पहिलो मिस्टर-गेको संसार
किशोर अवस्थामा हेटैाँडाका विश्वराज अधिकारीको पहिचान रेडियो प्रस्तोताको रूपमा हाइहाइ थियो । रेडियोमा सुनिने उनको मीठो आवाजले धेरै युवाको मन छोएको थियो । हाटबजार, चियापसल सबैतिर निस्किँदा उनलाई एउटा मीठो आवाज भएको पुरुषको रूपमा चिन्थे ।
तर, विडम्बना आफ्नो यौनिकता के हो भन्ने कुरामा निकै तड्पिएका थिए विश्वराज त्यतिबेला । किनकि परिवारमा माइला छोराको रूपमा जन्मिएका उनलाई पुरुषप्रति नै आकर्षण हुन्थ्यो । आखिर आफू को हुँ भन्ने दुविधाले उनको अवस्था बिग्रेर गयो । चार वर्षसम्म डिप्रेसनको औषधि खानुपर्यो।
तर जब आफूजस्ता व्यक्तिहरू अरू पनि रहेछन् भन्ने थाहा पाए, त्यसपछि उनलाई डिप्रेसनको औषधि चाहिएन । जब उनले रेडियो कार्यक्रम गर्ने सिलसिलामा नीलहिरा समाजले प्रसारण गर्ने तेस्रोलिंगीहरूको बारेमा कार्यक्रम सुने, त्यसपछि आफ्नो यौनिकतामा प्रस्ट भए । भन्छन्, ‘परिचय खुल्नुभन्दा पहिला एक खालको दुविधा सबैमा हुन्छ । त्यो स्टेज निकै भयानक हुन्छ । आफू के हो भन्ने थाहा नपाएपछि धेरै ट्रान्सजेन्डरहरू डिप्रेसन हुन्छ ।’
विश्वराजको हकमा उनी निकै भाग्यमानी साबित भए । १९ वर्षको उमेरमा आफ्नो यौनिकता बुझनु, आफू समलिंगी पुरुष हुँ भन्ने जानकारी पाउनु ठूलो कुरा मान्छन् उनी । उनले भने, ‘कति मान्छेहरू ६० वर्ष पुग्दासम्म आफ्नो यौनिकता थाहा नपाएर तड्पिएर बाँचिरहेका हुन्छन् । मेरा धेरै साथीहरू छन्, जो रात नपरोस् भन्ने चाहन्छन्, किनकि उनीहरू घरमा श्रीमतीसँग रात बिताउन बाध्य हुन्छन् र प्रत्येक रात बलात्कृत भएको महसुस गर्छन् ।’ उनी प्रस्टसाथ भन्छन्, हामी जस्तो देखिन्छौं त्यस्तो होइनौं । पुरुष हौ तर पुरुष नै मन पराउँछौं ।
एक अध्ययनले भन्छ, प्रत्येक १० जनामा एकजना ट्रान्सजेन्डर हुन्छन् । उनको विचारमा जति संख्या देखिएको छ त्यसको दोब्बरले आफ्नो पहिचान लुकाउँछन् । त्यसैले समाजले आफूहरूलाई चाहेअनुसारको वातावरणमा बाँच्ने अवस्था मिलाइदिए हुने जस्तो लाग्छ उनलाई । भन्छन्, ‘हामी महिला र पुरुषभन्दा फरक छौं । म बच्चा जन्माउन सक्छु तर विवाह गर्न सक्दिनँ । त्यो मेरो गल्ती हैन । मेरो इच्छाले यस्तो भएको हैन ।’ तर उनी महिलालाई जीवित भगवान्जस्तो मान्छन् । यतिबेला पार्टनरको साथमा रहेका विश्वराज भन्छन्, ‘समलिंगी विवाहलाई कानुनले चाँडै मान्यता दिन्छ होला । किनकि नेपाल दक्षिण एसियाली मुलुकमध्ये पहिलो राष्ट्र हो, जसले लैंगिक अल्पसंख्यकको अधिकार संविधानमा सुनिश्चित गरेको छ ।’
करिब आठ वर्षदेखि तेस्रोलिंगी समुदायका मानवअधिकार, हकहित, पहिचानको क्षेत्रमा काम गर्दै आएका छन् उनी । ‘नीलहिरा समाज’को शाखा कार्यालयहरू नेपालका ३६ जिल्लामा पुगिसकेको छ । जसले तेस्रोलिंगीका हक, अधिकारबारे काम गर्छ । नेपालको पहिलो गे सभासद् सुनीलबाबु पन्तको योगदानले नीलहिरा समाजको स्थापना भएको हो । अहिले तेस्रोलिंगीहरू आफ्नै पहिचानले नागरिकता पनि बनाइरहेका छन् ।
सन् २०१३ मा नेपालमा ‘पहिलो गे ह्यान्डसम प्रतियोगिता’ भएको थियो । नेपालभरिका ३५ जना समलिंगी पुरुषहरू सहभागी रहेकोमा विश्वराज अधिकारी पहिलो मिस्टर गे भए । अहिले सन् २०१७ डिसेम्बर २१ मा हुन गइरहेको दोस्रो गे प्रतियोगिता सफल पार्न उनी लागिपरेका छन् ।
उनी गे ह्यान्डसम प्रतियोगिता हुनुभन्दा ठीक अघिल्लो दिनमात्रै समलिंगी पुरुषको रूपमा घरमा खुलेका थिए । यो कुरा परिवारले सजिलै स्वीकार गरेकोमा भाग्यमानी महसुस गरेको बताउँछन् । उनले घरमा भेदभाव सहनु परेन। अर्को मिस्टर गे को आगमनले समाजमा तेस्रोलिंगी समुदायमा काम गर्न सहज हुने अधिकारीको अनुभव छ ।