पाण्डे र नेपालबीच कडा प्रतिस्पर्धा
तानसेन: जिल्लाको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा वाम र लोकतान्त्रिक गठबन्धनबीच चुनावी सरगर्मी चर्को छ ।
वाम गठबन्धनबाट एमालेका सोमप्रसाद पाण्डे र राप्रपाको समर्थनमा कांग्रेसबाट हरिप्रसाद नेपाल चुनावी मैदानमा छन् । पाण्डे र नेपाल दुवै अनुभवी नेता निवर्तमान सांंसद हुन् । ०७० को संविधानसभामा नेपाल क्षेत्र नं. ३ बाट र पाण्डे क्षेत्र नं. २ बाट विजयी भएका थिए ।
पाण्डे पाँच पटक टिकट पाउने भाग्यमानी नेता हुन् । उनी ०५१, ०५६ र ०७० को निर्वाचनमा विजयी भएका थिए । ०६४ सालको निर्वाचनमा एक पटक मात्र माओवादीसँग पराजित भएका थिए ।
चार पटक टिकट पाएका नेपाल भने ०४८ र ०७० को निर्वाचनका विजेता हुन् । उनी ०५१ र ०६४ को निर्वाचनमा पराजित भएका थिए ।
नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् । उनले पञ्चायतविरुद्धको आन्दोलनमा जिल्लाबाट नेतृत्वदायी भूमिका खेलेका थिए । पाण्डे पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चाज तथा पूर्वउद्योगमन्त्री हुन् ।
जिल्लामा सबैभन्दा बढी टिकट पाउने नेताको पहिचान बनाएका उम्मेदवारद्वय नेपाल र पाण्डेबीचको प्रतिस्पर्धा दुवै पार्टीका लागि प्रतिष्ठाको विषय बनेको छ । तानसेन–बुटवलको सिद्धबाबा बाटो, तानसेनको खानेपानी र जिल्लालाई शैक्षिक हबको रूपमा विकास गर्ने दुवै उम्मेदवारका साझा मुद्दा हुन् ।
निर्वाचनको प्रमुख एजेन्डा तानसेनमा प्राविधिक विश्वविद्यालय स्थापना गरी पाल्पालाई शैक्षिक हबको रूपमा निर्माण गर्ने योजना कांग्रेस उम्मेदवार नेपालको छ । पाल्पालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै रोजगारीको अवसर सिर्जना गर्ने, दुई वर्षभित्र प्रत्येक घरमा खानेपानी, विद्युत् नपुगेका स्थानमा विद्युतीकरण जस्ता योजनाहरू लिई उनी चुनाव प्रचारमा जुटेका छन् ।
वाम गठबन्धनका उम्मेदवार पाण्डेको पहिलो प्राथमिकता सडक हो । उनी दुई वर्षभित्र सिद्धबाबा क्षेत्रमा वैकल्पिक सडक निर्माण गरी पाँच वर्षभित्र डबल लेनको कालोपत्रे सडक निर्माण गरी तानसेन बुटवलमा सुरक्षित यात्रा गराउने प्रतिबद्धता जाहेर गर्दै जनताको घरदैलोमा पुगेका छन् ।
पाल्पा २ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसको २४ हजार दुई सय ९२, एमालेले २५ हजार एक सय तीन र माओवादी केन्द्रले आठ हजार आठ सय ७७ मत पाएका थिए । पाल्पा २ मा १० हजार नयाँ मतदाता थपिएका छन् । थपिएका मतदाता नै दुवै उम्मेदवारको भाग्यदाताको रूपमा आउने देखिएका छन् ।
जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनका अलावा जनमोर्चा, राष्ट्रिय जनमुक्ति, राप्रपाबाट उम्मेदवारी परेको छ । जिल्लामा एक लाख ८१ हजार दुई सय ५५ मतदाता छन् । क्षेत्र २ मा मात्र ९५ हजार दुई सय ६९ मतदाता छन् ।