किशोरीको गुनासो: ‘हामीलाई बुझ्दैनन्’

किशोरीको गुनासो: ‘हामीलाई बुझ्दैनन्’

काठमाडौं गौरीघाटकी कल्पना गुरुङ (३९) बेलाबेलामा आफ्ना दुई सन्तानसँग आजित हुन्छिन् । कक्षा ९ र प्लस टु पढ्दै गरेका दुई छोराछोरीलाई सम्हाल्न कहिलेकाहीँ हम्मेहम्मे पर्छ उनलाई । भन्छिन्, ‘अहिलेका केटाकेटी पढ्नभन्दा घुम्न र फेसबुकमा बढी रमाउन खोज्छन् । कति गाली गर्नु ? ’ उनकी १५ वर्षीया छोरी करुणा सामाजिक सञ्जालमा अभ्यस्त भइसकेकी छिन् । करुणा भन्छिन्, ‘पढ्नुपर्छ भन्ने थाहा छ तर, मोबाइल धेरै चलाउन मन लाग्छ । पार्कमा घुम्न मनपर्छ ।’

खरीबोट बस्ने राजेश्वर खड्गी (५०) लाई परिवारमा भलाकुसारी कम हुन थालेकोमा चिन्ता छ । उनी भन्छन्, ‘युवाहरू प्रविधिमा पहुँच भएको राम्रो हो । तर मान्छेसँग बोल्दै नबोली एकोहोरो भएको नराम्रो ।’ उनकी १९ वर्षीया छोरी रुबी खड्गी कलेजपछि मोबाइल चलाउन मन लाग्ने बताउँछिन् । साथीहरू घुम्न जानु उनको अर्को सौख हो । उनी भन्छिन्, ‘कहिलेकाहीँ साथीहरूसँग च्याट हुँदा फेमलीसँग कुरा गरिरहेको छु भन्दा साथीहरू छक्क पर्छन् । फेमलीसँग के कुरा हुन्छ ? भन्दै उडाउँछन् ।’

माथिका दुई उदाहरणबाट समाजमा पुरानो पुस्ता र नयाँबीच खाडल गहिरिँदै छ भन्न सकिन्छ । गाउँघरतिर अहिले पनि एउटा भनाइ प्रचलित छ । त्यो हो, ‘जन्मिँदै तीन पात’ । त्यस्तै अर्को उखान छ, ‘आमाबुवाको मन छोराछोरीमाथि । छोराछोरीको मन ढुंगामुढामाथि ।’ उखान समाजसँग जोडिएको हुन्छ । यी उखानले समाजको चित्र प्रस्तुत गरिहेको हुन्छ ।

यी भनाइ र उखानटुक्का हिजो पनि समाजमा थिए । आज पनि छ र भोलि पनि हुनेछ । समाजशास्त्री रमेश पराजुली यो अहिलेको मात्रै समस्या नभएको बताउँछन् । भन्छन्, ‘यो प्रत्येक पुस्ताको समस्या हो । सधैंभरि यसैमा द्वन्द्व भइरहन्छ र यसैगरी समाज परिवर्तन हुने हो ।’

मनोविद् करुणा कुँवर किशोरकिशोरी अवस्थामा फरक विचार, फरक धारणाको विकास हुनुलाई स्वाभाविक मान्छिन् । भन्छिन्, ‘जस्तो खालको समय हुन्छ, त्यस्तै चेतनाको विकास हुन्छ । नयाँ समयलाई ‘ग्राप’ गर्न सक्नु नै नयाँ पुस्ताको गुण हो ।’ नयाँ पुस्ताले पुरानो मान्यताविरुद्ध विद्रोह गरेपछि मात्रै नयाँ विचार जन्मिने उनको धारणा छ ।

उनी पछिल्लो केही अनुसन्धानलाई उद्धृत गर्दै भन्छिन्, ‘अहिले प्रविधिसँगै बच्चाहरू हुर्किरहेका छन् । बालबालिकाको स्वाभाविक प्रक्रियाबाट हुने मस्तिष्क विकास हुन पाएको छैन । यसबारे गम्भीर हुन आवश्यक छ ।

