ड्रग्स, सेक्स र ड्रिङ्स
यदि तपाईं गीत÷संगीतको पारखी हुनुहुन्छ भने पक्कै पनि ब्रायन जोन्स, जिमी हेन्ड्रिक्स, जेनिस जोप्लिन्, जिम मोरिसनजस्ता विश्वप्रसिद्ध गायकलाई सुन्नुभएको होला । तपाईंका मोबाइलमा बेलाबेला उनीहरूका गीत बज्छन् होला । कहिलेकाहीँ उनीहरूको लोभै लाग्ने स्वर सुनेर दिन कटाउनु हुन्छ होला । एउटा संयोग मान्नुपर्छ, माथि उल्लेख गरिएका चारै गायकको मृत्यु २७ वर्षमै भएको थियो । त्यो पनि १९६९-७१ को बीचमा ।
उनीहरूको सम्झनाका लागि ‘फरेभर ट्वान्टिसेभेन क्लब’ नै गठन गरिएको छ । तर, यो क्लबमा म्युजिसियनहरू मात्र छन् भन्ने चाहिँ होइन । २७ वर्षमै मृत्यु हुने कलाकार, म्युजिसियनदेखि खेलाडीसम्मलाई क्लबमा समेटिएको छ । २७ वर्षभित्रै मृत्यु हुनेमा अरू गायकहरू पनि छन् । कुर्त केविन, एमी वाइनहाउस, रेची एडवार्डजस्ता चर्चित गायकको मृत्यु २७ वर्षभित्रै भएको थियो । ड्रग्स र अल्कोहल उनीहरूको मृत्युको खास कारण मानिएको छ ।
मृत्युका कारण अनेक हुन सक्छन् । २७ वर्षमुनि मर्नेहरू पनि धेरै छन् । २७ वर्ष लाग्दै गर्दा मर्नेहरू पनि यो संसारमा धेरै होलान् । तर, नाम चलेका र म्युजिकबाट विश्वलाई चकित पारिदिन सक्नेहरू २७ वर्षमै मरेको कुराले चाहिँ बेलाबेलामा चर्चा पाउँछ ।
म्युजिकदेखि मृत्युसम्म
रेकी एडवार्ड हुन् या एमी वाइनहाउस, उनीहरूले २७ वर्षमै संसार छोडे । तर तिनको प्रभाव आजसम्म सकिएको छैन । प्रविधिले उनीहरूलाई झनै संसारको कुनाकुनासम्म पुर्याइदियो । विश्वप्रख्यात ब्यान्ड ‘द रोलिङ स्टोन्स’का संस्थापकको रूपमा चिनिने ब्रायन जोन्स म्युजिकका थरीथरी ‘इन्स्ट्रुमेन्ट’ बजाउने क्षमता राख्थे । सन् १९६९ जुलाई- २ को मध्यरातमा कोचफर्ड फर्मको स्विमिङ पुलमा ब्रायनलाई अचेत अवस्थामा भेटियो । स्विमिङ पुलबाट बाहिर निकाल्दासम्म अलिअलि धुकधुकी बाँकी नै थियो । तत्काल डाक्टरलाई खबर गरियो । तर, डाक्टर आइपुग्दासम्म धेरै ढिलो भइसकेको थियो ।
म्युजिक र मृत्युबाहेक उनीहरूबारे तीन कारणले चर्चा हुन्छ- ड्रग्स, सेक्स र ड्रिङ्स । यस्ता कुलतमा उनीहरू यसरी फसेका थिए कि त्यहाँबाट बाहिर निस्कने कुनै पनि ढोका खुला थिएनन् । कुलतका बन्द कोठाभित्र उनी मस्त थिए ।
केल्टनहामको नर्सिङपार्कमा जन्मिएका थिए- ब्रायन । ब्रायनका आमा लुइसा जोन्स र बाबु लुइस जोन्स दुवै म्युजिकमा निकै चासो राख्थे, बाबु-आमाको प्रभाव ब्रायनमा परेको थियो । सन् १९५७ मा क्यानोबल एल्डर्लिको म्युजिक सुनेपछि ब्रायनको रहर म्युजिकतिर मोडियो । परिवारले उनको १७औं जन्मदिन पारेर ‘सेक्सोफोन’ नै किनिदिए । त्यसपछि उनको म्युजिक यात्रा सुरु भयो ।
