छायाँमा प्रदेशसभा उम्मेदवार

छायाँमा प्रदेशसभा उम्मेदवार

तम्घास : प्रतिनिधि र प्रदेशसभा दोस्रो चरण निर्वाचनको मिति नजिकिँदै गर्दा गुल्मीमा चुनावी सरगर्मी बढ्दै गएको छ। उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन्। मतदाता बिहानदेखि साँझसम्मै खेतबारीमै हुने हुनाले उम्मेदवार पनि त्यहीँ जान थालेका छन्। जिल्लामा प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका पुरानै चर्चित अनुहार दोहोरिएका छन्। वाम गठबन्धनबाट एमाले सचिव प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका चन्द्र भण्डारी र चन्द्र केसीको चर्चा धेरै हुने गरेको छ।

प्रतिनिधिसभाका उम्मेदवारका अगाडि प्रदेशसभाका उम्मेदवारहरू भने छायाँमा परेका छन्। जिल्लामा प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र कायम गरिएको छ। ठूला दल मानिएका एमाले र माओवादीको वाम गठबन्धन र कांग्रेसबाट जिल्लामा आठ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये दुई उम्मेदवार सांसद भइसकेका हुन् भने अन्य नयाँ अनुहार पनि प्रतिस्पर्धामा छन्।

क्षेत्र नम्बर १ को ‘क' बाट प्रदेशसभाका लागि वाम गठबन्धनबाट माओवादीका सुदर्शन बराल चुनावी मैदानमा छन्। उनी साविकको क्षेत्र १ बाट ०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। सोही क्षेत्रबाटै प्रदेशसभाका लागि ‘ख' बाट वाम गठबन्धनको तर्फबाट एमालेका कमलराज श्रेष्ठ चुनावी मैदानमा छन्। उनी पनि साविकको क्षेत्र २ बाट ०५१ सालमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

प्रदेशसभाकै लागि निर्वाचन क्षेत्र २ को ‘क' बाट एमालेका खड्गबहादुर खत्री र ‘ख' बाट माओवादीका दिनेश पन्थीको उम्मेदवारी छ। खत्री विभिन्न समयमा भएका आन्दोलनमा सहभागी भई जेल जीवन बिताएका नेता हुन् चुनावी प्रतिस्पर्धामा पहिलोपटक आएका छन्। माओवादीका पन्थी पनि चुनावी मैदानमा नयाँ अनुहार हुन्। उनले पार्टीमा योगदान दिएको भन्दै गाउँको विकास र समृद्धिका लागि निर्वाचनमा होमिएको प्रतिक्रया दिए।

कांग्रेसबाट प्रदेशसभाका लागि चार जना उम्मेदवार चुनावी दौडमा छन्। पार्टीको क्षेत्रीय सदस्यदेखि जिल्ला उपसभापति प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन्। क्षेत्र १ को ‘क' बाट पृथ्वी फौदार र २ बाट धनेन्द्र कार्की चुनावी मैदानमा छन्। २ को ‘क' बाट सालिक पन्थी र ‘ख'बाट छन्दबहादुर पहराई मगर छन्। पार्टीमा फौदार र कार्की क्रमशः जिल्ला कमिटी सदस्य र क्षेत्रीय सदस्य भइसकेका हुन् भने पन्थी र पहराई जिल्ला उपसभापति र पार्टी सचिवको जिम्मेवारी पूरा गरिसकेका उम्मेदवार हुन्।

यी चारै जना उम्मेदवार मतदाताका लागि नयाँ अनुहार हुन्। केन्द्रीय नेताको मात्र चर्चा चलेपछि जिल्ला तहका नेताहरू ओझेलमा पर्ने गरेका छन्। विकास निर्माणका हिसाबले जनस्तरसम्मका लागि प्रदेशका उम्मेदवारहरू पुग्ने गरेको मतदाताहरू बताउँछन्। पार्टीको केन्द्रीय नेताहरू जिल्लामा बसेर मतदाताहरूको समस्यामा नजिक नहुने समेत धेरैले प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.