प्युठानबाट विप्लवका नौ कार्यकर्ता पक्राउ
प्यूठान : चुनाव विरोधी गतिविधिमा सक्रिय भएको भन्दै नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नौ जना कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानले जिल्लाका विभिन्न स्थानबाट यसअघि ६ जना र बुधबार तीन जना कार्यकर्ता पक्राउ गरेको हो।
केही दिनदेखि निगरानीमा रहेका रेशम सुनार, मोहन विष्ट र जुद्द भण्डारीलाई प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए।
‘हालसम्म नौ जना नेकपाका कार्यकर्ता पक्राउ गरि सकिएको छ’, उनले भने,‘चुनाव अवधिभर अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउँछौँ।’
झण्डै महिनादिन अघिदेखि प्रक्राउ परेका हरी बस्नेत, गिरुप्रसाद भुषाल, पदमप्रसाद पोख्रेल, जायश्वर आचार्य, पदम पुन र मनबहादुर विक हिरासतमा छन्।
पोख्रेल र आचार्य नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका साधारण सदस्य समेत हुन्। विप्लव नेतृत्व पार्टीका अन्य नेता, कार्यकर्तासमेत प्रहरीको निगरानीमा रहेको प्रनाउ पोख्रेलले जानकारी दिए।