ब्रायनजत्तिकै रुचाइएका अर्का म्युजिसियन हुन्, गायक तथा कवि जेम्स मोरिसन । उनी ‘द डोर’ ब्यान्डका लिड गायक पनि हुन् । सन् १९६५ मा साथीहरूसँग मिलेर मोरिसनले उक्त ब्यान्ड खोलेको थिए, जुन थोरै समयमा निकै चर्चित बन्यो । स्पोकन पोयट्रीको सुरुवातकर्ताका रूपमा चिनिने मोरिसनलाई ‘रोलिङ स्टोन’ले सय ठूला÷प्रसिद्ध गायकको ४७औं सूचीमा राखेको छ ।
त्यस्तै ‘क्लासिक रक म्याग्जिन’ले उत्कृष्ट ५० रक गायकको सूचीको २२औं स्थानमा राखेको छ । सन् १९६० देखि ड्रग्सको एडिक्ट नै बनेका मोरिसनको २७ वर्षको उमेरमा पेरिसमा मृत्यु भयो । उनी अत्यधिक ड्रग्स सेवन गर्थे, कहिलेकाहीँ त नसामै स्टेजमा पुग्थे ।
सानैदेखि उनलाई दर्शन र कविता खुबै मनपर्ने ! उनले नित्सेको दर्शन पनि खबै पढे । फ्रान्ज काफ्का, एलेन गिन्सबर्गका किताब पढ्दै उनी ठूला भए । सन् १९७१ जुलाई ३ मा पेरिसमा उनको हटअट्याकका कारण उनको मृत्यु भयो ।
सुन्दा पनि अचम्म लाग्छ, अर्की गायिका जेनिस जोप्लिनको पनि २७ वर्षमै निधन भयो । अमेरिकी गायिका जेनिसले मृत्युअघि तीन एल्बम निकालिसकेकी थिइन् र चौथो एल्बम ‘पर्ल’ विमोचनको तयारी भइरहेको थियो । दुःख के भयो भने, उनको मृत्युको तीन महिनापछि मात्रै ‘पर्ल’ ल्याइएको थियो ।
म्युजिसियन रेकी एर्डवाड १ फेब्रुअरी १९९५ देखि बेपत्ता छन् । २००८ मै परिवारले एर्डवाडको मृत्यु भइसकेको अनुमान गरेको थियो । उनको मृत शरीर अझै भेटिएको छैन ।संगीत रोजेकाहरूको यस्तो अनौठो संयोगले संसारलाई नै अचम्भित बनाइदियो ।संगीत, मृत्युबाहेक उनीहरूबारे तीन कारणले चर्चा हुन्छ- ड्रग्स, सेक्स र ड्रिङ्स । यस्ता कुलतमा उनीहरू यसरी फसेका थिए कि त्यहाँबाट बाहिर निस्कने कुनै पनि ढोका खुला थिएनन् । कुलतका बन्द कोठाभित्र उनी मस्त थिए।
ड्रग्सका भोगी
२७ वर्षमै मृत्यु हुने ट्वान्टिसेभेन क्लबका यी गायक धेरैजसो ड्रग्स एडिक्ट हुन् । धेरैलाई म्युजिकजत्तिकै प्यारो थियो- ड्रग्स । ड्रग्स उनीहरूको जीवनमा यसरी प्रवेश गरेको थियो कि, अँध्यारो बन्द कोठाभित्र ड्रग्सको सर्कोमै रमाइरहन्थे उनीहरू ।
जिमी हेन्ड्रिक्स यसका उदाहरण हुन् । नखाँदा एकदमै प्रेमिल र आत्मीय जिमी ड्रग्सको सर्कोपछि निकै क्रूर बन्थे । कहिलेकाहीँ उनी ड्रग्स र अल्कोहल मिसाएरै खाइदिन्थे । मान्छेको स्वभाव पनि अनेक हुन्छ । हेन्ड्रिङक्सकै साथी हर्बी वर्थिङ्टनले भनेका छन्, ‘यति राम्रो मान्छे त्यस्तो खतरनाक बन्ने सक्छ भनेर अनुमानै लगाउनै गाह्रो हुन्छ ।
