छिटफुट घटनाकाबीच निर्वाचन शान्तिपूर्ण

छिटफुट घटनाकाबीच निर्वाचन शान्तिपूर्ण

 

काठमाडौं : केही मतदान केन्द्रबाहेक ३२ जिल्लामा आइतबार शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । चुनाव बिथोल्न मतदानस्थलमै बम राखिए पनि सुरक्षाकर्मी र मतदाताको सुझबुझमा मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो ।

प्रहरी मुख्यालयका अनुसार सोलखुम्बुको सल्यान गाउँपालिका र हुम्लाको माङ्खा गाउँपालिकामा चुनाव बहिस्कार गरेका थिए । रुकुमको आठबीसकोट नगरपालिकास्थित नेपाल राष्ट्रिय मावि ‘ख’ मतदान केन्द्रमा अज्ञात समूहले मतपेटिकाभित्र एसिड हालेर जलाइदिएपछि प्रतिनिधिसभातर्फको चुनाव स्थगित भएको छ ।

रुकुमकै अर्को मतदान बाफिकोट गाउँपालिकास्थित रत्न आधारभूत विद्यालयक ‘क’ केन्द्रमा समानुपातिकतर्फको मतदान स्थगित भएको छ । त्यसैगरी अज्ञात समूहले जाजरकोट, नुवाकोट दार्चुला, दोलखा, बागलुङ र ताप्लेजुङका विभिन्न स्थानमा चुनाव प्रभावित गर्ने तवरले बम राखेका थिए । सेना, प्रहरी र सशस्त्र प्रहरीको डिस्पोजल टोलीले बम डिस्पोज गरेको प्रहरी मुख्लायले जनाएको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका ७ स्थित गोविन्द मावि मतदान केन्द्र नजिकै बम राखिएको थियो । सेना र प्रहरीले उक्त बम डिस्पोज गरेका थिए । रोल्पाकै माडिखोला गाउँपालिकास्थित पेदिखोला मतदान केन्द्र नजिकै बम विस्फोट गराइएको थियो । चुनाव प्रभावित पार्न बम विस्फोट गराए पनि सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण मतदाताले सहजै मतदान गरेका थिए ।

प्रहरीले विभिन्न स्थानबाट विप्लव माओवादीका एक सय ५१ जनालाई पक्राउ गरेको छ । प्रहरीले ३६ स्थानबाट विस्फोटक पदार्थ बरामद गरेको छ । तीमध्ये एक सय ५२ थान गोली, एक सय ५२ थान डेटोनेटर, पाँच सय ५५ वटा जिलेटिन, १५ केजी बारुद, दुई सय ५० मिटर तार र ६ सय बढी पटाका बरामद गरेको प्रहरी मुख्यालयले जनाएको छ । सिन्धुपाल्चोक र दोलखामा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडपको अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको बताए । उनले भने, ‘चारै वटा सुरक्षा निकासबीच आपसी समन्वयका कारण चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भयो । केही स्थानमा विस्फोटक पदार्थ राखेर मतदातालाई भ्रमित पार्न खोजे पनि सुरक्षाकर्मीको सुझबुझले केही हुन पाएन ।’

उनले हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर प्रहरी परिचालन भएकै कारण अकल्पनीय घटना हुन नपाएको बताए ।चुनावमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी एक लाख ७० हजार बढी सुरक्षाकर्मी र ९८ हजार एक सय ७६ जना म्यादी प्रहरी खटिएका थिए ।

कहाँकहाँ भेटियो बम ?

जाजरकोट- त्रिवेणी नलगाड नगरपालिका ७ गुनाभीरमा

नुवाकोट- ककनी गाउँपालिका २ स्थित काउलेमा प्रेसरकुकर बम

दार्चुला- महाकाली नगरपालिका ४ खलंगा कागजभित्र गोलो बम

रूपन्देही- बुटवल उपमहानगरपालिका १० स्थित जंगलमा धागोले बेरेको बम

रोल्पा- त्रिवेणी गाउँपालिका ७ गोविन्द मावि नजिकै विस्फोटक पदार्थ

दोलखा-भीमसेन नगरपालिका ३ स्थित सडक कार्यालय अगाडि सकेट बम

दोलखा- भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा सकेट बम

कपिलवस्तु- वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा सुतली बम

बाग्लुङ- बडिगाड गाउँपालिका ७ डाँडागाउँमा दुई वटा सुतली बम

ताप्लेजुङ- आठराई त्रिवेणी गाउँपालिका ३ स्थित सरस्वती माविको कम्पाउन्डमा प्रेसरकुकर बम
स्रोत : नेपाल प्रहरी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.