नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार

नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार

 इटहरी :  ‘हामीले न कसैलाई धम्की दिएका छौं न त बम नै पड्काएका छौं,' प्रहरीले पक्राउ गर्न थालेपछि बुधबार मानवअधिकार आयोगको विराटनगरस्थित कार्यालयमा उजुरी गर्न पुगेका नेकपा सुनसरी सदस्य मोहन कार्कीले भने, ‘बिनागल्ती हाम्रा साथीहरूलाई पुलिसले समातिरहेको छ।'

स्वतन्त्र हिँडडुल गर्ने अनि अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै उनी आयोग कार्यालय पुगेका हुन्। ‘घरमा बस्न सक्ने अवस्था छैन, मोबाइल फोन स्विच अन गर्न सकिँदैन', उनले भने, ‘अब मानवअधिकार आयोगले केही सहयोग गर्छ कि भन्ने आशामा छु।'

इटहरीमा बसेर राजनीति गर्दै आएका उनी केही दिनयता भूमिगत छन्। सार्वजनिक ठाउँमा उनी देखिएका छैनन्। प्रहरीले पक्राउका लागि घरमा निगरानी बढाएपछि कात्तिक २० गतेदेखि नै घर छाडेर आफन्तकहाँ शरण लिन थालेको उनले सुनाए।

आफू भागेपछि प्रहरीले घरका सदस्यलाई मानसिक यातना दिने गरेको गुनासो उनले गरे। ‘६० वर्ष पार गरेकी आमा पुलिसले समातेर लान्छ कि भन्ने डरमा हुनुहुन्छ', उनले भने, ‘कात्तिक २० गतेदेखि घर छाडेर हिँडिरहेको छु।'

सुनसरीबाट नेकपामा झन्डै दर्जन कार्यकर्ता समातिएको दाबी उनले गरे। पक्राउ पर्नेहरूको संख्या पूर्वमा कम्तीमा ३१ देखिएको छ। पाँचथरबाट १५, ताप्लेजुङबाट १३ र मोरङबाट तीन पक्राउ परेर प्रहरी हिरासतमा रहेको आयोगकी क्षेत्रीय प्रमुख मञ्जु खतिवडाले जानकारी दिइन्।

पक्राउ गरेकामध्ये धेरैजसो आफ्ना नेता, कार्यकर्ता नरहेको दाबी कार्कीले गरे। इटहरीबाट पक्राउ ११ मध्ये दुई जना मात्र आफ्नो पार्टीका नेता भएको उनको भनाइ छ। उनका अनुसार सबै जना तरहरा प्रहरी चौकीको हिरासत छन्।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सञ्जय राउतले नेकपा कार्यकर्तालाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए। कहिलेसम्म राख्ने हो भन्ने प्रश्नमा उनले भने, ‘कानुनले दिएसम्म मात्र राख्छौं।' उनले वृद्धहरूसमेत पक्राउ परेको स्वीकार गरे।
आफूहरूले यस्ता घटनालाई नजिकबाट हेरिरहेको इन्सेकका पूर्वाञ्चल प्रमुख सोमराज थापाले बताए। उजुरी र गुनासा आएपछि सम्बन्धित ठाउँमा गएर बुझ्ने गरेको उनको भनाइ छ। ‘पक्राउ नै नगर भन्न सकिँदैन', उनले भने, ‘तर, पक्राउ परेकाहरूलाई यातना दिने, आफन्तसँग भेट्न नदिने गर्नु हुँदैन, मानवअधिकार हनन् हुनु हुँदैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.