पुस्तान्तरको प्रभावमा आजभोलि प्रविधि थपिएको छ । विश्लेषकहरू भन्छन्, ‘मानिसले जस्तो हतियार प्रयोग गर्छ त्यस्तै चेतनाको विकास हुन्छ ।’ आजको पुस्ता कम्प्युटरसँगै हुर्किएका छन् । संसारभरिका नयाँनयाँ सूचनाहरू क्षणभरमै लिन सक्छन् । तर, नयाँ र पुरानो पुस्ताबीच खाडल छ ।
खाडल प्रविधिले बनाएको छ । एउटा घरमा हलो प्रयोग गरेर चेतना निर्माण गरेका बाजे पुस्ता पनि हुन्छ । अर्को मेसिन र कलकारखानामा अभ्यस्त बाआमाको पुस्ता भन्न सकिन्छ । त्यसपछि सूचना प्रविधिको विकाससँगै हुर्किएको पछिल्लो नाति पुस्ता छ । जो सामाजिक सञ्जालमा जोडिएका छन् ।

बाजे पुस्ताले एक सातामा थाहा पाउने सूचना नाति पुस्ताले एक सेकेन्डमै पाउँछन् । यसले परिवारमा भलाकुसारी मिलिरहेको छैन । ‘अहिलेको नयाँ पुस्ताले सूचनाको लागि बाउबाजेको भर पर्नु पर्दैन । प्रविधिमार्फत तुरुन्तै सूचना प्राप्त गर्छन् । समाजशास्त्री पराजुली थप्छन्, तर, महत्वपूर्ण कुरा सबै सूचना ज्ञानमा परिणत हुँदैनन् । त्यहाँनिर अनुभव जन्यज्ञान चाहिन्छ । जुन युवाहरूसँग हुँदैन । अनुभवले मात्रै मानिसलाई परिपक्व बनाउँछ । अनुभव र सूचनाको बीचमा खाडल छ । त्यसकारण दुई पुस्ताबीच कुरा नमिलेको हो ।’

अधिकांश युवा रोजगारी तथा अध्ययनको सिलसिलामा देश बाहिर छन् । घरमा हुने युवाहरू कुरा सुन्न तयार छैनन् । अभिभावकले ज्ञानगुनका कुराभन्दा छोरीछोरीलाई बोरिङ भइरहेको छ ।

मनोविद् कुँवर प्रविधिको प्रयोगमा सही विधि नपाउने हो भने विकराल अवस्था आउँछ सक्ने बताउँछिन् । उनी सामाजिक प्रक्रिया नै कृत्रिम हुँदै गएको चिन्ता व्यक्त गर्छिन् । भन्छिन्, मानवीय अन्तत्र्रिmया हुन सकेको छैन । प्रविधिको सही ढंगले प्रयोग नगर्दा प्रविधि सम्बन्धमा पर्खालजस्तो भइरहेको छ ।’

पछिल्लो दुई दशकयता समाजमा भएको गुणात्मक हलचललाई केलाउनुपर्ने विज्ञहरू बताउँछन् । पछिल्लो दशकमा आएको राजनैतिक उथलपुथलले समाजका सम्बन्धहरू खल्बलाइदिएको छ । यसले पुस्तान्तरको प्रभाव बढेको देखिन्छ । समाजशास्त्री पराजुली सन् १९९० पछि धेरै निम्नमध्यम वर्ग, मध्यम वर्गमा रूपान्तरण भएकोले आफ्ना सन्तानलाई साँघुरो घेराबाट मुक्त गरिदिएको बताउँछन् । आफ्ना सन्तानलाई पुल्पुल्याउने, जे भनेको त्यही पूरा गरिदिने, यसले पनि परिवारमा अटेरीपन बढेको देख्छन्, उनी ।

संस्कृति हस्तान्तरण र रूपान्तरण हुन्छ । तर, समाजउपयोगी अनुभवजन्य ज्ञानहरू हस्तान्तरणको प्रक्रियामा प्रभावित भएका छन् । अधिकांश युवा रोजगारी तथा अध्ययनको सिलसिलामा देश बाहिर छन् । घरमा हुने युवाहरू कुरा सुन्न तयार छैनन् । अभिभावकले ज्ञानगुनका कुरा भन्दा छोरीछोरीलाई बोरिङ भइरहेको छ ।