जब उसले ड्रिङ्स गर्थ्यो, तब निकै खराब पात्रको रूपमा प्रस्तुत हुन्थ्यो ।’ अल्कोहल पिएपछि साथीहरूलाई पिट्नु जिमीका लागि सामान्य थियो । एकपटक आफ्नै साथी पल कारुसोलाई हिर्काएर घाइते नै बनाइदिए । ढुंगा र भोड्काको बोतलले हिर्काएर साथीको झन्डै मृत्यु भएको थियो ।
सन् १९६८ को एक बिहान हेन्ड्रिक्स युरोप भ्रमणमा थिए । घुम्दै उनी स्विडेन पुगे । स्विडेनको ‘ओप्लेन’ होटेलमा बिहानैदेखि उनले ‘ड्रिङ्स’ गर्न थाले । सायद तनावमा थिए । उनले टेबलमा राखिएको प्लेट फुटाए र दाहिने हात काट्न थाले । त्यसपछि उनलाई तत्काल अस्पताल पुर्याउनु पर्यो ।
हेन्ड्रिक्स कहिलेकाहीँ कोकिन पनि लिन्थे । सँगै उनमा क्यानबिस हासिस र एम्फेटामाइन्सको लत नै थियो । १९६७ पछि त ड्रग्सको उनको दैनिकी बन्यो । ड्रग्स यसरी जीवनमा प्रवेश गर्यो, त्यो उनको जीवनबाट बाहिर निस्किने सम्भव नै थिएन । लामा-लामा म्युजिक टुर गर्दा उनको साथमा ड्रग्स छुट्दैनथ्यो ।
ड्रग्सको मामलामा ब्रायन पनि कम थिएनन् । उनको पोस्ट्मार्टम रिपोर्टमा भनिएको थियो, ‘अत्यधिक अल्कोहल र ड्रग्सले ब्रायनको कलेजो र मुटु फुलेको थियो ।’ धेरैले ड्रग्स र अल्कोहललाई नै उनको मृत्युको कारण मानेका छन् । उनको हत्या भएको हो भनेर शंका नभएको पनि होइन । उनको मृत्यु भएको स्विमिङपुल नजिकै ‘आश्त्मा इनहेलर’ समेत भेटिएको थियो ।
गायिका जेनिस जोप्लिनको मृत्यु पनि ‘हेरोइन’को ओभरडोजले भएको बताइन्छ । ‘हेरोइन’सँगै बेलाबेला उनी ‘साइकोएक्टिभ ड्रग्स’ पनि प्रयोग गर्थिन् । उनको प्रिय पेयपदार्थ थियो- ‘साउथन कन्फर्ट ।’ १९७० को ४ अक्टोबरमा ल्यान्डमार्क होटेलको १०५ नम्बर कोठामा मृत्यु हुँदा उनका दुई औंलाको बीचमा चुरोटको ठुटो धुवाइरहेको थियो । हेरोइनको एडिक्सनमा जोप्लिनजस्तै फसेका अर्का अमेरिकी गायक हुन्- कुर्त कोबेन । एडिक्सनको समस्यामात्रै होइन, क्रोनिक हेल्थ र डिप्रेसनको समस्या पनि थियो कोबेनलाई । अप्रिल ८, १९९४ मा उनले आफ्नै घर सेइटलमा आत्महत्या गरेका थिए ।
ब्रायन त ब्यान्डमा काम गर्दै खतरनाक ड्रग्स लिन्थे । सन् १९६९ जुनमा रोलिङ स्टोन्सले उनलाई ब्यान्ड उनलाई छाड्न दबाब दियो । त्यसको केही समयपछि मिक टेलरले जोनको ठाउँ कब्जा गरे । विडम्बना के भने, आफैंले स्थापना गरेको ब्यान्डबाट सदाका लागि बिदा हुनुपर्यो ।
यी म्युजिसियनमा मुख्य समस्याको रूपमा ड्रग्स नै देखिन्छ । यदि उनीहरू ड्रग्सका लतमा नभएका भए, अनुमान गर्न सकिन्छ- २७ को संयोग टर्ने थियो कि !
