवरुद्ध पार्ने गरी बम फालिए । मतदानकै दिनमा पनि भोजपुरका च्यांग्रे र तिवारीभञ्ज्याङ मतदान केन्द्रमा बम विस्फोट भए । रुकुमको आठबीसकोटमा मतबाकसमा एसिड आक्रमण गरियो । यस्ता गतिविधिका कारण मतदाताले असुरक्षाको महसुस गर्नुपर्यो।
हिमाली र उच्च पहाडी क्षेत्रमा चिसोले मतदानमा प्रतिकूल असर पार्यो । विज्ञहरूले कात्तिकको अन्तिम सातासम्म निर्वाचन गरिसक्नुपर्ने सुझाव दिँदादिँदै पनि मंसिर १० मा चुनाव मिति तोकिँदा ती क्षेत्रमा चुनाव प्रभावित हुन पुग्यो । चिसोका कारण चार हजार दुई सय मिटरको उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका- ७ स्थित याङ्मामा ५७ जना मतदाता रहेकोमा १६ जनाले मात्र मतदान गरे, जहाँ ४१ जना अनुपस्थित रहेका थिए।
संविधान र संघीयता कार्यान्वयनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कोसेढुंगा हुन् । त्यसका लागि चुनावको सफलता अनिवार्य सर्त हो । विभिन्न वाधा, अड्चन र चुनौती हुँदाहुँदै पनि पहिलो चरणको चुनाव सकिएको छ । अपेक्षाकृत उत्साहजनक नदेखिए पनि चुनाव सफलतापूर्वक सम्पन्न भएको छ।
सरकारले सुरक्षा चुनौतीलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्दा र मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन नसक्दा मतदान पूरै उत्साह र उल्लासमय हुन सकेन । दोस्रो चरणको चुनावमा अहिले देखिएको कमीकमजोरी सुधार्दै धेरैभन्दा धेरै मतदातालाई यो प्रक्रियामा ल्याउनेतर्फ सबै पक्ष केन्द्रित हुनु जरुरी छ । कम्तीमा पहिलो चरणमा भएको सन्तोषजनक मतदानले दोस्रो चरणको चुनावलाई सुनिश्चित गरेको छ । यसलाई पूर्णरूपमा सफल बनाउन सबैको ध्यान जानु आवश्यक छ ।