यसको प्रभाव पछि गएर समाजप्रति गैरजिम्मेवार पुस्ता निर्माण हुने खतरा देख्छन् समाजशास्त्री पराजुली । उनी विश्वव्यापीकरणले ग्लामर पस्किरहेको देख्छन् । भन्छन्, ‘बजारले सामाजिक उत्तरदायित्व सिकाउँदैन । त्यो सिकाउने बाबुआमाले हो । तर, परिवारमा सम्बन्ध कमजोर भएपछि समस्या हुन्छ । त्यसले गैरजिम्मेवार पुस्ता निर्माण हुन्छ ।’ उनी दुई पुस्तालाई जोड्ने सम्बन्धको सेतु नै कमजोर भएको देख्छन् । भन्छन्, ‘त्यस्तै, निजी स्कुलले सामाजिक सम्बन्ध कमजोर बनाएको छ । बोडिङ स्कुलमा हुर्केका छोराछोरीहरूमा सामाजिक उत्तरदायित्व कम हुन्छ । किनकि उसँग अर्को वर्ग तथा समुदायको साथीसँग भेट नै हुँदैन ।’

शिक्षाविद् केदारभक्त माथेमा सुझाउँछन्, ‘गहिरो सोचाइ भएका मान्छेहरू विद्यालय, विश्वविद्यालयबाट आउनुपर्‍यो । त्यसका लागि सार्वजनिक शिक्षामा लगानी हुनुपर्छ । ट्याक्सी ड्राइभर, घरवाला, सुन साहु, शाखा अधिकृतलगायत सबैको छोरी एकै ठाउँमा पढ्ने खालको शिक्षा हो, सार्वजनिक शिक्षा । सम्पूर्ण समुदाय नै त्यहाँ छ ।’ उनी अहिले समुदाय भत्किँदै गरेको देख्छन् । अहिले समाजबाट कटेका नागरिकहरू उत्पादन भइरहेको बताउँछन् । सम्पूर्ण समुदाय भेटिने सार्वजनिक क्षेत्र भत्किँदै गरेकोमा उनी चिन्ता व्यक्त गर्छन् । मनोविद् कुँवर पनि सहरका बच्चाहरू समाजसँग कटेर घरभित्रै थुनिनु राम्रो नभएको बताउँछिन् । उनी सामाजीकरणको प्रक्रियामा प्रविधि हावी हुन नहुने तर्क गर्छिन्।

यसले बेमतलवी पुस्ता निर्माण गर्ने र समाजमा अपराधीकरण बढाउने विज्ञहरूको धारणा छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको २०७३÷०७४ को तथ्यांकअनुसार काठमाडौं जिल्लामा मात्रै १६ वर्षमुनिका व्यक्तिबाट एक सय २१ वटा अपराधका घटना भए । त्यस्तै १६ देखि २५ वर्षका उमेरसमूहबाट दुई हजार एक सय ४७ वटा घटना भएको तथ्यांकमा उल्लेख छ । समाजशास्त्री पराजुली भन्छन्, ‘अहिले प्रविधिका कारण साइबर क्राइमजस्ता अपराधहरू भएका छन्।’

प्रौढ तथा वृद्ध पुस्ताको गल्ती के हो ? उनीहरू ‘गनगने पुस्ता’ मात्रै हुन् या समाजको गति बुझ्न नसकेका कारण युवाहरूबीचको सम्बन्ध टुटेको हो ? यसबारे गहन छलफल हुनुपर्ने देखिन्छ । अघिल्लो पुस्ता आफ्ना सन्तानलाई सहर अथवा विदेश पढ्न, कमाउन जाऊन्, घरमै नबसून् पनि भन्छन् । तर, छोरीछोरीले सम्झेनन् पनि भन्छन् । समाजशास्त्री पराजुली भौतिक दूरीको क्षतिपूर्ति सामाजिक सञ्जालले जोड्न नसक्ने बताउँछन् ।

सामाजिक मूल्य मान्यताहरूमा फरकपन आउँदैछ । समाज पहिलेको जस्तो छैन । समाजशास्त्री चैतन्य मि श्र पछिल्लो दुई दशकयता समाजका सम्पूर्ण सम्बन्धहरू खल्बलिएको बताउँछन् । सम्बन्ध खल्बलिनुलाई नकारात्मक नै भन्न नमिल्ने पराजुली बताउँछन् । तर, युवा पुस्ता बेमतलवी हुँदै जाने राज्यले कुनै संयन्त्र नबनाउने हो भने अघिल्लो पुस्तामा निराशा छाउने देख्छन् उनी । भन्छन्, ‘मन बहलाउने ठाउँ नहुँदा डिप्रेसनको सिकार हुने र भजन मार्ग अपनाउने बढ्न सक्छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.