मतपेटिकाको सुरक्षा

 मतपेटिकाको सुरक्षा

 

दोस्रो चरणको चुनावपछि मात्रै पहिलो चरणको मतगणना प्रारम्भ हुने भएपछि ३२ जिल्लाका मतपेटिका सदरमुकाम ओसारिएका छन् र सुरक्षा निगरानीमा सरकारी कार्यालयहरूमै भण्डारण गरिएका छन् । सुरक्षा निकायको कडा निगरानी र दलका प्रतिनिधिको रोहबरमा भण्डारण र रेखदेख गरिने भए पनि मतपेटिका सुरक्षा आमरूपमा चासोको विषय भएको छ ।

यद्यपि सुरक्षाको विश्वासिला उपायहरू अवलम्बन गरिएको पाइन्छ । निर्वाचन आयोगले मतदान केन्द्रमा झैं मतपेटिकाको सुरक्षामा पनि तीन तहको सुरक्षा व्यवस्था गरिएको जनाएको छ । दलीय सहमति र रोहबरमा प्रत्येक मतपेटिकामा नम्बरसहितको सिल लगाइएको छ । एउटा मतपेटिकामा पाँचदेखि आठवटासम्म सिल छन् । सिल नम्बरसहितको मुचुल्का उठाएर मतपेटिका बन्द गरिएको आयोगले बताएको छ । मतपेटिका बदलेर वा सिल तोडेर मत नै बदलिने आशंकाहरू निरूपण गर्न मतपेटिका सुरक्षाका उल्लिखित उपाय उचित छन् । यद्यपि बाँकी नौ दिन मतपेटिका सुरक्षाको विषयलाई गम्भीरताका साथ लिइनुपर्छ ।

३२ जिल्लामा मतदान सकिएको छ, तर मतगणना बाँकी नै छ । मतगणना गरेर विजयी उम्मेदवार तोकिसकेपछि मात्रै निर्वाचन पूर्णरूपमा सकिनेछ । दोस्रो चरणको चुनाव बाँकी रहेको र पहिलो चरणको मतगणना दोस्रो चरणको चुनाव सकिएसँगै गर्ने भएकाले आगामी केही दिन संवेदनशील र महत्वपूर्ण छन् । मतपेटिका सुरक्षा सम्बन्धमा २०७० को संविधानसभाको निर्वाचन सबैका लागि नजिर हुन सक्छ ।

सो चुनावमा मतदान केन्द्रबाट जिल्लासम्म मतपेटिका लैजाने क्रममा सेनाको सहयोग लिइएको थियो, तर पछि परिणाम आफ्नो पक्षमा नआएपछि खासगरी तत्कालीन एमाओवादीले ‘मतपेटिका बाटोमै अथवा ब्यारेकभित्र लगेर साटेको’ र अदृश्य धाँधली गर्दै आफूहरूलाई हराएको आरोप लगाएको थियो । सोही विषयमा माओवादी नेता वर्षमान पुन संयोजक रहेको त्यस पार्टीको ‘आन्तरिक तथ्य संकलन कार्यदल’ ले आयोग र नेपाली सेनाले अदृश्य धाँधली र षड्यन्त्र गरेर माओवादीलाई हराइएको आरोप लगाएको थियो । यस्ता खाले विवाद नआओस् भनेर अहिल्यै ध्यान पुर्‍याउन आवश्यक छ ।

चुनावी परिणाम सधैं प्रत्यासित हुन्छ भन्ने छैन र मतपरिणाम आउन थालेपछि धेरै खालका आशंका र उपशंकाले ठाउँ लिने वातावरणसमेत बन्न सक्छ । अहिले चुनावमा रहेका मुख्य शक्तिहरूबीच चुनावी प्रक्रियाका बारेमा मतभेद वा असन्तुष्टि छैन । एकाध ठाउँमा मतदान अधिकृतहरूले कुनै दलको चिह्नमा छाप लगाएका मतपत्र झोलामा हालेका दृष्टान्त छन् । त्यस्ता घटनाले चुनावमा अनेक खालका षड्यन्त्र हुन सक्ने संकेत गर्छ । यसर्थ यस्ता खालका शंका-उपशंका निवारण गरिनु जरुरी छ । मतपेटिका राखिएको ठाउँको सुरक्षा प्रबन्ध विश्वासिलो, बलियो र व्यवस्थित गर्नुपर्छ ।

आजको अत्याधुनिक प्रविधिको युगमा मतपेटिका राखिएको स्थानलाई सबैतिरबाट सीसीटीभी क्यामरा जडान गरेर सुरक्षित राख्न सके त्यसले धेरै शंका निवारण गर्नेछ । कतिपय जिल्लामा त्यस्तो व्यवस्था भइसकेको खबर छ । नभएका ठाउँमा पनि छिटो त्यस्तो प्रबन्ध हुनुपर्छ । त्यस्तै मतपेटिका सुरक्षामा आगो, पानी र अन्य रसायनको खतरा पनि उत्तिकै रहन्छ । त्यसबाट मतपेटिका सुरक्षित राख्न अहिल्यैबाट उचित प्रबन्धका लागि सरकार, आयोग र सुरक्षा निकाय सचेत रहनुपर्छ ।

छिटपुट सुरक्षा चुनौती, आचारसंहिता उल्लंघन, मतपत्रको आकार र मतदाता शिक्षा आदि केही विषयले चुनावमाथि प्रश्न उठे पनि यसको निष्पक्षतामाथि अहिलेसम्म कसैले प्रश्न उठाएको छैन । मतगणना हुँदासम्म विवाद नभई मतपरिणाम सार्वजनिक गर्न सक्दा चुनावको महत्व झनै बढ्छ । त्यसकारण पनि मतपेटिका सुरक्षाको संवेदनशीलतालाई नजरअन्दाज गरिनु हुँदैन । मतपरिणाम नहुन्जेल मत र मतपेटिकाको सुरक्षाका लागि आयोगले कुनै पनि कसर बाँकी नराखोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.