'सुत्ने बेलामा पनि मतपेटिकाकै झल्को आउँछ'
काठमाडौं : तालामाथि ताला झुन्ड्याइएका बन्द कोठा । झ्याल-ढोकामा चौबिसै घन्टा बन्दुक बोकेका सुरक्षाकर्मीको पहरा। निर्वाचन जित्न आफूले गरेको मिहिनेतको प्रतिफल बन्द भएको कोठा !पहिलो चरणमा चुनाव सकिएका ३२ जिल्लाकै प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार जिल्ला सदरमुकामका त्यही कोठाभित्र बन्द भएका मतपेटिका सम्झिएर अहिले चुनावी जित-हारको लेखाजोखा गर्दै बसेका छन् ।
‘दिनभर पार्टीका कार्यक्रम, दोस्रो चरणको चुनाव हुने जिल्लाको तयारीको दौडधूपले थकित भइन्छ । बेलुकी सुत्ने बेला आफ्नो क्षेत्रको बन्दकोठाभित्र रहेको मतपेटिकाको सम्झना आउँछ,’ ओखलढुंगाका कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडाले मतपरिणाम कुर्दै बस्नुपर्दाको अनुभूति सुनाए ।
उनी एमालेका यज्ञराज सुनुवारसँग प्रतिस्पर्धामा छन् ।
त्यहाँ पहिलो चरणअन्तर्गत मंसिर १० मा निर्वाचन भइसकेको छ । मतपेटिका तीनवटा सुरक्षा घेरामा सिलबन्दी गरेर राखिएको छ । आफू निर्वाचन लडेको क्षेत्रको मतपेटिका बन्दकोठाभित्र थन्क्याएर उनी उदयपुरको चुनावी कार्यक्रममा व्यस्त छन् । तर, उनको मन भने आफ्नै क्षेत्रको मतपेटिकामा छ।
‘सुत्ने बेला मतपेटिका सम्झन्छु, एकछिन बहलाउँछु र मन कुदाउँछु,’ खतिवडाले भने, ‘सरसर्ती ओखलढुंगाको सबै पाखा-पखेरा दिमागमा आउँछन्, अनि आफैँ मनमनै समीक्षा गर्छु । चुनाव जित्ने नै देख्छु र निदाउँछु ।’
उनले निर्वाचन जित्लान्÷हार्लान्, परिणाम कुर्न अझै साता-१० दिन कुर्नै पर्छ । तर, उनी आफूलाई एसएलसीको परीक्षा दिएर परिणाम कुरेर बसेको विद्यार्थीका रूपमा अथ्र्याउँछन् । ‘एसएलसी दिएर बसेका विद्यार्थीमा आफैँले नदेखेसम्म कौतुहलता जागिरहन्छ, अहिले मलाई पनि त्यस्तै भइरहेको छ,’ खतिवडा भन्छन्, ‘जनताले जित्छस् भन्छन्, उत्साही पनि छु तैपनि परिणाम घोषणा कुरेर बसेको छु।’
नुवाकोट १ मा कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतसँग चुनाव लडेका माओवादी केन्द्रका हितबहादुर तामाङको अवस्था पनि त्यस्तै छ । मतपेटिकामा कैद भएको सम्भावित परिणामले उनलाई हुटहुटी जगाउँछ । यसअगाडिका दुईवटा निर्वाचनमा (०६४ र ०७०) महतसँगै पराजित भएका तामाङ यसपटक आफ्नो जितमा विश्वस्त देखिएका छन् ।
महिनौं दिनसम्म मिहिनेत गरेर ल्याएको परिणाम र जनताले दिएको मत बन्दकोठाभित्र सिलबन्दी गरेर राख्न लाग्दा उनी केहीबेर भावुक बनेका थिए । ‘आफ्नै नजिकका नातेदारलाई कुनै अस्पतालमा चिकित्सकको जिम्मा लगाएजस्तो महसुस हुँदो रहेछ,’ तामाङले अन्नपूर्णसँग भने, ‘कहिले मत गन्ने दिन आउला भनेर कुरिरहेको छु । खुल्दुली लागिरहन्छ ।’
मतपेटिका राखिएको कोठामा सुरक्षाकर्मीले चौबिसै घन्टा सुरक्षा दिइरहेका छन् । निर्वाचन आयोग, कांग्रेस र वाम गठबन्धनले पनि आ-आफ्नै ताला मतपेटिका राखिएको कोठमा लगाएका छन् । झ्याल-ढोकामा तालाबन्दीपछि बाहिरबाट ‘प्लाइउड’ समेत ठोकिएको छ । त्यो कोठामा सीसी क्यामेरा नै जडान गर्ने योजना पनि बनाइएको छ । त्यसमाथि कांग्रेस र एमाले-माओवादीका कार्यकर्ता कोठाबाहिर ओछ्यान नै लगाएर बसेका छन् ।
तैपनि, उम्मेदवारलाई शुभेच्छुक र मतदाताबाट मतपेटिकाको सुरक्षालाई लिएर ‘प्रेसर’ आउने क्रम रोकिएको छैन । ‘साट्लान् नि मतपेटिका ! हामीले न्याय गरेर पठाएका छौं, मत दिएका छौं । अब सुरक्षा गर्ने जिम्मा तपाईंकै हो । मतपेटिका सुरक्षामा ध्यान दिनुहोस्,’ दिनहुँ गाउँ-गाउँबाट कैयौं फोन आउने गरेको सुनाउँदै तामाङले भने, ‘हामी पनि कोही न कोही मतपेटिका राखेकै स्थानमा आलोपालो गरेर अड्डा जमाएर बसेका छौं ।’
सिन्धुपाल्चोक-२ का एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पनि शुभेच्छुकको प्रेसर उत्तिकै छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणासँग प्रतिस्पर्धामा रहेका उनी आफू जित्नेमा ढुक्क छन् । जिल्ला कृषि कार्यालयको नयाँ भवनमा मतपेटिका तीनवटा सुरक्षा घेरामा राखिएको छ । उनलाई सुरक्षा घेराभित्र राखिएको मतपेटिकामा कुनै अप्रिय घटना हुने आशंकासमेत छैन तैपनि उनका मतदाता, शुभेच्छुकले मतपेटिका सुरक्षाको चासो राखेर दैनिक गर्ने फोनले भने झस्काउँछ ।
‘शुभेच्छुक र मतदाताको प्रेसर आउँछ, मुसा पस्ला, ढ्वाङ साट्लान् भन्छन् । सुरक्षा चासो देखाएर फोन गर्नेहरू अहिले धेरै छन्,’ तामाङले अन्नपूर्णसँग भने, ‘जता पुगे पनि मतपेटिकाको अवस्थाको जानकारी लिन म आफैं दिनहुँ ३÷४ पटक सुरक्षा निकाय, पार्टी प्रतिनिधिलगायतलाई फोन गरेर अपडेट भइरहेको हुन्छु ।’