काठ नहुँदा सम्पदा पुनर्निर्माण रोकियो

काठ नहुँदा सम्पदा पुनर्निर्माण रोकियो

भक्तपुर: बजारमा साल (अग्राख) को काठ नपाइँदा भूकम्पमा भत्केका भक्तपुरका सम्पदाको पुनर्निर्माण प्रभावित भएको छ । अग्राख नपाइँदा पुनर्निर्माण भइरहेका सम्पदाको काम रोक्नुपरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
अग्राखका लागि अग्रिम रकम दिँदा पनि नेपाल टिम्बर कर्पोरेसन (टीसीएन) बाट काठ उपलब्ध हुन नसकेको उनको गुनासो थियो । उनका अनुसार अघिल्लो वर्ष नै कर्पोरेसनलाई काठका लागि ३५ लाख रुपैयाँ अग्रिम उपलब्ध गराइएको थियो ।
‘अग्राख नहुँदा सम्पदा पुनर्निर्माण नै रोक्नुपरेको छ', प्रमुख प्रजापतिले भने, ‘सम्पदामा आवश्यक पर्ने ठूला साइजका अग्राख त झनै पाउन सकिएको छैन ।'
उनले नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्दा पनि अग्राख, ढुंगालगायत निर्माण सामग्री अभावले सम्पदा पुनर्निर्माण चुनौतीपूर्ण बनेको सुनाए ।
अग्राख उपलब्ध नहुँदा अहिले भक्तपुर दरबार क्षेत्रस्थित करिब आधा दर्जन सम्पदाको पुनर्निर्माण रोकिएको छ । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत वत्सला मन्दिर र केदारनाथ मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।
पुरातŒव विभागअन्तर्गत रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मातहत तवः सत्तल (लामो पाटी), फसीदेग, सिद्धिलक्ष्मी मन्दिर र राष्ट्रिय कला संग्रहालय रहेको सिंहध्वाका दरबारको उत्तर पश्चिमस्थित एक भागको पुनर्निर्माण भइरहेको छ । दरबार हेरचाह कार्यालयले ठेक्कामा सम्पदा पुनर्निर्माण गरिरहेको हो । तर अग्राख अभावले यी सम्पूर्ण सम्पदा पुनर्निर्माण अहिले प्रभावित भएको कार्यालयले जनाएको छ ।
भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख इन्जिनियर रामगोविन्द श्रेष्ठले अग्राखका लागि सम्भव भएसम्म सबै बजार धाउँदा पनि उपलब्ध हुन नसकेको जानकारी दिए ।
‘अग्राखका लागि कैलालीको धनगढीसम्म पुग्दा पनि पाउन सकिएन', उनले भने, ‘अग्राख नहुँदा भक्तपुर तलेजुको पूर्वीलङ जीर्णोद्धार नै रोक्नुपरेको छ ।'
निजी ठेकेदारहरूले जति मूल्य भने पनि तिर्ने गरेकाले नगरपालिकाले अग्राख पाउन कठिन भएको उनी बताउँछन् । नगरपालिकाले सरकारी मूल्यमा टीसीएनसँग काठ किन्ने गर्छ, जुन बजार मूल्यभन्दा थोरै हुन्छ । इन्जिनियर श्रेष्ठले बजार मूल्यभन्दा कममा काठ उपलब्ध गराउनुपर्ने भएकाले पनि निजी व्यापारीले समेत नगरपालिकालाई अग्राख उपलब्ध नगराएको बताए ।
अहिले भक्तपुरमा ठूलासाना गरी करिब दुई दर्जनभन्दा बढी भूकम्पमा क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण भइरहको छ । २०७२ साल वैशाख १२ र त्यसपछिका पराकम्पले भक्तपुर नगरभित्रका मात्रै एक सय ३६ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये ७४ सम्पदा पूर्ण र ६२ वटामा आंशिक क्षति पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.