टीकापुरमा सद्भावको खोजी

टीकापुरमा सद्भावको खोजी

धनगढी: टीकापुर घटनापछि थारू र पहाडी समुदायबीच बढेको दूरी स्थानीय तह निर्वाचनले केही घटाइदियो । तर, यी दुई समुदायबीच अझै पनि सुमधुर सम्बन्ध भइसकेको छैन । प्रतिनिधि र प्रदेशसभा चुनाव सद्भावका लागि हुने आसा स्थानीयमा छ ।

कैलाली १ मा पर्ने टीकापुर क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार उत्सर्गमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य मदनकुमारी शाह (गरिमा) र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने चुनावी मैदानमा छन् । दुवै निवर्तमान सांसद हुन् ।

‘दुई ‘हेभिवेट' महिलाबीचको प्रतिस्र्धा रोचक छ', टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्द हमाल भन्छन्, ‘चुनावमै सद्भावको खोजी भइरहेको छ ।' वाम गठबन्धनले टीकापुर घटनापछि दुवै समुदायका मत तान्न र सद्भावका लागि पनि प्रतिनिधिसभामा पहाडी समुदाय र प्रदेशसभाका दुवै सिटमा थारू उम्मेदवार उठाएको छ । थारू र पहाडी समुदायका उम्मेदवारले एकैसाथ भोट मागिरहेका छन् । उनीहरूले भोट मात्र मागिरहेका छैनन् ।

दुवै समुदाय मिलेर बस्नुपर्ने सन्देश पनि दिइरहेका छन् । दलले कँडिएको स्थानीयको मन जोड्ने प्रयास गरिरहेका छन् । त्यसैको कडीको रूपमा वाम गठबन्धनले कैलालीको प्रदेशसभा १ र २ बाट थारू उम्मेदवार उठाएको छ । प्रदेशसभा १ बाट लालवीर चौधरी र प्रदेशसभा २ बाट जनमुक्ति सेनाका तत्कालीन सातौं डिभिजनका सहकमान्डर नेपबहादुर चौधरी (सिंहराज) लाई उमेदवार बनाएको छ । लालवीर टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीका बुवा हुन् । ०६४ सालको संविधानसभा निर्वाचनमा नेपबहादुर पत्नी रूपा चौधरीले झन्डै तेब्बर मतान्तरले जितेकी थिइन् । उनी अहिले पतिका लागि मत मागिरहेकी छन् ।

‘टीकापुरमा अहिले पनि सद्भावको खाँचो छ । यो चुनावले उनीहरूको मन जोड्न भूमिका खेल्नेछ', क्षेत्र १ मा घरदैलो गरिरहेकी शाहले भनिन् । ‘कतै–कतै अझै पनि मनमा शंका छ भन्ने भान हुन्छ, हामी प्रचारका क्रममा त्यसलाई पनि मेटाउने प्रयास गरिरहेका छौं', उनले अनुभव सुनाइन् ।

त्यसो त टीकापुर घटनाका अभियुक्त रेशम चौधरी नै राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी घटनालगत्तै प्रहरीको सूचीमा फरार छन् । भर्खरै एमाले प्रवेश गरेका आफ्ना बुवा लालवीरलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएर वाम गठबन्धनले थारू मत तान्ने रणनीति बनाएको छ ।

‘म टीकापुर क्षेत्रको समाजसेवी हुँ । स्थानीयले मलाई र वाम गठबन्धनलाई भोट दिन्छन्', लालवीर चौधरीले दाबी गरे । बुवा वाम गठबन्धनबाट चुनाव लडेको कुरा रेशम चौधरीलाई सह्य भएको छैन । ‘रामायणमा राजा दशरथले जसरी रामलाई वनबास जान बाध्य पारे, मेरो बुवाको अवस्था पनि त्यस्तै लाग्यो', रेशमले भने, ‘हामी पहिचानको लडाइँ लडिरहेका बेला बुवाले हाम्रो पहिचान स्वीकार नगर्ने पार्टीबाट चुनाव लडेकाले दुःख लागेको छ ।'

यो क्षेत्रबाट कांग्रेसले ०७० सालको निर्वाचनमा आफ्नै उम्मेदवार डा. रणबहादुर रावललाई हराएका तत्कालीन फोरम लोकतान्त्रिकका नेता जनक चौधरीलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ भने त्यही क्षेत्रको अर्को प्रदेशसभा सदस्यका लागि तिनै डाक्टर रणबहादुर रावल चुनाव लडिरहेका छन् । ‘०७० सालका प्रतिस्पर्धी अहिले एकै दलबाट चुनाव लडेकाले चुनाव रोचक भएको छ', समाजसेवी यज्ञमूर्ति अर्याल भन्छन् । ०७० सालको चुनावमा जनक चौधरीले जित्नु, स्थानीय तह निर्वाचनमा पनि झण्डै साढे चार हजार मतले लोकतान्त्रिक गठबन्धन अघि हुनुले आफ्नो जित निश्चित ठान्छिन्, कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने ।

तर, उनलाई रेशमले थारू समुदायको मत कति प्रभाव पार्लान् भन्ने चिन्ता छ । थारू आन्दोलन हाँकेका नेता कांग्रेसमा विलय भए पनि रेशमले ‘थारू सेन्टिमेन्ट' तान्ने हो कि भन्ने लोकतान्त्रिक गठबन्धनलाई चिन्ता छ । यसैको फाइदा लिने दाउमा छ, वाम गठबन्धन । प्रदेशसभामा दुवै थारू उम्मेदवार बनाएको र स्थानीय भएकाले आफ्नो जित देख्छिन्, मदनकुमारी । रेशमको उम्मेदवारीले झन् फाइदा पुग्ने उनले प्रतिक्रिया दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.