सेक्स एक एडिक्सन
२७ लाई मृत्युको रेखा मानेर बिदा भएकामध्ये धेरैको ड्रग्समात्र होइन सेक्स पनि खतरनाक एडिक्सन थियो । म्युजिसियन सेक्सको बारेमा कुरा गर्दा नछुट्ने नाम हो, ब्रायन जोन्स । १९५९ मै स्कुलको १७ वर्षे साथी भेलेरी कोरबर्टसँग यौनसम्बन्धमा थिए ब्रायन । कोरबर्ट ‘प्रिग्नेन्ट’ भएकी थिइन् तर एबोर्सन गर्न ब्रायनले दबाब दिएका थिए । ब्रायनको जीवनमा यस्ता थुप्रै सेक्स कान्डहरू जोडिएर आउँछन् ।
ब्रायन सेक्सप्रति कतिसम्म ‘प्यासोनेट’ थिए भन्ने थाहा पाउन अर्काे उदाहरण पनि काफी । सन् १९५९ को नोभेम्बरमा उनी ग्विलफोर्डको ‘वुडन ब्रिज होटेल’ मा एउटा म्युजिक कार्यक्रम हेर्न गएका थिए । कार्यक्रममा एक विवाहित महिला एन्जेलिनसँग उनको परिचय भयो । त्यस रात उनीहरूले होटेलमा सँगै रात बिताए । परिणाम फेरि उही- महिला प्रिग्नेन्ट भइन् । पछि एन्जेलिन र उनका श्रीमान्ले बच्चालाई जन्म दिएका थिए ।
सेक्सको मामलामा ब्रायनमात्र हनेइन, जोप्लिन पनि उस्तै हुन् । उनी धेरै पुरुष तथा महिलासँग सम्बन्धमा बाँधिएकी थिइन् । अफ्रिकन-अमेरिक लेसबियन जेई विटकरसँग उनी लामो समय सम्बन्धमा बसिन् । जेईलाई उनले पार्टीमा भेटेकी थिइन् । धेरै ड्रग्स लिएको र थुप्रै जनासँग यौनसम्बन्ध राखेको आरोपमा पछि उनीहरूको बिछोड भएको थियो । पिटर डी ब्ल्यान्क, डेभिड निहाउ, कृष क्रिस्टोफरसन, सेठ मोर्गानजस्ता पुरुषसँग पनि उनको विशेष सम्बन्ध थियो । यी त केही उदाहरणमात्र हुन् ।
जोप्लिन यस्ता धेरै पुरुष÷महिलासँग सम्बन्धमा रहिन्, उनी धेरैसँग छुटिन्, धेरैसँग जोडिइन् । भनौं, सेक्सप्रति एकदमै ‘प्यासोनेट’ थिईन् । उनको यौन जीवनबारे बारम्बार चर्चा हुने गर्छ । उनका बारे स्ट्यान्ली बार्डले भनेका छन्, ‘जाप्लिन वाज द भेरी सेक्स्युल ओमन । जोप्लिनको कोठाको खाटमाथि लिपिस्टिकमा लेखिएको थियो, ‘द वल्र्ड ग्रेटेस्ट सेक्स अब्जेक्ट ।’