पाकिस्तानमा संकट, सेना परिचालन
इस्लामाबाद : पाकिस्तानमा प्रहरी र कट्टरपन्थी धार्मिक समूहका प्रदर्शनकारीबीच भएको झडपपछि सरकारले स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरेको छ । सेनालाई संसद् भवन, राष्ट्रपति र प्रधानमन्त्री निवास, विदेशी कूटनीतिक नियोग जस्ता महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा खटाइएको छ ।
शनिबारदेखि शुरु भएको तनाव आइतबार पनि रोकिएको छैन । पाकिस्तान सरकारले टेलिभिजन च्यानल र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ । राजधानी इस्लामाबादमा भड्किएको हिंसा विभिन्न शहरमा फैलिएको छ । कराची, हैदराबाद, लाहोर, गुजरात, फैसलाबाद र पेशावरलगायतका शहर तनावपूर्ण बनेका छन् । इस्लामाबादमा शनिवार भएको भिडन्तमा १० जनाको मृत्यु भएको छ । यसैगरी २ सय ५० भन्दा बढी घाइते भएका छन्।
राजधानी इस्लामाबाद प्रवेश गर्ने राजमार्गमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई हटाउन प्रहरी र अर्ध सैनिक बलले शनिबार एकाबिहानै बल प्रयोग गरेका थिए । प्रदर्शनकारी पत्थर र लाठी लिएर त्यसको प्रतिवाद गरेका थिए । कैयौँ धार्मिक संगठनका करिब २ हजार कार्यकर्ता दुई साताभन्दा लामो समयदेखि धर्ना बसिरहेका थिए । उनीहरूले इस्लामाबाद एक्सप्रेसवेलाई घेराबन्दी गरेका थिए । उक्त सडकले इस्लामाबाद र रावलपिण्डीलाई जोड्ने गर्छ । रावलपिण्डीस्थित सैनिक मुख्यालय र विमानस्थल जोड्ने यो मात्र एक मार्ग हो।
प्रहरी र अर्धसैनिक बलले प्रदर्शनकारीलाई तितरबितर गर्न अ श्रुग्याँस र रबरका गोली प्रहार गरेका थिए । प्रहरीले प्रहार गरेका अ श्रुग्याँस विस्फोट नहुँदै समातेर प्रर्शनकारीले सुरक्षाकर्मीमाथि फ्याँकेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरी र अर्धसैनिक पछि हटेका थिए । स्वास्थ्य अधिकारीहरूका अनुसार २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । तीमध्ये ९५ भन्दा बढी सुरक्षाकर्मी छन् । घाइतेहरूको इस्लामाबाद र रावलपिण्डीका अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीको लाठी प्रहारबाट टाउकोमा चोट लागेर एक प्रहरीको मृत्यु भएको छ । इस्लामाबादमा सेना तैनाथ गर्ने सरकारको मागलगत्तै प्रधानमन्त्री शाहिद अब्बासी र सेना प्रमुख जनरल कमर जावेद बाजवाबीच छलफल भएको छ । स्थिति भड्किएपछि सेना प्रमुख जनरल बाजवा स्वदेश फिर्ता भएका थिए । संयुक्त अरब इमिरेट्सको यात्रामा रहेका बाजवा कार्यक्रम रद्द गरेर शनिबार राति नै स्वदेश फर्किएका थिए ।
सेनाले दंगा नियन्त्रणमा लिनुपूर्व आफ्नो स्थिति के हुने भन्ने विषयमा सरकारसँग जानकारी मागेको छ । प्रदर्शनकारीले कानुनमन्त्री जाहिद हमीदको राजीनामा मागिरहेका छन् । उनीहरूले सेप्टेम्बरमा निर्वाचन विधेयक २०१७ मा खत्म-ए-नबूवतको उल्लेख गरेर कानुन परिवर्तन गरेको भन्दै उनको राजीनामा मागेका छन् ।
यसबाट मोहम्म्दको सर्वोच्चतामाथि अपमान भएको उनीहरूको भनाइ छ । उनीहरूको विरोधपछि सरकारले कानुनमा संशोधन गरेर मूल शपथलाई बहाल गरेको छ । यद्यपि कट्टरपन्थीहरूले कानुनमन्त्रीले राजीनामा नदिएसम्म आन्दोलन जारी राखेका छन् ।
प्रदर्शनकारीको भारतसँग सम्बन्ध भएको आरोप
पाकिस्तानले राजधानी इस्लामाबादलगायतका शहरमा भएको तनावमा भारतको संलग्नता रहेको आरोप लगाएका छन् । आन्तरिक मामिलामन्त्री अहसान इकबालले इस्लामाबादमा विरोध प्रदर्शन गरिरहेका कट्टरपन्थी धार्मिक समूहले भारतसँग सम्पर्क गरेको दाबी गरेका छन् । सरकारले यस विषयमा जाँच गरिरहेको पनि उनले जानकारी दिए ।
डान न्युजसँग इकबालले प्रदर्शनकारी साधारण मानिस नभएको बताए । उनले भने, ‘उनीहरूसँग ढुंगा र लाठी थिए ।’ उनीहरूले सुरक्षाकर्मीमाथि अ श्रुग्याँस प्रहार गरेको पनि आरोप लगाए । प्रदर्शनकारीले आफ्ना गतिविधि निगरानी गरिरहेका क्यामेराका तार काटिदिएका थिए । यसै कारण पनि प्रदर्शनकारीको भारतसँग सम्पर्क भएको उनले दोहोर्याए ।
पाकिस्तानको विरोधमा भारतले साथ दिएको उनको भनाइ छ । भारतीय अधिकारीले भने यस्ता हास्यास्पद आरोप लगाउनुको साटो पाकिस्तानमा सक्रिय आतंकवादीविरुद्ध कारबाही गरे उचित हुने बताए ।