छैन चुनावी रौनक, पीडा र गुनासा मात्रै

छैन चुनावी रौनक, पीडा र गुनासा मात्रै

काठमाडौं : निर्वाचन आउन १० दिन मात्रै बाँकी रहँदा पनि काठमाडौंको पुरानो र ऐतिहासिक बजार धर्मस्थलीलाई चुनावी रौनकले छोएको छैन ।तारकेश्वर नगरपालिका ६ मा पर्ने धर्मस्थलीका बासिन्दालाई चुनावले कुनै उत्साह नथपे पनि विभिन्न राजनीतिक दलको प्रचारमा लेखिएका ब्यानर र तुल भने बजारभरि टाँगिएका छन् ।

निर्वाचन क्षेत्र ६ मा पर्ने यहाँ वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका झक्कु सुवेदी र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

कुनै बेला काठमाडौंको चर्चित असन र इन्द्रचोकजस्तै चर्चित थियो धर्मस्थली बजार । राजधानीको नयाँ बसपार्कबाट झन्डै चार किमि उत्तरमा पर्ने यहाँका बासिन्दा राज्य र नेताबाट वर्षौंदेखि उपेक्षित हुनुपरेको पीडाकै कारण निर्वाचनमा खुल्न नसकेका हुन् । २०७२ सालको विनाशकारी भूकम्पका कारण यो बजारका चार सय घरमध्ये तीन सयभन्दा बढी पूर्ण रूपमा भत्किएका थिए । बजारै ध्वस्त हुँदा पनि राज्य र नेताहरूको दृष्टि नपरेकोमा यहाँका बासिन्दा रुष्ट छन् ।

भूकम्पमा यहाँका १८ जनाले ज्यान गुमाएका थिए । त्यो चोटमा राज्य र नेताले कुनै मल्हम नलगाएको स्थानीय अगुवा ८० वर्षीय बुद्धवीर विन्दुकारले बताए । ‘त्यत्रो विपद् पर्दा पनि नेताहरू खासै आएनन् न त सरकारले नै हेर्‍यो’, उनले थपे, ‘दुःख र संकट पर्दा नआउने नेताहरूलाई किन भोट दिने ? ’

सोमबार धर्मस्थली बजार पुग्दा केही वृद्ध छलफल गरिरहेका थिए । भूकम्पपछिको धर्मस्थली बजारको अवस्था र अहिले निर्वाचनको माहोल बुझ्न आएको बताएपछि उनीहरू खुल्न थाले । ८८ वर्षीय बाबुराम तिमल्सिनाले धर्मस्थली बजारको इतिहास कोट्याए, ‘यो बजार असन र इन्द्रचोकभन्दा कम थिएन । ५० वर्षअघि राजा-महाराजा घोडा र पाल्की चढेर घुम्न आउँथे ।’ उनका अनुसार पुरानो र ऐतिहासिक महत्व बोकेको यो बजार एकपछि अर्को गर्दै नेता र मन्त्रीबाट उपेक्षित हुँदै आएको छ ।

उनका अनुसार त्रिभुवन र पृथ्वी राजमार्ग खुल्नुअघि काठमाडौंबाट पश्चिम नेपाल जाने मुख्य द्वार थियो धर्मस्थली बजार । त्यतिखेर यहाँको रौनक नै छुट्टै थियो । मल्लकालमा यही बजारमा रहेर द्वारेहरूले मुद्दा-मामिलाको छिनोफानो गर्ने गरेको इतिहास पनि वृद्धहरूले सुनाए ।‘यसअघि धेरैलाई भोट हाली जिताएर पठाइयो तर जितेपछि मुख देखाउन कोही पनि आएनन्,’ ७१ वर्षीय माधव खनालले भने, ‘बजार झन् पछि झन् उपेक्षित हुँदै आयो ।’

यो क्षेत्रबाट यसअघि एमालेका सहाना प्रधान, मंगलसिद्धि मानन्धर, राजेन्द्र श्रेष्ठ, माओवादीका हितमान शाक्य र कांग्रेसका भीमसेनदास प्रधानले नेतृत्व गरेका थिए । त्यसरी जितेकामध्ये राजेन्द्र श्रेष्ठले मात्रै बारम्बार आएर स्थानीयको पीडा सुन्ने गरेको विन्दुकारले बताए ।

२०७२ को विनाशकारी भूकम्पमा १८ जनाको ज्यान गएको धर्मस्थलीमा आसन्न निर्वाचनको रौनक छैन, छ त केवल स्थानीयका पीडा र गुनासा मात्रै ।

दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका कांग्रेसका भीमसेनदास प्रधान मन्त्री बने पनि आफूहरूको दुःखको साथी बन्न नसकेको ७६ वर्षीय लालसिंह महर्जनले बताए । ‘हामीले जिताएर पठाएको मान्छे मन्त्री भएका छन् तर हामीलाई सान्त्वना दिनसम्म आएका छैनन्’, उनले दुखेसो पोखे ।

महाविपत्तिका बेला प्रधान एकपटक आए पनि पार्टीका स्थानीय नेतालाई मात्रै भेटेर फर्किएको उनले बताए । ‘अहिले भने निर्वाचन आउन लागेकाले सबै नेता आउन थालेका छन्, उनीहरूले विगतमा देखाएको व्यवहारका कारण भोट हाल्न मन नै छैन’, उनले भने ।

भूकम्पअघिसम्म कच्ची घरले भरिएको बजारमा अहिले धमाधम पक्की घर ठडिइरहेका छन् । कैयौं रात छाप्रोमा जीवन गुजारेका स्थानीयले सरकारबाट पाउने भनिएको राहतसमेत पाएका छैनन् । सरकारी राहतसमेत नपाएपछि उनीहरू धमाधम पुख्र्यौली खेत बेच्दै घर ठड्याइरहेका छन् । खेत बेच्दै घर बनाउँदा बिहान-बेलुका के खाने भन्ने समस्याले पनि उनीहरूलाई उत्तिकै पिरोल्न थालेको छ।

चुनावमा भोट माग्दै आउन थालेका उम्मेदवारसँग उनीहरूको एउटै माग छ- हाम्रा कुरा नेताहरूले सुनिदिऊन्, आफ्नो ठाउँ पहिलाको जस्तै बनोस्, बजारको रौनक फर्कियोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.