निर्वाचन आयोगलाई पाठ

निर्वाचन आयोगलाई पाठ

स्थानीय तह, अहिले सम्पन्न प्रदेश र केन्द्रको पहिलो चरणको चुनाव गराउन सक्नु निर्वाचन आयोगको सफलता हो । यसबीचमा आयोग सतहमै देखिने गरी चुक्यो । जसलाई उसले गम्भीर पाठका रूपमा लिँदै कम्तीमा अबको चुनावमा त्यस्ता कमीकमजोरी दोहोर्‍याउनु हुँदैन । दोस्रो चरणको निर्वाचन दश दिनपछि हुँदैछ । पछिल्ला चुनावमा भएका कमीकमजोरी सुधार्न उसले आजैबाट गृहकार्य थाल्नु आवश्यक छ ।

आयोगको सबैभन्दा ठूलो कमजोरी उसले निर्वाचन आचारसंहिताको पालना प्रभावकारी र सही ढंगले गराउनै सकेन । राजनीतिक दल, नेता र सरकार समेतले पटकपटक आचारसंहिता उल्लंघन गरे तर आयोग निरीह बन्यो । आचारसंहिता उल्लंघन गर्ने केही नेतासँग प्रस्टीकरण मागे पनि त्यस्तो उल्लंघनको कडाइका साथ अनुगमन गर्ने, पालना नगर्नेलाई कार्बाही गर्ने तहमा ओर्लन सकेन ।

मौन अवधिको मर्यादा दलहरूले पालना नगरेको मात्रै होइन, उम्मेदवार स्वयंले मतदान केन्द्र-केन्द्रमै पुगेर खुलेआम मत मागिरहेका दृश्यसमेत देखिए । मौन अवधिमा गरिएका यी क्रियाकलाप आपत्तिजनक हुन् । तर उम्मेदवार र दलले मौन अवधिको संवेदनशीलतालाई बेवास्ता गरिँदा समेत आयोगले बेवास्ता गर्नु उचित होइन ।

गरिब र अशिक्षित ग्रामीण वस्तीमा मौन अवधिकै समयमा मतदाता प्रभावित पार्ने गरी खुलेआम रक्सी र मासुका भोजसमेत लागे । यस्ता विषयलाई आयोगले छुन सकेको देखिएन । यसरी आचारसंहिता उल्लंघन र उपहास रोक्न आयोगको बलियो अनुगमन र उल्लंघन गर्ने दल र नेतालाई कार्बाहीको दायरामा ल्याउन सक्नुपर्छ ।

आयोगले प्रभावकारी ढंगले गर्न नसकेको अर्को काम थियो, मतदाता शिक्षा । मतदाता शिक्षाका नाममा गतिलै खर्च भए पनि भोट खसाल्नेबारे शिक्षित युवासमेत अल्मलिएको देखियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि बेग्लै मतपत्र र प्रदेशतर्फ अर्को मतपत्र हुँदा भोट संकेत गर्न असहज भएको देखियो । तर समानुपातिकतर्फ एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको लागि चिन्ह राखिएको हुँदा शिक्षित मतदातासमेत अलमलमा परे । जसले गर्दा मतपत्रमाथि पनि प्रश्न उठेको छ ।

यसले आयोगले मतदाता शिक्षासम्बन्धी कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नसकेको आम गुनासो छ । जसलाई कमजोरीका रूपमा लिनु आवश्यक छ । दोस्रो चरणका चुनाव आउन केही दिन बाँकी रहेको बेला आयोगले मतदाता शिक्षामा जोड दिनु आवश्यक छ । नयाँ संविधान बनेपछि पहिलो पटक प्रदेश र केन्द्रको चुनाव भएको हो । यो आम मतदाताका लागि नयाँ प्रयोग हो ।

चुनावबारे बुझाउनेतर्फ आयोग उदासीन भएकैले धेरै मानिस चुनाव, मतदान प्रक्रिया आदि विषयमा अलमलमा परे । चुनावबारेको अलमल र उदासीनताबाट पाठ सिक्दै आम मतदातालाई दीक्षित गर्ने दायित्व आयोगको हो । आयोगमा यसबारे समीक्षा हुनुपर्छ ।

मतपत्रको गुणस्तरीयता, संख्या, चिन्ह राख्ने तौरतरिका आदि पक्षमाथि पनि प्रश्न उठेका छन् । मतपत्रका लागि पहिलेपहिले भन्दा पातलो कागज प्रयोग भएकाले कतिपय वृद्धवृद्धाले सहजै चिन्ह छुट्याउन समेत नसकेको गुनासो पहिलो चरणको चुनावका क्रममा यथेष्ट सुनियो ।

दोस्रो चरणका लागि पनि मतपत्र छापिसकिएकाले मतपत्रसँग सम्बन्धित कमजोरी आयोगले अहिले सुधार्न सक्दैन, यद्यपि उसले आचारसंहिता परिपालना र मतदाता शिक्षालाई प्रभावकारी बनाउनेतर्फ बाँकी केही दिन थप संवेदनशीलताका साथ काम गर्न सक्छ । सरकारले पनि चुनाव सामु भएका सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न गम्भीरता देखाउनु आवश्यक छ ।

लोकतन्त्रको अक्सिजन हो, मत । स्थानीय चुनावमा भन्दा अहिले करिब आठ प्रतिशत कम मत खसेबाट अहिलेको चुनावमा जनसहभागिता र चासो पनि कम भएको देखिन्छ । चुनाव गराउन सफल देखिए पनि यस अर्थमा मतको महत्ता स्थापित गराउन आयोग निस्फल भएको देखिन्छ । त्यसकारण उल्लेखित विषयलाई गम्भीरताका साथ लिँदै आयोगले भविष्यका रणनीति र कार्यक्रम तय गर्नु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.