गालीगलौजमा प्रतिस्पर्धा

गालीगलौजमा  प्रतिस्पर्धा

 

काठमाडौं: चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक-अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् । एकले-अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् ।

एमाले-माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै दुई धु्रवीय राजनीतिमा विभाजित वामपन्थी र लोकतान्त्रिक शक्तिबीच आरोप-प्रत्यारोप हुन थालेको हो । चुनावको मुखमा मतदातालाई प्रभावमा पार्न दलहरू हदैसम्मका आरोप-प्रत्यारोपमा उत्रिएको बुझाइ मनोविश्लेषकको छ ।

मनोविश्लेषक प्रोफेसर डा. शिशिर सुब्बा ५०÷६० वर्षअगाडिको जस्तो राजनीति अहिले नरहेको र मतदातालाई प्रभावित गर्न उत्तेजित भाषण गर्ने शैली विकास हुँदै गएको बताउँछन् । ‘अहिले आइडियोलोजी (विचार) कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन्,’ उनले अन्नपूर्णसँग भने, ‘पढे-लेखेका, विद्वता भएका मान्छेको समूह सानो छ । धेरै मतदाता न्युट्रल छन्, उनीहरूलाई पक्षमा तानेर कसरी चुनाव जित्ने भन्नेमै छन्, सडकको डिमान्ड पनि त्यस्तै छ । त्यसैले नेता उत्तेजित शैली र छुद्र भाषामा सडक तताउन खोज्छन् ।’

‘अहिले आइडियोलोजी (विचार) कुरैमा सीमित छ, सर्वसाधारणलाई साथ लिन दलका नेताले जे पनि बोल्न थालेका छन् ।’ - डा. शिशिर सुब्बा, मनोविश्लेषक प्रोफेसर

भाषणमा मात्रै होइन, चुनावी घोषणापत्रमै पनि दलहरू एक-अर्को पार्टीविरुद्ध खनिएका छन् । कांग्रेसले वाम गठबन्धन मुलुकका लागि अनिष्ट भएको, कम्युनिस्टले अधिनायकवादी व्यवस्था ल्याई सर्वसत्तावाद लाद्न खोजेको जस्ता आरोप घोषणापत्रमै लगाएको छ । उता, वाम गठबन्धन (एमाले-माओवादी) ले पनि आफ्नो चुनावी घोषणापत्रमा कांग्रेसलाई यथास्थितिवादी, पश्चगामी शक्तिका रूपमा चिनाउन खोजेको छ ।

राजनीतिक विश्लेषक लोकराज बराल कांग्रेसले अहिले वाम गठबन्धनलाई सर्वसत्तावादी भनी लगाउँदै आएको आरोप ‘चुनावी अस्त्र’ र एमाले-माओवादीले लामो समयसम्म कांग्रेसविना शासन चलाउने भनी दिएको अभिव्यक्ति अतिशयोक्तिपूर्ण भएको बताउँछन् । ‘अहिले नेपालमा न कम्युनिस्टले सर्वसत्तावाद लाद्न सक्छन् न कांग्रेस नै पछाडि फर्केर जान सक्छ । यस्तो बेला कांग्रेसले वाम गठबन्धनलाई लगाउने आरोप चुनावी अस्त्र मात्र हो । एमाले-माओवादीले कांग्रेसलाई सरकारमा आउनै दिन्नौं भन्नु पनि अतिशयोक्ति हो,’ बरालले अन्नपूर्णसँग भने ।

‘कांग्रेसले वाम गठबन्धनलाई लगाउने आरोप चुनावी अस्त्र मात्र हो । एमाले-माओवादीले कांग्रेसलाई सरकारमा आउनै दिन्नौं भन्नु पनि अतिशयोक्ति हो ।’- लोकराज बराल, राजनीतिक विश्लेषक

नेपालमा मात्र नभई विश्वमै चुनावी प्रचारका बेला दलहरू आरोप-प्रत्यारोपमा उत्रने र उत्तेजित हुने गरेको विश्लेषक बराल बताउँछन् । ‘भारतमा मोदी र राहुल गान्धीको आरोप-प्रत्यारोप र अमेरिकाको चुनावमा हिलारी क्लिटन्न र डोनाल्ड ट्रम्पबीचको आरोप-प्रत्यारोप देखिएकै हो,’ उनले भने, ‘अहिले चुनावका बेला जहाँत्यहीँ यस्तै आरोप चल्छ । नेपालमा पनि चलिरहेको छ ।’

नेपालका राजनीतिक दल भने चुनावका क्रममा बनाउनै पर्ने एजेन्डाभन्दा बाहिर रहेर अहिले सन्दर्भहीन आरोपमा उत्रेको बरालको बुझाइ छ । उनका अनुसार कांग्रेसले विगतमा खेलेको भूमिकाको प्रस्टताका लागि जनताबीच एजेन्डा लैजान सकेको छैन भने वाम गठबन्धनले आफ्ना कार्यक्रम र नीति जनतालाई बुझाउन सकिरहेको छैन । ‘मुल मुद्दा छायामा छन्, सहायक मुद्दामा दलहरू बहसमा उत्रेका छन्,’ उनी भन्छन् ।


प्रधानमन्त्रीको बोली
- कम्युनिस्टले जिते विदेशी लगानी भित्रिँदैन । विदेशीले कांग्रेसलाई मात्र पत्याउँछन् । अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने निर्णय गर्ने बेला आएको छ । (पोखरा÷स्याङ्जा)
- वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको छ । कम्युनिस्टहरू अहिलेको संविधान च्यातेर तानाशाही, राष्ट्रपतीय संविधान बनाउन खोज्दै छन् । हामीले अधिकार माग्न पनि पाउँदैनौं । (दाङ, मलंगवा)
- कम्युनिस्ट शासन आए मुलुकबाट समावेशिता औपचारिक रूपमै अन्त्य भएर जान्छ । जनताका सबै अधिकार खोसिन्छन् । (झापा)
- वामपन्थी हत्या-हिंसा मच्चाउने शक्ति हुन् । उनीहरूसँग देशको विकास गर्ने होइन, बिगार्ने र भत्काउने कामको मात्र अनुभव छ । (तेह्रथुम)

ओलीको बोली :
- वामपन्थीको सरकार बनेपछि लोकतन्त्र जोगिन्छ, कांग्रेसी शासन मासिन्छ । कांग्रेसले लोकतन्त्र भनेको आफूले जित्नुलाई मात्र बुझेको छ । अरूले जित्यो भने उसले अधिनायकवाद देख्छ । (झापा, चन्द्रगढी)
- १९९७ सालमा राणाविरुद्ध लडेका गणेशमान सिंहले आँसु खसाल्दै पार्टी छाड्नुपर्‍यो । कांग्रेसको अहिले कन्तविजोग छ । इमानसँग जम्काभेटसमेत नभएको नेतृत्व अहिले कांग्रेसमा छ । (काठमाडौं, बानेश्वर)
- म भर्खर डडेलधुराको विकास हेरेर फर्किएँ, उहिल्यै बनाएको एउटा खण्डहर सडकबाहेक केही छैन । अनि झापामा आएर विकास भएन भन्ने ? (झापा)
- कांग्रेस पहिला कम्युनिस्ट आए भने बूढाबूढीलाई मार्छन्, खानसमेत दिँदैनन् भनेर भ्रमको खेती गर्थ्यो । अहिले पनि अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन भनेर हिँड्दै छ । ठीकै हो, कांग्रेसको जस्तो रुने होइन, हामी जनतालाई हाँस्ने दिन ल्याउन सरकार बनाउँदै छौं । (सबैजसो सभामा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.