देउवा स्टाइल : सिधै माइक, छोटो भाषण

देउवा स्टाइल : सिधै माइक, छोटो भाषण

मलंगवा/वीरगञ्ज : सम्भवतः चुनावी अभियानमा सबैभन्दा छोटो भाषण गर्नेमा पर्छन्, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा। धेरैजसो चुनावी सभामा उनी बढीमा ५/७ मिनेट बोल्छन्, आफ्ना कुरा राखिसकेपछि हेलिकप्टर चढ्छन् र अर्को ठाउँमा हुने चुनावी सभामा पुग्छन्।

बिहीबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित चुनावी सभामा दिउँसो २ बजे पुग्ने प्रयास गर्दागर्दै पनि उनी २ घण्टा ढिला पुगे। हेलिकाेप्टर लिएर कार्यक्रम स्थल आएका उनी मञ्चमा नगई सिधै ड्यासमा पुगे। आउनेबित्तिकै भाषण थालेका देउवाले पाँच मिनेट भाषण गरे। सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका आफ्ना उम्मेदवारहको नाम पढेर उनले भोट मागे। उनी भाषण सकिने बित्तिकै हेलिकप्टरमा चढेर काठमाडौं प्रस्थान गरे।

मकवानपुरको पालुङमा प्रधानमन्त्रीको स्वागत। फोटोः प्रम सचिवालय

५ मिनेटको भाषणमा देउवाले कांग्रेसले बहुमत ल्याएमात्र नेपाली जनता मालिक हुने जिकिर गरे। एमाले मधेस विरोधी पार्टी भएको आरोप लगाए। देशमा प्रजातन्त्र ल्याउन, राजतन्त्र फाल्न र जनभावना अनुसारको संविधान बनाउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको जिकिर गर्दै उनले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे। ‘मधेसी जनताको भावना बुझ्ने एक मात्र पार्टी कांग्रेस हो’, देउवाले भने, ‘एमालेले मधेसीको अधिकारको लागि संसदमा मत नहाल्दा मधेस मुद्दा सम्बोधन हुन नसकेको हो।’

कांग्रेसले बहुमत पाए जसरी पनि मधेसको पक्षमा संविधान सशोधन गर्ने प्रतिबद्धता उनले गरे। कांग्रेस मधेसी, जनजाति, आदिवासी, दलित, मुस्लिम, थारुको पार्टी भएको बताउँदै उनले अधिकार विहीन, पिछडिएका र अल्पसंख्यक समुदायको हकहितका लागि कांग्रेसले अवाज उठाइरहेको तर्क गरे।

सिरहाको भगवानपुरमा प्रम।

बिहान मकवानपुरबाट चुनावी सभामा सम्बोधन थालेका देउवा सिरहा र सप्तरीका सभा भ्याएर सर्लाही पुगेका थिए। मकवानपुरमा उनले गठबन्धन आबद्ध राप्रपाका अध्यक्ष कमल थापा उम्मेदवार रहेको क्षेत्र नम्बर १ मा उनका लागि भोट मागे। मकवानपुरको थाहा नगरपालिकामा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनको जित लोकतन्त्र रक्षाको लागि भएको बताए।

'वाम गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने भएकाले पनि तपाईँले लोकतन्त्र रक्षाको लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनैपर्ने भएको छ', उनको आग्रह थियो। अधिकांश सम्बोधनमा उनले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउने, संविधान खारेज हुने जस्ता दावी गर्दै आएका छन्।  मकवानपुरबाट सिरहा र सर्लाहीमा भएका सभामा सम्बोधन गरेर उनी ‍औद्योगिक नगरी वीरगञ्ज पुगे।

सप्तरीको चुनावी सभाका सहभागी।

सप्तरीको चुनावी सभाका सहभागी। 

उनी चढेको हेलिकप्टर वीरगञ्जस्थित सेनाको ब्यारेकमा रोकियो। उनका लागि सभास्थलसम्म पुग्न गाडी तयार थियो। कार्यक्रमस्थल पुगेर उनले पानसमा बत्ती बाले र कार्यक्रम उद्‍घाटन गरे। लगत्तै मञ्चमा बस्न पनि नभ्याउँदै उनले ड्यासमा गएर ५/६ मिनेट भाषण गरे।

यहाँ पनि देउवाले मधेसी जनताको चाहना अनुरुप संविधान संशोधन गर्न कांग्रेसले जित्नुपर्ने जिकिर गरे। संविधानमा कमीकमजोरी रहेको तर्क गर्दै उनले निर्वाचनपछि मधेसी जनताको चाहना अनुसार संविधान संशोधन गराउने बताए। अघिल्ला चुनावी सभामा झैँ उनले एमालेका कारण संविधान संशोधनको प्रयास सफल हुन नसकेको बताए। संविधान संशोधन कांग्रेसबाट मात्रै सम्भव रहेको जिकिर गर्दै उनले कांग्रेस मधेसको पार्टी भएको बताए।

सर्लाहीमा प्रम।

एमाले र माओवादी केन्द्रले संविधान खारेज गरेर मुलुकमा एकदलीय कम्युनिस्ट शासन ल्याउन खोजेको आरोप उनले लगाए।

'कम्युनिस्टको शासन आयो भने मुलुकमा फेरि चुनाव हुन्न, देशमा डरत्रासको शासन कायम हुन्छ , नागरिकले बोल्न समेत पाउदैनन्', उनले पछिल्ला दिनमा गर्ने चुनावी भाषण छुटाएनन्, ‘सरकारको विरोधमा बोल्नेलाई जेल हालिन्छ, त्यसैले अबको चुनावमा कांग्रेसको जित आवश्यक छ।' कम्युनिस्ट शासन आयो भने विदेशी लगानी समेत नआउने उनले दावी गरे।

वीरगञ्जको चुनावी सभामा सम्बोधन गर्दै प्रम। तस्बिरः क्रान्ति शाह

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.