बाकसमा मत थुनिँदा छटपटी

बाकसमा मत थुनिँदा छटपटी

जुम्ला: खलंगास्थित एक होटलमा वाम गठबन्धनका समर्थक तथा कार्यकर्ताको भीड थियो। प्रदेशसभातर्फ क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका उम्मेदवार नरेश भण्डारी उनीहरूका कुरा सुनिरहेका थिए। कोहीले निर्वाचन जितिसकेको दाबी गरिरहेका थिए भने कोही अन्तर्घात भएकाले अहिले नै भन्न नसकिने बताइरहेका थिए।

कार्यकर्ताले खसेको मतका आधारमा उम्मेदवारले पाएको मत जोडिरहँदा भण्डारी भने मौन थिए। मतगणना सुरु नभएका कारण कसले जित्छ भन्ने जिज्ञासा उनीहरूका अनुहारमा प्रस्ट देखिन्थ्यो। सोमबार दिनभर उम्मेदवार र कार्यकर्ता आन्तरिक समीक्षा गर्नमा व्यस्त देखिए। सडक, चोक, चिया पसल र दोबाटोमा उनीहरूले मतपरिणामबारे आआफ्ना दाबी पेस गरिरहेका थिए।

मतदान सम्पन्न भए पनि गणना सुरु नभएका कारण मतदाता मात्र होइन, उम्मेदवार र कार्यकर्तामा छटपटी सुरु भएको छ । यही मंसिर २१ गतेपछि मात्र मतगणना हुने भएपछि सम्भावित मतपरिणामबारे जानकारी लिन जुम्लेलीहरू आतुर देखिएका छन्। तर, अन्तिम मतपरिणाम थाहा पाउन मतदाताले करिब दुई साता कुर्नुपर्नेछ। यसकारण पनि यहाँका उम्मेदवार, दल अनि सर्वसाधारण चोक र चिया पसलमा सम्भावित मतपरिणामबारे आकलन गरिरहेका छन्।

भण्डारीले भने, ‘मतपरिणामबारे चासो राख्नु स्वाभाविक हो । कसको पक्षमा नतिजा आउँछ? त्यो त कुर्नेपर्ने भो । तर, कार्यकर्ता र मतदातामा नतिजा जान्न छटपटी देखिएको छ, उनीहरूले यसबारे चासो राखिरहेका छन् ।' खलंगा बजारमा पार्टीका समर्थकसँग कांग्रेस नेता कार्मा बुढा चुनावी समीक्षा गरिरहेका थिए । कांग्रेस कार्यकर्ता पनि स्थानीय तहअनुसार आफ्नो पक्षमा खसेको सम्भावित मतको हिसाब जोडिरहेका थिए ।

केहीले हिसाब जोडेर वाम गठबन्धनभन्दा बढी देखाउँथे केहीले भने कम मत आएको आकलन गर्दै टिपोट गरिरहेका थिए । उनीहरूमा पनि निर्वाचनको नतिजा जान्ने हतारो देखिन्थ्यो । त्यत्तिकैमा कार्यकर्तालाई आश्वस्त पार्न नेता बुढाले प्रयास गरे। उनी भन्दै थिए, ‘अहिले नै निराश हुनुपर्ने अवस्था छैन, केही दिन त कुरौं न साथीहरू । अब अहिले नै हतार गरेर के गर्नु? आखिर जनताको मत त बाकसमा थुनिएको छ ।'

मतगणना ढिला हुने भएपछि आफूहरूलाई पनि अत्यास लागेको बुढाले सुनाए । भने, ‘भोट हालेर सकियो, मतगणना सुरु गरेको भए हुन्थ्यो । नतिजा एउटाको पक्षमा आउने नै छ तर हामीलाई कुराएर छटपटीमा राखे ।'

मतदाता र कार्यकर्ताले सम्भावित परिणामबारे छलफल गरिरहँदा उम्मेदवारलाई भने कार्यकर्ताको तथ्यांक सुन्न भ्याइनभ्याइ छ । आफ्नो पक्षमा खसेको सम्भावित मतको बारेमा उनीहरूले कार्यकर्तासँग जानकारी लिइरहेका छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार देवेन्द्रबहादुर शाही खलंगा बजारमा भेटिए । उनी पनि समर्थकको कुरा सुन्दै आफूलाई सम्हाल्ने प्रयास गर्दै थिए । वाम गठबन्धनसँग भिडेका उनलाई मतपरिणाम आफ्नो पक्षमा आउने वा नआउने भन्ने कौतुहलताले च्यापेको देखिन्थ्यो ।

‘निर्वाचन हो, जित–हार त भइहाल्ला', उनले भने, ‘तर, मतपरिणाम थाहा पाउन धेरै कुर्नुपर्ने भयो, यसले त हामीलाई छटपटी नै बनाउने भयो । सबैले नतिजा के हुन्छ भनेर सोध्न थाले, अहिले नै के भनेर जवाफ दिनु ? '

वाम गठबन्धनका कारण एमाले र माओवादी केन्द्रको पक्षमा नतिजा आउने आकलन सर्वसाधारणले गरिरहेका छन् । तर, वाम गठबन्धनभित्र पनि नतिजा सार्वजनिक नहुन्जेल कार्यकर्ता ढुक्क छैनन् । बरु उनीहरूले मतगणना सुरु नहुँदै अन्तर्घात भएको बहस चर्काउन थालेका छन् । माओवादी केन्द्र र एमालेका कार्यकर्ता छुट्टाछुट्टै र संयुक्त बसेर समीक्षा गर्न थालेका छन् । माओवादीको उम्मेदवार भएको स्थानमा एमालेले र एमालेको उम्मेदवार भएको स्थानमा माओवादीले अन्तर्घात गरेको आरोपसमेत लगाउन सुरु भएको छ ।

अर्कोतर्फ कांग्रेस कार्यकर्ता पनि पार्टीभित्रै अन्तर्घात भएको सुनाउन थालेका छन् । जुम्ला मात्र होइन, आइतबार मतदान सम्पन्न भएका कर्णालीका जिल्लामा मतपरिणाम थाहा पाउन मतदाता आतुर देखिन्छन् । ‘भोट हाल्नेबित्तिकै गनेको भए हुन्थ्यो, अझै कहिलेसम्म थन्क्याउने हुन् ? ', चन्दननाथ–८ का राबहादुर बोहोराले भने, ‘हामीले भोट हालेकाले जित्ने हुन् कि हार्ने हुन् ? रिजल्ट थाहा पाउन आतुर भइसक्यौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.